Comments Add Comment

मधेस आन्दोलनको नयाँ रिहर्सलः पानी छाम्दै मोर्चा !

केपी ओली ढुक्क, आन्दोलनकारीमा छटपटी

Madhesi-morcha

११ वैशाख, काठमाडौं । गत असोजदेखि तातिएको मधेस आन्दोलन विना कुनै उपलब्धि पटाक्षेप भयो । अब वैशाख १५ बाट फेरि मधेसी मोर्चाले अर्को चरणको आन्दोलन अघि बढाउने घोषणा गरिसकेको छ । र, यो आन्दोलनलाई सहजै पचाइदिने प्रधानमन्त्री केपी ओलीमा विश्वास देखिन्छ ।

आन्दोलनकारी मधेसी मोर्चासमेत यो आन्दोलन सफलै भइहाल्ला भन्नेमा भित्रीरुपबाट विश्वस्त देखिँदैन । तथापि मोर्चाले विगतको भन्दा अलि फरक तरिकाको आन्दोलन गर्ने तयारी गरिरहेको छ, जुन पहिलेको भन्दा नरम हुनेछ र यसले सरकारलाई कम ‘प्रेसर’ मा पार्न सक्छ ।

मोर्चाको तयारी के छ ?

मधेसी मोर्चाले यसपालिको आन्दोलनलाई विगतमा जस्तो मधेसमा मात्रै केन्द्रित नगरी राजधानीलगायत देशव्यापी बनाउने रणनीति लिएको छ । मोर्चाको यो नीति अनुसार काठमाडौंमा विगतका भन्दा केही बढी धर्ना र जुलुसहरु हुन सक्छन् ।

सुरुमा मोर्चाले सिडियो कार्यालयमा ज्ञापनपत्र दिने तथा जनप्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । यस्ता कार्यक्रमहरुले केपी ओलीको सरकालाई खासै दबाव दिने देखिँदैन । विगतमा एमाओवादीले ६ दिन हडताल गर्दा रिङरोड घेराउ नै गरेको थियो, तर माधव नेपालको सरकार धर्मराएन ।

मधेसी मोर्चाले पहिलेभन्दा फरक गर्न खोजेको के हो भने उनले ४ दलीय मोर्चालाई २७ दलीय बनाएर पहाडका आदिवासी जनजातिलाई पनि आन्दोलनमा तान्ने यसपालि रणनीति अघि सारेको छ ।

पद्मरत्नको रिजर्भेसन, बाबुरामलाई बाइपास

मधेस आन्दोलनलाई पहाडमा पनि विस्तार गर्नका लागि मोर्चाले पदमरत्न तुलाधरको मोर्चासँग पनि निकै लामो बैठक गर्दै आएको छ । तर, जनजाति र मधेसीले मात्रै गर्ने आन्दोलनले खस आर्यलाई तान्न नसक्ने र त्यस्तो स्थितिमा आन्दोलनले खासै गति नलिने विश्लेषण तुलाधारले गरिरहेको स्रोतले बतायो ।

स्रोतका अनुसार तुलाधर यो आन्दोलनलाई राष्ट्रव्यापी बनाउने हो भने यसको एजेण्डा पनि राष्ट्रव्यापी बनाउनुपर्ने पक्षमा छन् । र, यसका लागि डा. बाबुराम भट्टराईको नयाँशक्तिलाई समेत समेट्नुपर्ने तुलाधरले लबिङ गरिरहेको स्रोतको भनाइ छ ।

मधेसी मोर्चा र नयाँ शक्तिवीच अहिलेसम्म त्यस्तो कुनै छलफल भएको छैन र मधेसी दल एवं जनजातिले एकलौटीरुपमा आन्दोलन घोषणा गरेका छन् । यसमा तुलाधरको ‘रिजर्भेसन’ रहेको सूत्र बताउँछ ।

भर्खरै मधेसमा अभियान चलाएर जनसर्मथन आर्कषित गरेका डा. बाबुरा भट्टराई र उनको पार्टी प्रथम सम्मेलनको तयारीमा लागेका कारण अहिले नै आन्दोलनमा होमिने परिस्थिति नरहेको स्रोतको दाबी छ ।

साथै नयाँ शक्ति नेपाल राष्ट्रिय एजेण्डा र मागका आधारमा मात्रै आन्दोलन गर्नुपर्ने तर जातीय र क्षेत्रीय कुरामात्रै गरेर त्यो सफल नहुने पक्षमा रहेको बुझएको छ ।

त्यसैगरी मधेसी मोर्चाका नेताहरु विशेष गरी उपेन्द्र यादवहरु बाबुारम भट्टराईसँग मिलेर आन्दोलन अघि बढाउँदा मधेसमा डा. भट्टराईले शक्ति आर्जन गर्न सक्ने डरका कारण यो आन्दोलनलाई मधेसी र जनजातिभन्दा परसम्म विस्तार गर्ने पक्षमा देखिँदैनन् ।

तर, खस आर्यको भावनालाई पर राखेर जनजाति र मधेसीको मात्रै आन्दोलन भएमा त्यो सफल हुनेमा आन्दोलनकारी स्वयं पनि विश्वस्त हुन नसकेको स्रोतहरुको भनाइ छ ।

उता मधेसवादी दलहरुको मधेसमा जनाधार खस्केको छ । सिवगतमा रातारात सुशील कोइरालालाई भोट हाल्न गएकोमा मधेसी कार्यकर्ताहरु आफ्ना नेताप्रति सशंकित छन् । मधेसमा मधेसी मोर्चाका नेताहरुको पकट अत्यन्तै कमजोर देखिएको छ र नयाँ विकल्पको खोजी हुन थालेको छ । यो अवस्थाले गर्दा अब हुने भनिएको आन्दोलनको भोल्युम मधेसमै पनि विगतको भन्दा कमजोर हुने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

केपी ओली ढुक्क

मधेस आन्दोलनले आफ्नो सत्तालाई हल्लाउन नसक्नेमा प्रधानमन्त्री केपी ओली र सरकारमा सहभागी अन्य दलका मन्त्रीहरु ढुक्क देखिएका छन् ।

सरकारका प्रवक्ता र गृहमन्त्री लगायतले सार्वजनिक कार्यक्रमहरुमा यो आन्दोलनले केही गर्न नसक्ने बताइरहेबाट मधेस आन्दोलनलाई सरकारले कसरी हेरिरहेको छ भन्ने स्पष्ट हुन्छ । मधेसी मोर्चासँग वार्ता र सम्वाद गर्ने सरकारमा रुची देखिएको छैन ।

तर, ओली सरकारमा मधेसी मोर्चासँग फेस गर्न सकिन्छ भन्ने एक प्रकारको ढुक्कपन देखिए पनि शेरबहादुर देउवाको दिल्लीगमन र विगतभारत भ्रमणका बेला कमल थापाले बुझाएको चार बुँदे र रोडम्याप ओली ओली र मोदीको ‘वान टु वान’ भेट केपी ओलीका लागि भयातीत पक्ष हो ।

छिमेकीको लगानी खेर जाने डर

संविधान विरोधी दलहरुलाई उचाल्ने रणनीतिमा लागेको भारतीय दूतावासले काठमाडौंमा खुलेआम २७ दलीय मोर्चा बनाउन र आन्दोलन गर्न उकासिरहेको छ । दूतावासका अधिकारीले तारे होटलमा आन्दोलनकारी नेतालाई खुसुखुसु भेटिरहेका छन् । विहीबार त खुलेआमरुपमै कूटनीतिज्ञहरुसँग मधेसी मोर्चाका नेताले अन्तरक्रिया गरिसकेका छन् ।

भारत र ईयुले संयुक्त विज्ञप्ति जारी गरेर नेपालको संविधानलाई अपूर्ण भनेपछि भारतीय दूतावासका अधिकारीहरु आन्दोलनको तारतम्य मिलाउन लागिपरेको देखिएको छ । प्राप्त जानकारी अनुसार भारतीय दूतावासले मधेसी र जनजातिहरुलाई मिलाएर आन्दोलन चर्काउन उक्साइरहेको छ ।

तर, के मधेसी र जनजाति पार्टीहरुलाई उचालेर भारतले केपी ओलीको सरकार ढाल्ने खेल सफल होला ? यसमा भारतीय अधिकारीहरु पनि खासै ढुक्क छैनन् । विगतमा नाकाबन्दी गरेका बेला मधेसी मोर्चाका कार्यकर्ताले नै तेलको कालोबजारी गरिदिएका कारण नाकाबन्दी असफल भएको भारतीय दूताबासका कर्मचारीको बुझइ छ ।

यो अवस्थामा भारत वा इयु वा कुनै बाह्यशक्तिले चाहँदैमा ओलीले खुट्टा छाड्ने अनुमान आन्दोलनकारीहरुले समेत लगाउन सकेको देखिँदैन । र, यसमा भारतीयहरुसमेत मधेसी मोर्चालाई पूर्णतः भर गर्ने पक्षमा नरहेको सूत्रहरुको दाबी छ ।

तथापि कांग्रेस सभापति शेरबहादुर देउवाको दिल्ली भ्रमणबाट भने सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेभित्र निकै ठूलो भय पैदा भएको हुन सक्छ ।

पानी छाम्दै मोर्चा

त्यसो त यो आन्दोलन सफल भइरहाल्नेमा विश्वस्त नभएको अवस्थामा आन्दोलनकारी दलहरु सुरुमा केही कार्यक्रम घोषणा गरेर पानीको गहिराइ नाप्ने वा कति चिसो छ भनेर छाम्ने पक्षमा देखिन्छन् ।

अहिले घोषणा गरेका कार्यक्रमबाट जनसहभागितालाई हेरेर कसरी अगाडि बढ्ने भन्ने तय गर्न सकिने मोर्चाका नेताहरुको अनुमान छ भने सरकारले पनि मधेसी मोर्चाको ताकतको गहिराइ नाप्ने तयारी गरिरहेको देखिन्छ । र, यो ताकत नाप्ने अभियान सम्भवतः वैखाख र जेठसम्म चलिरहन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment