+
+
Shares

चिनियाँ जहाज नेपाल ल्याउने अन्तिम तयारी

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १३ गते १२:२१
फाइल फोटो
फाइल फोटो

१३ वैशाख, चीन । चिनमा नेपालका लागि निर्मित चारवटा जहाज नेपाल ल्याउने अन्तिम तयारी भइरहेको चिनियाँ कम्पनीले जनाएको छ ।

सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज विविध कारणले नेपाल ल्याउन ढिलाइ भएको थियो । ती जहाज केही महिनादेखि नै चीनको सियान र हर्बिनस्थित कम्पनीमा थन्किएका छन् ।

जहाज निर्माण कम्पनीका प्रमुख इन्जिनियर एवम् ‘वाई १२’ विमानका मुख्य डिजाइनर साँग चानले भने ‘‘चीनले ती जहाज अब छिट्टै नेपाल पठाउने अन्तिम तयारी हामीले गरेका छौँ तर अब हामी नेपाल सरकारका प्रतिनिधिको पर्खाइमा छौँ ।”

“गएको डिसेम्बर महिनामा नै चीनका दुवै सहर सियान र हार्बिनमा पुगेर नेपाल सरकारका प्रतिनिधिसहितको पाइलट र प्राविधिक टोलीले परीक्षण उडानका साथै प्राविधिक जाँच गरिसकेका छन्”, त्यसैले अब नेपाल सरकारलाई हामी विमान लैजान अन्तिम तयारी गर्न भनेका छौँँ – चानले भने ।

नेपालका लागि बनाइएका ६ वटा विमानमा दुईवटा अनुदानस्वरुप थिए । ती पहिल्यै नेपाल ल्याइसकिएको छ । बाँकी चारमध्ये एउटा सियान र तीनवटा हार्बिन सहरमा कम्पनीकै मैदानमा राखिएको छ ।

नेपालको राष्ट्रिय झन्डा अङ्कित ती जहाज एभिक एयरक्राफ्ट कम्पनी लिमिटेडको सियानस्थित मैदानमा एमए–६० र रुसको सीमा नजिकको सहर हार्बिनको एभिक एयरक्राफ्ट इन्डस्ट्री ग्रुप कम्पनीको मैदानमा तीनवटा वाई–१२ पार्किङ गरेर राखिएका छन् ।

उक्त कम्पनीका अधिकारीका अनुसार यी चार जहाजका लागि नेपाल सरकारले ६० प्रतिशत रकम अर्थात् दुई करोड १० लाख अमेरिकी डलरभन्दा बढी रकम तिरिसकेको छ ।

उत्पादक कम्पनीको मैदानमा नेपाल वायुसेवा निगमको रङ र राष्ट्रिय झन्डामा सजाएर चिटिक्क पारेर राखिएको छ । ती सबै जहाजमा नेपाली कलसाइनसमेत राखेर तयार पारिएको छ ।

नेपालमा उडानका लागि दर्ता गरेपछि मात्र प्रयोग गर्न सकिने कलसाइनसमेत तिनमा अङ्कित छ । ९ एन एकेभी, ९ एन एकेयु, ९ एन एकेटी कल साइनका यी जहाज सन् २०१४ मा तत्कालीन सरकारले न्यूनतम ब्याजको चीनकै ऋणमा खरिद गर्ने सम्झौता गरेको थियो ।

दुई सरकारबीच भएको सम्झौतामा दुईवटा एम ए–६० र ४ वटा वाई–१२ जहाजमध्ये एउटा एम ए–६० र एउटा वाई–१२ जहाज नेपाल सरकारलाई अनुदानका रुपमा चीन सरकारले दिने र बाँकी चारवटा चीनको एक्जिम बैंकले न्यूनतम ब्याज (१.५ प्रतिशत) मा सातवर्षको ग्रेस समय (साँवा तिर्नु नपर्ने, ब्याजमात्र तिर्ने) दिने उल्लेख छ ।

यसरी नेपाल सरकार र चीनको सो कम्पनीबीचको सम्झौता बमोजिम छ वटा जहाजमध्ये उपहारका रुपमा पाएका दुईवटा जहाज नेपालले गएको डिसेम्बरमै लिएर उडानमा प्रयोग गरिरहेको छ ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?