Comments Add Comment

सुशील ज्ञवालीलाई सराप्दैछन् साँखुबासी

७० वर्षे हजुरआमाले भनिन्- लौ है सहयोग गर्नुपर्‍यो !

Sankh One Year-After-a-Devastating-Earthquake (5)

१२ वैशाख, काठमाडौं । शुक्रबार अपराहृन अनलाइनखबरको टोली साँखु पुग्दा एक वर्षदेखि खेतमा टहरा बनाएर बसेकी ७० वर्षकी हजुरआमा रुपशोभा छोरी र बुहारीको सहयोगमा जस्ताको एउटा सानो टहरो सार्दैथिइन् ।

रुपशोभा अहिले खेतबाट सरेर आफ्नो पुरानै घर नजिक आएकी छिन् । ‘३/४ तलाको घर थियो, सबै खत्तम भयो । ऊ त्यस्तो भएको छ’ नजिकैको भग्नावशेष देखाउँदै उनले अनलाइनखबरसँग भनिन् ।

भूकम्पले भत्किएको घर त्यतै असरल्ल छ । नजिकै भत्किएको घरको भग्नावशेष आफन्तले हटाएपछि रुपशोभा अहिले त्यहीँ टहरो बनाउँदैछिन् । अहिलेसम्म के-के राहत पाउनु भयो त ? अनलाइनखबरको प्रश्नमा उनले भनिन्, सुरुमा १५ हजार, अर्को सात हजार र तीन हजार । यत्ति हो ।’ उनले भनिन्-लौ है मलाई घर बनाउन सहयोग गर्नुपर्‍यो ।’

Sankh One Year-After-a-Devastating-Earthquake (3)

साँखुका स्थानीय कृष्ण श्रेष्ठ घरको जग हाल्दै थिए । भूकम्प गएपछि पालमुनि बस्दै आएका उनले एक वर्षसम्म सरकारको बाटो हेरे । बाटो हेर्दाहेर्दै दोस्रो वर्षायाम आउन लाग्यो, अब त भएन भन्दै ऋण खोजेर उनी आफैं घर बनाउन तम्सिएका हुन् ।

कृष्णले पहिलाको घर भत्केको ठाउँमै नयाँ घर बनाउन लागेका छन् । भग्नावशेष पनि राम्ररी हटाउन भ्याएको छैन, वरिपरि अर्को घर धरापजस्तै छ ।

वर्षायाम आउनुअघि नै ओत लाग्ने ठाउँ बनाउनुपर्‍यो भनेर उनी घर बनाउन लागेका हुन्, जहाँ उनको एक आनाभन्दा कम जग्गा छ ।’सरकारले ५० हजार दिन्छ रे, त्यसले न सिमेन्ट आउँछ, न रड किन्न पुग्छ’ कृष्णले भने, ‘थाप्लोमा ऋण बोकेर भए पनि घर त बनाउनुपर्‍यो ।’

साँखु नगर क्षेत्रमा पर्ने भएकाले क वर्गमा अर्थात २५ लाखसम्म सहुलियत ऋण पाउनेमा पर्छ । तर, त्यसका सर्तहरु कसैले पूरा गर्न सक्ने अवस्थामा छैनन् कृष्ण । १४ फिटको बाटो हुनु पर्ने र नक्शा पास गर्नुका साथै सरकारले तोकेकै मोडेलमा घर बनाउनुपर्नेदेखि अरुबेला ऋण लिँदाको जस्तो सबै मापदण्ड पूरा गर्नुपर्छ भनिएको छ ।

कृष्ण भन्छन्, -यो सबै कहाँ सम्भव छ ? हामी जस्ताले प्रक्रिया नै पूरा गर्न सक्दैनौं ।’

Sankh One Year-After-a-Devastating-Earthquake (4)

कृष्ण जस्तै एक दुई परिवारले घर बनाउन थाले पनि अरु पाल र टहराुमनी नै छन् । साँखुमा एक वर्षअघि वैशाख १२ को भूकम्प र त्यसको केही दिनपछि २९ मा आएको पराकम्पले ८८५ परिवारको घर क्षतिग्रस्त बनायो । त्यहाँ अब १४ सय परिवारलाई नयाँ घर बनाउनुपर्ने देखिएको छ । किनकि पहिले एउटै घरमा भाग लगाएर बसेका दाजुभाइ अब छुटिएका छन् ।

तर, भूकम्प गएको एक वर्षमा सडक खुला गर्ने कामबाहेक केही भएको छैन । धेरै घरहरुको भग्नावशेष समेत अझै हटाउन सकिएको छैन ।

Sankh One Year-After-a-Devastating-Earthquake (1)

यो चाँहि कृष्णश्वरी श्रेष्ठको घर हो । भूकम्पपछि हामी जाँदा उनको यो घर धेरै भत्किएको थियो र एक पाखा मात्र बाँकी थियो । अहिले उनले त्यसैलाई टालटुल पारेर छाना हानेकी छन् । तर, दुईवटा मात्रै कोठा छन् । त्यसैले उनी परिवारसहित टहरोमा नै बस्दै आएकी छिन् ।

नयाँ घर कहिले बनाउने भन्ने प्रश्नमा उनले भनिन्, ‘जुन दिन सकिन्छ, त्यही दिन बनाउनुपर्ला ।’

सुशील ज्ञवालीविरुद्ध आक्रोश

साँखुबासीले एक वर्षसम्म सरकारको आश गरेरै बसेका थिए । तर, उनीहरुले बताएअनुसार दोस्रोपटक वर्षा लाग्नै लाग्दा पुनर्निर्माण प्राधिकरणले भनिदियो कि उपत्यका बाहिरका ११ जिल्लाको काम सकिएपछि मात्रै काठमाडौंको पालो आउँछ ।

प्राधिकरणको यस्तो घोषणा सुनेपछि साँखुबासीको आक्रोशको पारो बढेको छ । साँखुबासीको साझा गुनासो छ- ‘कम्तिमा पुस-माघतिरै भनिदिएको भए जे-जस्तो सकिन्छ, ओत लाग्ने व्यवस्था त गथ्र्यौं, अहिले आएर भनेपछि वर्षायाम अघि हामीले केही गर्न नसक्ने भयौं । सरकारको भर पर्दा दुःख पाइयो ।’

साँखुमा पुनर्निर्माण समिति पनि बनेको रहेछ, त्यसकै पहलमा आईओएमले सडकमा थुपि्रएका भग्नावशेषहरु भर्खर हटाएर गएको छ । तर, व्यक्तिको भत्किएका धेरै घरहरु भने असरल्ल अवस्थामा छन् ।

Pawan shresthaस्थानीयलाई चाहिएको छ घर । तर, अहिले पनि बाँस र जस्ताका टहराहरु वितरण भइरहेको छ । स्थानीय पत्रकार पवनकुमार श्रेष्ठ भन्छन्, ‘हाइटीजस्तो बन्छ कि भन्ने डर लाग्न थालिसक्यो ।’

उनका अनुसार हालै पुनर्निर्माण समितिले गरेको कार्यक्रममा प्राधिकरणका सीइओ सुशील ज्ञवाली आफैं आएका थिए । उनले उपत्यका बाहिरका ११ जिल्लाको सकिएपछि मात्रै साँखुको काम सुरु हुन्छ भनेका छन् ।

स्थानीयबासी समेत रहेका श्रेष्ठ भन्छन्, ‘पहिल्यै यस्तो भनेको भए जनताले आफैं जसोतसो घर बनाउँथे, अहिले भन्यो, अबको वर्षा पनि टहरामै बित्ने भयो ।’

Sankh One Year-After-a-Devastating-Earthquake (6)

अहिले यहाँ बज्रयोगिनीको जात्रा सुरु भइसकेको छ । रथ तानेर शुक्रबार साँझ नै धुँलाटोलमा ल्याइएको छ । स्थानीय भन्छन्- ‘भूकम्पले घर भत्काएको भए पनि वषौंदेखि मनाइँदै आएको ऐतिहासिक जात्रा त मनाउनै पर्‍यो ।’

Sankh One Year-After-a-Devastating-Earthquake (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment