Comments Add Comment

प्रधानमन्त्रीले माफी नमागेसम्म न्यायाधीश र राजदूतको सुनवाइ हुँदैनः पौडेल

Ram-chandra-Paudel

८ वैशाख, काठमाडौं । प्रधानमन्त्रीले माफी नमागेसम्म प्रस्तावित न्यायाधीश र राजदूतहरूको संसदीय सुनुवाइ नहुने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताएका छन् ।

संसदीय सुनवाइ समिति कायमै छ भनेर आत्मालोचनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले माफी माग्नुपर्ने उनले बताए । रिपोर्टर्स क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले भने, ‘ प्रधानमन्त्रीले नै संसदीय सुनवाइ समिति छैन भनेर न्यायपरिषदको सदस्यमा सिफारिस गरिएका रामप्रसाद सिटौलाको नाम फिर्ता लिनुभएको हो, अब कसले सुनवाइ गर्ने ? उहाँले त्यसलाई सच्याएर संसदीय समिति कायमै छ भनी आत्मालोचना नगरेसम्म संसदीय सुनवाइ हुन सक्दैन ।’

न्यायपरिषद सदस्यमा रामप्रसाद सिटौलाको नाम सुनुवाइ समितिमा ल्याएपछि मात्रै सुनवाइ हुने पाैडेलले बताए । अन्यथा संविधान अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन भएर समिति नबनुन्जलेसम्म सिफारिस गरिएका न्यायाधीश र राजदूतहरुले पर्खिएर बस्नु पर्ने  कांग्रेस नेता पाैडेलकाे तर्क छ ।

पौडलेले भने, ‘हामी संविधान संशोधन गरेर सुनवाइ समिति गठन गर्ने पक्षमा छैनौं । कि पुरानै सुनवाइ समितिले सुनवाइ गर्नुपर्यो, नभए नयाँ बनेपछि मात्रै हुन्छ ।’

पौडेलले राजदुत नियुक्तिमा कांग्रेससँग सरकारले सल्लाह पनि नगरेको र नियुक्तिमा मनपरी गरेको आरोप लगाए । कांग्रेसले संसदकाे बैठक बोलाउन आग्रह गरिसकेको भन्दै पाैडेलले अब चुप लागेर नबस्ने र सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा सरकार ढाल्ने रणनीति बनाउन नयाँ दिल्ली गएका हुन् कि भनी सोधिएको प्रश्नमा उनले भने, ‘उहाँ श्रीमतीको उपचार गर्न जानुभएको हो, श्रीमतीको उपचार गर्न पनि जान नपाउने ? अनावश्यक शंका नगर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment