Comments Add Comment

एक वर्षमा ३० हजार पराकम्पन, अझै कति आउलान् ?

साना पराकम्पनले भूकम्पको जोखिम घटाउने दाबी

Dharahara (1)१२ वैशाख, काठमाडौं । एक वर्ष बित्यो । २०७२, वैशाख १२ मा ७.६  रेक्टर स्केलको गतिमा हल्लिएको देश अझै थामिएको छैन । यो एक वर्षमा ३० हजारभन्दा बढी पराकम्पन गएको रेकर्ड राष्ट्रिय भूकम्प मापन केन्द्रसँग छ ।

आइतबार बिहान पनि नुवाकोटलाई केन्द्र बनाएर ४.२ रेक्टरको पराकम्प गयो । आफ्नो ‘वार्षिकी  मनाउन’ १२ बजेको आसपासमा फेरि ठूलो भूकम्प आउने हो कि भनेर मानिसहरु त्रशित छन् । यद्यपि, भूकम्पले हरेक वर्ष आफ्नो ‘जन्मदिन’ मनाउँछ भन्ने तथ्य कतै पनि भेटिदैन ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ठूलो भूकम्पपछि एक वर्षसम्म परकम्प आउनु सामान्य हो । केन्द्रले ४ रेक्टरभन्दा माथिको मात्रै भूकम्पको रेकर्ड सार्वजनिक गर्ने गरेको छ । यद्यपि, एक वर्षको अवधिमा ३० हजारभन्दा बढी भूकम्पको धक्का रेकर्ड भइसकेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

‘सामान्य अवस्थामा यति धेरै भूकम्प जाँदैनन्,’ अधिकारीले भने-‘वैशाख १२ को भूकम्पपछि दैनिकजसो सयभन्दा बढी भूकम्प गइरहेका छन् । तर, सानातिना भूकम्प खासै महसुस गर्न सकिँदैन । त्यसैले यसलाई सार्वजनिक गर्नुको औचित्य पनि छैन ।’

२० वर्षमा ६० हजार भूकम्प

०७२ सालअघिका १० वर्षमा जति भूकम्प गए, त्यति बितेको एक वर्षमै रेकर्ड भयो । यस्ता सानातिना भूकम्पले ठूलो भूकम्पको जोखिमलाई घटाउँदै लैजाने अधिकारी बताउँछन् ।

०५२ सालदेखि ७२ सालसम्म नेपालमा झण्डै ६० हजार भूकम्प गएको रेकर्ड छ । केन्द्रले सन् १९९४ पछि भूकम्पको रेकर्ड व्यवस्थित गर्न थालेको हो ।

दोलखा र सिन्धुपाल्चोक पराकम्प केन्द्र

गोरखा भूकम्पपछि ४ रेक्टर माथिका ४ सय ४९ वटा भूकम्प गइसकेको छ  । यस्तै ५२ वटा ५ रेक्टरमाथिको परकम्पको धक्का नेपालीले महसुस गरेका छन् ।

गत वैशाख १२ यता सबैभन्दा धेरै पराकम्पको त्रास खेप्ने जिल्ला दोलखा हो । दोलखालाई केन्द्र बनाएर एक वर्षको अवधिमा ४ भन्दा माथिका १ सय ५६ वटा पराकम्प गएका छन्  । जसमा ६ वा नयाँ भूकम्प पनि छन् ।

दोलखापछि सिन्धुपाल्चोकमा १ सय १३ वटा पराकम्पको रेकर्ड छ । यसमा ४ रेक्टरभन्दा माथिका १३ वटा भूकम्पहरु पनि रेकर्ड गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै रसुवा, धादिङ, गोरखा, नुवाकोट र काठमाडौंमा पनि थुप्रैपटक पराकम्प गाएका छन् ।

अपेक्षाकृत कम क्षति

बारपाक केन्द्रबिन्दु भएर गएको ७.६ रेक्टरस्केलको भूकम्पले ठूलो विनास गरे पनि अनुमानभन्दा निकै कम क्षति भएको विज्ञ बताउँछन् ।

‘यति ठूलो भूकम्प जाँदा अहिले भएको क्षति भन्दा ४ गुणा बढी क्षति हुन्छ भन्ने अनुमान थियो,’ भूकम्पविद अधिकारीले भने- ‘अध्ययनहरुले ७.६ रेक्टर स्केलको भूकम्पमा काठमाडौं गत वैशाख १२ को भन्दा ४ गुणा बढी हल्लिन्छ देखाएका थिए ।’
यस्तो किन भयो भनेर अनुमान गर्न गाह्रो हुने उनले बताए ।

‘यो नेपालीका लागि सुखद कुरा बन्यो । तर, सँधै यस्तै हुन्छ भन्ने छैन,’ अधिकारीले भने-‘वैज्ञानिक अध्ययनका आधारमा भन्न सकिन्छ कि अर्को भूकम्प योभन्दा सानो भए पनि त्यसले निम्त्याउने क्षति योभन्दा बिकराल हुनसक्छ ।’ उनले गत वैशाख २९ को दोलखा केन्द्र भएर आएको भूकम्पको प्रभाव पनि अनुमान भन्दा दुई गुणा कम रहेको  बताए ।

‘गोरखा केन्द्र भएर आएको भन्दा दोलखा केन्द्र भएर आएको भूकम्प वैज्ञानिक अनुमानको नजिक थियो’ उनले भने ।

२ रेक्टरमा १०२४ गुणा बढी शक्ति

केन्द्र प्रमुख अधिकारीका अनुसार भूकम्प एक रेक्टर स्केल बढी हुँदा हल्लिने दर ३२ गुणा बढी हुन्छ । २ रेक्टर स्केल बढ्दा त्यसको शक्ति १ हजार २४ गुणा बढी हुन्छ ।

भूकम्प जाँदा हल्लिने दर त्यसको गहिराइसँग पनि सम्बन्धित हुन्छ । जमिनको सतहभन्दा जति माथि टेक्टोनिक प्लटेहरु ठोक्किन्छन्, त्यसबाट उत्पन्न हुने कम्पन त्यति नै शक्तिशाली हुन्छ ।

जोखिममा पश्चिम नेपाल

नेपालको पूर्वी तथा मध्यभागमा हेरेक डेढ-दुई सय वर्षमा विनासकारी भूकम्प गइरहेका छन् । वि.सं १९९० पछि गत वर्ष मध्य नेपालमा विनाशकारी भूकम्प गयो । मध्यनेपालमा ठूलो भूकम्प दोहोरी रहे पनि पश्चिम नेपालमा भने झण्डै ५ सय वर्षदेखि ठूला भूकम्प गएका छैनन् ।

अधिकारीका अनुसार विसं १५०५ पछि गोरखाभन्दा पश्चिमको क्षेत्रमा ठूलो भूकम्प गएको छैन ।

पश्चिम नेपालको भूगर्भमा ठूलो शक्ति सञ्चय भएर बसेको अध्ययनहरुले देखाएका छन्’ केन्द्र प्रमुख अधिकारीले भने-‘भूकम्प कहिले जान्छ भन्न सकिने विषय होइन । तर, पश्चिम नेपालमा पनि भूकम्पीय जोखिम बढ्दैछ भन्ने कुरा लुकाउन मिल्दैन ।’
उनले भूकम्पीय जोखिमलाई मूल्यांकन गरेर त्यसको पुर्व तयारीमा लाग्नु नै बुद्धिमतापूर्ण हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment