Comments Add Comment

अख्तियारद्वारा पत्रकार कनकमणी दीक्षित पक्राउ

अख्तियार प्रमुखले व्यक्तिगत इवी साँधेः कनकमणी

Kanak-Mani-Dixit,-Arrest

१० वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष तथा वरिष्ठ पत्रकार कनकमणि दीक्षितलाई पक्राउ गरेको छ ।

पाटनढोकास्थित दीक्षित निवास नजिकैबाट उनलाई दिउँसो २ बजे पक्राउ गरिएको हो । प्रहरीले उनलाई दिएको पक्राउ पुर्जीमा ‘गैरकानूनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले सँगै आउन’ भनिएको छ ।

दीक्षितले पक्राउ पुर्जीमा हस्ताक्षर गर्न नमानेपछि प्रहरीले मुचुल्का उठाएको थियो ।  पक्राउ पर्नुअघि दीक्षितले फोनमा आफ्ना वकिलहरुसँग सल्लाह गरेका थिए ।

दीक्षितले आफूमाथि अख्तियार प्रमुखले व्यक्तिगत इवि साँध्न खोजेको आरोप लगाएका छन् । पक्राउलगत्तै उनले भने, ‘पञ्चायतकालीन धङधङी बोकेका अख्तियार प्रमुखले लोकतान्त्रिक सरकारको आडमा ममाथि भ्रष्टाचारको दाग लगाउन खोजेका छन् । तर, उनको प्रयास सफल हुनेछैन ।’

आफूलाई शुक्रबार अदालत बन्द भएपछि पक्राउ गराएर दुई दिन थुनामा राख्ने षडयन्त्र गरिएको उनले बताए । भोलि शनिबार छ ।

सम्पति विवरण मिलेनः अख्तियार

अख्तियारले भने साझा यातायातका अध्यक्ष दीक्षितले संस्थाको अध्यक्षका हैसियतले सार्वजनिक पदको दुरुपयोग गरेको विषयमा परेका विभिन्न उजुरीमाथि छानविन भइरहेको बताएको छ ।

दीक्षितका विरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको, संस्थाको आर्थिक हिनामिना गरी स्वदेशी तथा विदेशी बैंकमा आफू र आफ्नो परिवारको नाममा रकम जम्मा गरेको, संस्थाको सम्पत्तिलाई पैतृक सम्पत्ति सरह बेचविखन गरेको लगायत उजुरी परेको विज्ञप्तिमा जनाइएको छ ।

उजुरीमाथि छानविनका क्रममा अख्तियारले दीक्षितलाई गत मंसिर १७ गते उपस्थित हुन बोलाएको थियो । दीक्षित २४ गते उपस्थित भएर सम्पत्ति विवरण फाराम बुझेको तथा ३० गते फाराम भरेर बुझाएको अख्तियारले जनाएको छ । उनले बुझाएको सम्पत्ति विवरण एकिनका लागि सम्वद्ध निकायहरुमा पत्राचार गर्दा सोबाट संकलित कागजात तथा विवरणहरु सम्पत्ति विवरणसँग मेल नखाएको अख्तियारको दावी छ ।

सम्पत्ति विवरणमा कैफियत देखिएको विषयलाई लिएर थप स्पष्टताका लागि निजलाई आयोगमा बोलाउँदा त्यसको अवज्ञा गर्दै उपस्थित नहुने निवेदनसमेत दर्ता गराएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

‘यसरी कानूनको प्रतिकूल आचरण गरेको र अुसन्धान कार्यमा वाधा पुर्‍याएको हुनाले निजलाई कानूनी प्रावधानअनुसार पक्राउ गरी आयोगमा ल्याइएको र निजउपर थप अनुसन्धान तथा तहकिकात कार्य जारी राखिएको व्यहोरा जानकारी गराइन्छ,’ अख्तियार प्रवक्ता कृष्णहरी पुष्करद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment