१६ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघको सक्रियतामा निर्माण भएको विद्यालय भवन हस्तान्तरण गरिएको छ ।
गत वर्षको वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षति पुगेको कीर्तिपुर माध्यमिक विद्यालयमा भूकम्प प्रतिरोधात्मक चारकोठे भवन निर्माण गरी विद्यालयलाई बिहीबार हस्तान्तरण गरिएको हो ।
नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णको वास्तुकलामा निर्माण भएको सो भवनलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हस्तान्तरण गरे ।
नेता सिंहले भूकम्प गएको एक वर्ष वितिसक्दा पनि सरकारले काम गर्न नसक्नु दुःखद कुरा भएको उल्लेख गरे । उनले भने, ‘भूकम्प र नाकाबन्दीले जनता गाँस, बास र कपासको समस्यामा छन् । यसलाई सरकारले चाँडो पूरा गर्नुपर्छ ।’
नेता सिंहले संविधान कार्यान्वयन र पुनःनिर्माणमा नेपाली काँग्रेसले कडा प्रतिपक्षको भूमिका खेल्ने पनि स्पष्ट पारे ।
नेविसङ्घका पूर्व अध्यक्ष गोविन्द भट्टराईले नेविसङ्घले भूकम्पपछि पुनःनिर्माणमा खेलेको भूमिकाको सराहना गर्नुभयो ।
नेविसंघका अध्यक्ष कर्णले नेविसंघलाई अब शैक्षिक मुद्दामा केन्द्रित गरेर अगाडि लैजाने बताए ।
भवन दुई लाख ५० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । रासस
प्रतिक्रिया 4