Comments Add Comment

वैशाख १२ मा प्रधानमन्त्रीले जनताको घर बनाउने !

राष्ट्रपति विद्यादेवी बारपाक जाने

KP-Oli-1 (1)१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प स्मृति दिवसका अवसरमा वैशाख १२ गते सिन्धुपाल्चोक पुगेर भूकम्पले भत्किएको जनताको घर बनाउने भएका छन् । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी गोरखाको बारपाक जाने भएकी छन् ।

प्रधानमन्त्रीले सिन्धुपाल्चोकबाट भूकम्प पीडितको निजी आवास निर्माण थाल्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मधुसुदन अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । ‘यसअघि सरकारीस्तरबाट अहिलेसम्म भूकम्पले भत्किएको घर बनाउने कार्य थालनी भएको थिएन,’ सचिव अधिकारीले भने- ‘वैशाख १२ गते प्रधानमन्त्रीज्यूले सिन्धुपाल्चोकबाट जनताको घर बनाउने अभियानको सुरु गर्नुहुनेछ ।’

प्रधानमन्त्रीले जनताको घर बनाउने कार्यक्रमको उदघाटन गरेपछि भूकम्पले भत्किएका जनताको घरको पुनर्निर्माणले गति लिने प्राधिकरणको दाबी छ ।

प्राधिकरणको यही वैशाख ७ गते बसेको निर्देशक समितिको  बैठकले प्रधानमन्त्रीले सिन्धुपाल्चोकबाट जनताको घर बनाउने कार्यक्रमको सुरु गर्ने निर्णय गरेको थियो । निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री नै हुन् ।

पुनर्निर्माण प्राधिकरणले प्रधामन्त्रीले उदघाटन गर्ने सो कार्यक्रमको आवश्यक तयारी गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिइसकेको छ । मन्त्रालयले स्थानीय विकास अधिकारी र चौतारा नगरपालिकालाई   आवश्यक तयारी गर्न निर्देशन दिइसकेको स्थानीय विकास मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले जानकारी दिए ।

‘हामीले स्थानीय विकास अधिकारी र चौतारा नगरपालिकालाई आवश्यक तयारी गर्न निर्देशन दिएका छौं,’ भट्टराईले भने ।

त्यसैगरी, वैशाख १२ गते भूकम्पले भत्किएको घर पुनर्निर्माण गर्न सरकारी अनुदान पाउने ४ सय घरधुरीको नामावली सार्वजानिक गर्ने सचिव अधिकारीले जानकारी दिए ।

गत साल वैशाख १२ गते गोरखाको बारपाकमा केन्द्रविदु बनाई गएको भूकम्प र त्यसपछिका पराकम्पहरुले करिब ८ लाख निजी घरहरु पूर्णरुपमा ध्वस्त भएको सरकारी तथ्यांक छ ।

बारपाकमा राष्ट्रपतिले ‘भूकम्प स्मारक’ उदघाटन गर्ने

त्यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पको केन्द्रविन्दु गोर्खाको बारपाकमा वैशाख १२ गते ‘भूकम्प स्मारक’ को उदघाटन गर्ने भएकी छन् । सो स्मारकको यसअघि नै प्रधानमन्त्री ओलीले शिलान्यास गरेका थिए ।

गत माघ २ गते राष्ट्रपतिले रानीपोखरीबाट र प्रधानमन्त्रीले ललितपुरको बुङमतीबाट पुननिर्माण महाअभियान सुरु गरेका थिए । यद्यपि अहिलेसम्म पुनर्निर्माणको कामले गति लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment