Comments Add Comment

वीपीले अन्तिम क्षणमा भनेका थिए- अब जे गर्छ इन्डियाले गर्छ !

पत्रकारको किताब विमोचनमा नेम्वाङका टुक्का

Janak Nepal book

९ वैशाख, काठमाडौं । ‘पहिलो संसदः वीपी महेन्द्र टकराव’ विमोचन कार्यक्रम रमाइलो पारामा सुरु भयो र गम्भीर प्रश्न उठाउँदै सकियो ।

कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादव थिए । पत्रकार जगत नेपालले लेखेको पुस्तक विमोचन कार्यक्रम वसन्त बस्नेतले सञ्चालन गरे ।

संविधानसभा भवनको एउटा हलमा भएको कार्यक्रममा अतिथिलाई आसनग्रहण गराउने क्रममा उनले संसदकै नक्कल गरे । अतिथीहरुमा पूर्व सभामुखद्वय सुवास नेम्वाङ र दमननाथ ढुंगाना तथा प्रा. डा. लोकराज बराल थिए । उद्घोषकले नेम्वाङलाई चार पटकका सभामुख र ढुंगानालाई अहिले ‘संसद बाहिरका सभामुख’ को संज्ञा दिए भने बराललाई ‘प्रमुख सचेतक’ को दर्जा दिए । तर, विमोचनका क्रममा पुस्तकका लेखक नेपाललाई भने मञ्चमा बोलाउनै भुले ।

पहिलो वक्ता प्रा. डा. बरालले नेपालको राजनीतिमा सँधै ‘जम्पिङ’ मात्र देखिएको बताए । २००७ सालपछि ०१७, त्यसपछि बहुदल, गणतन्त्रसम्म संक्रमणकालमै बितेको उनले विश्लेषण गरे ।

दोस्रो वक्ताका रुपमा पूर्वसभामुख नेम्वाङ आए । इलामबाट काठमाडौं आउने क्रममा पुस्तक पढेको सुनाउदै उनले केही चाखलाग्दा प्रसंग निकाले । उनले पुस्तकमा भएको वीपीपुत्री खेलाउँदै गृहमन्त्री होटलमा भएको प्रसंग सुनाए ।

पुस्तकमा लेखिए अनुसार वीपी चीन भ्रमणमा जाँदा गृहमन्त्री सूर्यप्रसाद उपाध्याय पनि साथै गएका थिए । तर, चिनियाँ प्रधानमन्त्री चाउ एन लाईलाई भेट्न जाँदा गृहमन्त्री जान पाएनन् । उनी त वीपी र सुशीलाकी छोरी चेतनालाई खेलाएर बसे ।

गृहमन्त्रीले वीपी पुत्रीलाई खेलाएर बस्नुका कारण पुस्तकमा भए पनि नेम्वाङले सुनाएनन् । बरु, यसलाई पुस्तकको अर्को अंशसँग जोडे, जसमा लेखिएको छ, ‘चत्र बास्तोला वीपीलाई सोध्छन्, सान्दाजु भारतले नेपालसँग खोजेको के हो ?’

नेम्वाङले भने, ‘हाम्रो छिमेकी मित्र, जोसँग साँच्चिकै सुमधर सम्वन्ध हुनुपर्छ । तर, कहिलेकाहीँ नजिकको मित्रको पनि के हो कुरा भन्ने बुझ्न अप्ठ्यारो पर्छ भनेर बास्तोलाजीले वीपीलाई सोधेछन् ।’

वीपी चक्रलाई भन्छन्, ‘भारतको स्वार्थ ‘स्ट्रक्चरल ग्यारेन्टी’ हो ।’

चत्र फेरि सोध्छन्, के हो ‘स्ट्रक्चरल ग्यारेन्टी ?’

वीपीले जवाफ दिन्छन्, ‘मैले चीन भ्रमणमा जाँदा सूर्यप्रसाद उपाध्यायलाई किन लगेँ हुँला ? त्यही हो स्ट्रक्चरल ग्यारेन्टी भनेको ।’

हलमा हाँसो छायो ।

नेम्वाङले त्यसपछि गणेशराज शर्माले वीपीको अन्तिम क्षणमा तपाईं गएपछि कसले सम्हाल्छ भनेर सोधेको प्रसंगलाई जोडे । उनले पुस्तकलाई उद्वृत गर्दै भने, ‘वीपीले जवाफ दिनु भएको छ । अब जे गर्छ इण्डियाले गर्छ ।’

अहिले पनि नयाँ संविधानलाई लिएर भारतले जनाएको असन्तुष्टितर्फ संकेत गर्दै पूर्वसभामुख एवं संसदीय दलका नेता नेम्वाङले भने, ‘अहिलेसम्म पनि के हो ? कसरी सम्बोधन गर्ने भनेर लागिरहेका छौं । तर, सम्बोधन गर्न सकेको छैनौं ।’

उनले नेपालले चीन र भारतसँग राम्रो सम्वन्ध राख्नु पर्ने र उनीहरुविरुद्ध नेपालमा केही हुँदैन भन्ने विश्वास दिलाउनुपर्ने तर, अहिलेसम्म नभएको बताए ।

नेम्वाङपछि सम्बोधन गरेका पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान गलत नभएको तर, असन्तुष्टि रहेको बताए । उनले संविधान निर्माणका क्रममा भारतको विश्वास जित्न नसकिएको उल्लेख गरे ।

अन्तिम वक्ता एवं प्रमुख अतिथी पूर्व राष्ट्रपति डा. रामवरण यादवले मधेसको असन्तुष्टिलाई सम्बोधन गर्नु पर्ने बताए ।

उनले संविधान जारी गर्ने क्रममा मधेसको समस्या समाधान नभएकोमा आफूलाई पीडा भएको तर, राष्ट्रपतिको दायित्व पुरा गरेको बताए । उनले भने ‘अतिवाद र अन्धराष्ट्रवादले देशलाई जोड्न सक्दैन । अब कसैलाई होच्याएर काम चल्नेवाला छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment