२२ वैशाख, काठमाडौं । एमाओवादीले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने औपचारिक निर्णयपछि केपी ओली नेतृत्वको सरकार हल्लिएको छ । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले एमाओवादीको निर्णयलाई ‘आश्चर्यजनक’ बताए ।
‘हिजो बेलुकीसम्म उहाँ सरकारको समर्थनमा बोलिरहनुभएको थियो, प्रधानमन्त्रीभन्दा अगाडि सरेर सरकारको बचाउ गर्दै हुनुहुन्थ्यो,’ उनले अनलाइनखबरसँग भने, ‘आज बिहानै आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने भनेर विज्ञप्ति जारी गर्नुभयो । प्रचण्डलाई रातारात के भयो बुझ्न सकेका छैनौं ।’
भूकम्पपछिको पुनर्निर्माणमा भर्खरै सरकारले ‘टेक अफ’ गरेका बेला षडयन्त्रपूर्वक दुर्घटना गराउन खोजिएको उनले टिप्पणी गरे । सत्ताधारी एमाले र एमाओवादीबीच कुनै ठोस असमझदारी आफूले नपाएको रिमालको भनाइ छ ।
‘असमझदारीका विशेष कुरा केही छैनन्, भए बसेर सल्ट्याउन सकिन्थ्यो,’ रिमाल भन्छन्, ‘उहाँ (प्रचण्ड) ले यति मात्रै भन्नुभएको छ कि कांग्रेसबाट मलाई प्रस्ताव आयो, तपाईं के भन्नुहुन्छ ?’
यसमा प्रधानमन्त्रीको भनाइ के छ त भन्ने प्रश्नमा रिजालले उत्तर दिए, ‘उहाँले बारम्बार भन्दै आउनुभएको हो, यो सरकार मलाई कसैले गोदान गरेर दिएको होइन । म सधैंका लागि प्रधानमन्त्री भएको होइन । उहाँ जस्तो परिस्थितिको पनि सामना गर्न तयार हुनुहुन्छ ।’
कुन नियमावलीबाट अविश्वास प्रस्ताव ?
रिमालले सरकारविरुद्धको सम्भावित अविश्वास प्रस्ताव कुन प्रक्रियाबाट आउँछ भन्ने प्रश्नसमेत उठाएका छन् । पुरानो नियमावली अनुसार जान नमिल्ने र नयाँ नियमावली नबनेकाले प्रक्रियाको समस्या आउन सक्ने उनको भनाइ छ ।
‘एमाओवादी सरकारबाट बाहिरिए पनि भोलि एमालेले सत्ता छोडेन भने के हुन्छ ?’ उनले प्रश्न गरे, ‘पुरानो नियमावली खारेज भइसकेको छ, भने नयाँ बनेको छैन ।’
प्रतिक्रिया 4