Comments Add Comment

रोल्पा पुगेर मन्त्री यादवले भने- माओवादी एक हुनुको विकल्प छैन

१६ वैशाख, रोल्पा । सिंचाइ मन्त्री एवं एमाओवादी केन्द्रीय सदस्य उमेशकुमार यादवले सबै माओवादीहरु एकीकृत हुनुको विकल्प नरहेको बताएका छन् । सविधानलाई पूर्णता दिनका लागि पनि माओवादी पार्टीबीच एकता हुनुपर्ने उनको भनाइ छ ।

Umesh-Yadavक्रान्तिकारी पत्रकार संघ रोल्पाले बिहीबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले भने, ‘बाँकी कार्यभार पूरा गर्न पनि माओवादी मिल्नुको विकल्प छैन । तत्कालिन अवस्थामा समयको मागअनुसार सविधान निर्माण भयो तर त्यो पूर्ण नभएका कारणले सविधानलाई पूर्णता दिनका लागि अलग-अलग रहेका माओवादीहरु मिल्नुपर्छ ।’

सविधान कार्यान्वयनमा थुप्रै चुनौतिहरु रहेका र ती चुनौतिहरुबाट मुक्ति दिने काम माओवादीबाट मात्र सम्भव भएको उनले दाबी गरे ।

मधेसमा जारी विभेदविरुद्धको आन्दोलनको माओवादीले नै नेतृत्व गर्दै आएको भन्दै उनले आउने दिनमा पनि माओवादीले नै गर्ने उनले प्रष्ट्याए । अहिले जारी संघर्ष जायज भए पनि त्यसको अगुवाई गरेकाहरु सहि नभएको उनले दाबी गरे ।

नेपालको परिवर्तनमा रोल्पालीले दिएको योगदान सदा स्मरणीय रहने बताउँदै मन्त्री यादवले रोल्पालीहरुको योगदान खेर नजाने धारणा समेत राखे ।

थवाङमा सिचाइँका लागि १ करोड १५ लाख रुपियाँ विनियोजन गरेको जानकारी गराउँदै माडीचौर नदी नियन्त्रणका लागि ५० लाख रुपैयाँ छुट्याइएको र यही एक-दुई हप्तामा काम पनि शुरु हुने बताए । फगाममा नदी नियन्त्रण कार्यक्रम पनि प्राथमिकतामा राखेको उनले जानकारी दिए ।

उनले सिचाइ विकास डिभिजन कार्यालय तथा सिँचाई मातहतका कार्यालयले गर्ने कामका लागि स्थानीयलाई जानकारी दिनका लागि स्थानीय भाषामा सूचना दिन मातहतका कार्यालय प्रमुखलाई निर्देशन पनि दिए । कार्यक्रमको बारेमा विज्ञापनमार्फत सूचना सम्प्रेषण गर्न उनले निर्देशन दिए । सरकारी कार्यालयले दिने सुविधाबारे स्थानीय जनताले जानकारी नभएका कारण सूचनामा विशेष जोड दिनुपर्ने उनको भनाइ थियो ।

रोल्पामा ३१ हजार चार हेक्टर खेती योग्य जमिन रहेपनि चार हजारमा मात्र सिँचाई पुगिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment