Comments Add Comment

जापान पठाउने भन्दै साढे ३७ लाख ठग्ने पक्राउ

jail
११ वैशाख, काँकडभिट्टा। जापान पठाइदिने भन्दै ३७ लाख रूपैयाँ बढी रकम असुल्ने झापा शनिश्चरेका राजकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले विर्तामोडमा सञ्चालित फास्टट्र्याक एजुकेसन कन्सलटेन्सीमार्फत झापा, इलाम, पाँचथरलगायत जिल्लाका १५ जनालाई ‘वर्किङ भिसा’मा जापान पठाइदिने भनेर ३७ लाख ५० हजार रूपैयाँ असुलेको प्रहरीले जनाएको छ ।

कार्की विदेशमा कामदार पठाउने कुनै अनुमति प्राप्त व्यक्ति नभएको थाहा पाएका युवा सङ्घ नेपालका कार्यकर्ताले शुक्रबार कन्सल्टेन्सीको कार्यालयमा घेराउ गरेर प्रहरीलाई खबर गरेका थिए ।

अनाधिकृत रुपमा सर्वसाधारणसँग रकम असुलेको स्वीकार गरेका कार्कीलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

हालसम्म असुलिएको ३७ लाख ५० हजार रुपैयाँमध्ये आधाजसो रकम काठमाडौँमा रहेको अर्का एजेन्ट यामकुमार चेम्जोङलाई पठाएको दावी गर्दै कार्कीले वर्किङ भिसामा कामदार पठाउने आधिकारिक अनुमति आफुसँग नभएको स्वीकार गरेका छन् ।

भद्रपुर रोडको पश्चिम लाइनस्थित थापा मार्केटमा उनले फास्ट ट्रयाक कन्सल्टेन्सीसँगै प्रोलिफिक कम्प्युटर प्रशिक्षण केन्द्र चलाउँदै आएका छन् ।

उनले भाषा सिकाउन र स्टुडेन्ट भिसामा जापान पठाउनका लागि अनुमति लिइएको प्रमाणपत्र कार्यालयको भित्तामा झुण्ड्याएका छन् । त्यसको आधिकारिता जाँच हुन भने बाँकी नै छ ।

उनले यसअघि १९ जनालाई स्टुडेन्ट भिसामा जापान पठाइसकेको बुझिएको छ । जापान पुगेका तिनीहरूको अवस्थाबारे थाहा हुन सकेको छैन ।

जापान पठाउने कारोवार गर्न थालेको तीन महिना मात्र भएको उनले बताएका छन् । सुरुमा स्टुडेन्ट भिसामा पठाइदिने भनेका उनले ती १५ जनाको स्टुडेन्ट भिसा नलागेपछि वर्किङ भिसाबाट पठाइदिने भन्दै रकम असुलेका हुन् ।

कार्कीले आफुबाट गैरकानूनी काम भएको स्वीकार गर्दै १५ जनाकै रकम फिर्ता गरिदिने बताएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक खडगबहादुर खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment