Comments Add Comment

तीन लाख ५० हजार हेक्टर वनमा आगलागी

पश्चिम नेपालका तराई र चुरे क्षेत्रमा बढी आगलागी

aagolagi१४ वैशाख, काठमाडौँ । गर्मी महिना सुरुसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् ।

गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुने गरेको वन विभागले जनाएको छ ।

नेपालको पूर्वी क्षेत्रको तुलनामा पश्चिम तराईमा धेरै आगलागी भएको छ । कैलाली, कञ्चपुर, दाङ, नवलपरासी, सल्यान, सुर्खेत, बाँकेलगायतका जिल्लाको चुरे क्षेत्रमा बढी आगलागी भएको वन विभागका वन पैदावार अधिकृत श्रीप्रसाद बरालले जानकारी दिए ।

उनले भने , “समयमा पानी नपर्नु र मानिसको हेलचक्र्याँइले गर्दा वनमा धेरै डढेलो लागेको हो ।” मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा होस् या सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । गत वर्ष दुई लाख २५ हजार हेक्टर क्षेत्रफलमा आगलागी भएकोमा यस वर्ष तीन लाख ५० हजार हेक्टर बराबरमा आगलागी भएको बरालले बताए ।

पूर्वी क्षेत्रमा समयमा फाटफुट पानी परेको कारण केही कमी आगलागी भएको छ । आगलागी भएका वनमा सामुदायिक, राष्ट्रिय निकुञ्ज र साझेदारी धेरै छन् ।

उनले भने , “जनचेतना र प्रचारप्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ यसको नियन्त्रणका लागि विभाग सक्रियताका साथ लागेको छ ।”

जलवायु परिवर्तन हुनु र लामो समय खडेरी पर्दा सुक्खा भई धेरै आगलागी हुने गरेको विभागले जनाएको छ । कुल आगलागी हुनेमध्ये ८३ प्रतिशत चैत र वैशाखमा हुने गरेको छ । त्यसमध्ये वैशाखमा मात्र ६० प्रतिशत हुने विभागले जानकारी दिएको छ ।

देशभर १८ हजार सामुदायिक वन रहेका छन् । वन क्षेत्रमा हुने आगलागीले गर्दा बर्सेनि हजारौँ वन्यजन्तु मर्ने गरेका छन् । वनमा हुने आगलागी कम होस् भन्ने उद्देश्यका साथ वन विभागले आफ्नो विभागअन्तर्गतका जिल्ला वन कार्यालयमार्फत गत फागुन १६ देखि २१ गतेसम्मलाई डढेलो नियन्त्रण सप्ताह कार्यक्रम सञ्चालन गरेको थियो ।

वनमा हुने आगलागीले मानवीय क्षतिसमेत हुने गरेको छ । यो वर्ष वनमा लागेको आगो नियन्त्रण गर्न जाँदा दुईजनाको ज्यान गएको छ । जसमा दोलखामा एक र गुल्मीमा एक जनाको ज्यान गएको हो भने थुप्रै मानिस घाइते भएका छन् ।

विभागका प्रचारप्रसार अधिकृत फणिन्द्र पोखरेलले वन दशक कार्यक्रमले आगालागी नियन्त्रणमा कमी ल्याउने विश्वास व्यक्त गरे । उनले भने , “आगो र गाईवस्तुको चरिचरणबाट वन क्षेत्रलाई जोगाउन सके वन वृक्षरोपण कम गरे पनि हुन्छ ।”

वनमा कति मात्रामा आगलागी भएको छ भन्ने अध्ययनमा अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोडले) समेत सहयोग गरेको छ ।

वन ऐनको दफा ४९ को ‘ख’ मा आगो लगाउन वा आगलागी हुने कुनै काम गर्नेलाई दफा ५० को ‘ख’ अनुसार कारबाही गर्ने व्यवस्था गरेको छ । दफा ५० को ‘ख’ मा वन आगलागी वा कसुर गर्नेलाई बिगो असुल गरी रु १० हजारसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाया हुने व्यवस्था छ ।

तराईका क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा वनमा हुने आगलागी नियन्त्रण गर्न गाह्रो हुने गरेको छ । पहाडी क्षेत्रमा धेरै भिरालो जग्गा हुनु र तलबाट लागेको आगो माथितिर जाने हुँदा निभाउन कठिन हुने गरेको हो ।

वनमा लागेको आगो नियन्त्रण गर्न आधुनिक सामान नहुनु र तालिम प्राप्त जनशक्ति नहुँदा समस्या परेको छ । आगो निभाउँदा भएको मानवीय क्षतिको राहतबारे स्पष्ट निर्देशिका छैन ।

‘हरियो वन नेपालको धन’ भन्ने नारालाई सार्थकता दिन र वन दशकलाई सफल बनाउन वन क्षेत्रमा हुने आगलागीलाई नियन्त्रण गर्नु नै हो ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment