Comments Add Comment

यी हुन् प्रदेश नं १ का सुविधा सम्पन्न होटल

मेची-कोशीका होटलमा २५ अर्ब लगानी थपिँदै

२८ वैशाख, बिराटनगर । प्रदेश नम्बर एकमा पर्ने मेची-कोशी अञ्चलमा मात्रै यस वर्ष नयाँ तारे होटलका लागि २५ अर्ब लगानी थपिएको छ । पाँच वर्षको अन्तरालमा यस क्षेत्रमा ५० अर्ब लगानी भइसकेको छ ।

hotel (1)

हिलेमा सुविधासम्पन्न होटल

धनकुटाको हिलेमा पहिलोपटक १३ करोडको लागतमा सुविधासम्पन्न चारतारे होटल खुलेको छ । पूर्वी पहाडी जिल्लामा सबैभन्दा वढी लगानीमा सुविधा सम्पन्न होरिजन माउण्टेन रिसोर्ट सञ्चालनमा आएको हो ।

बिराटनगरका होटल व्यवसायी रेवतीबहादुर थापाले पर्यटकलाई लक्षित गरी ४८ रोपनी क्षेत्रफलमा ४२ वटा कोठा भएको होटल खोलेका हुन् ।

लामो समयदेखि बिराटनगरमा रत्ना होटल सञ्चालन गदै आएका थापाले कोशी करिडोर क्षेत्रमा घुम्न आउने पर्यटनलाई लक्षित गरी आफुले होरिजन माउण्टेन रिसोर्ट  सञ्चालनमा ल्याएको बताए ।

1_pardesh1पूर्वी पहाडी जिल्लाको पर्यटन प्रवर्द्धनका लागि होटल निर्माणसँगै ढोका खुल्ने थापाको भनाइ छ । लाली गुँरासको राजधानी मानिने तीनजुरे-मिल्के-जलजले क्षेत्र यही रुटमा पर्छ ।

यस क्षेत्रमा धुम्न आउने र बस्न चाहने पर्यटनलाई उपयुक्त होटलको  अभाव अब होरिजन माउण्टेन रिसोर्टले पूरा गर्ने थापाले बताए ।  बिराटनगरमा पाँच करोडको लगानीमा खुलेको ५६ कोठाको होटल रत्ना थापाले यस अघिदेखि नै सञ्चालन गर्दै आएका छन् ।

पछिल्लो समय पूर्वी पहाडी जिल्लामा नयाँ एवं सुविधा सम्पन्न होटलहरु खुल्ने क्रम ह्वातै बढेको छ । तराईका जिल्लामा मात्रै  सुविधा सम्पन्न होटलहरु रहने गरेकोमा पछिल्लो पाँच वर्षको अवधि यता पहाडी जिल्लामा पनि होटलहरु खुल्ने क्रम बढेको छ ।

अहिले पूर्वी पहाडी जिल्लामा मात्रै करिव ४० भन्दा बढी सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् । पाँच वर्षको अवधिमा २ करोडभन्दा बढी लगानीमा यी होटल निर्माण भएको होटल व्यावसयी महासंघ मेचीका केन्द्रीय सदस्य एवं ताप्लेजुङका होटल व्यवसायी छिरिङ शेर्पाले जानकारी दिए ।

hotel (15)कोशी र मेची करिडोरमा खुलेका होटलहरुमा २ सय वटा सुविधा सम्पन्न रुम क्षमता छन् । यहाँ वाह्यसँगै आन्तरिक पर्यटकहरुको भिड बढ्न थालेको छ । पर्यटकको चाप अनुपातमा लगानीकर्ताहरु होटल व्यवसायमा आर्कषित भएका छन । शेर्पाका अनुसार राम्रा र सुविधा सम्पन्न होटलले अहिले आफ्नो लगानीको लाभ उठाउन थालिसकेका छन् ।

तराईका जिल्लामा मात्रै होइन, पहाडी जिल्लामा पनि पछिल्लो समय होटल व्यवसायमा लगानी गर्ने क्रम ह्वातै बढेको छ । यसले पूर्वी पहाडी जिल्लाको आर्थिक गतिविधिमा टेवा पुर्‍याउँदै आएको पूर्वाअञ्चल उद्योग वाणिज्य महासंघका अध्यक्ष टंक दुलालले अनलाइनखबरलाई बताए ।

उनले भने- ‘होटलमा लगानी गर्ने क्रम बढेको छ, यो व्यवसायलाई यस क्षेत्रको पर्यटन प्रवर्द्धनसँग जोडेर लान सकिएको अवस्थामा स्थानीयस्तरमा आर्थिक उपार्जनको भरपर्दो स्रोत बन्ने छ ।’ hotel (10)

पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, इलाम र पाँचथरमा करिव २० को संख्यामा पर्यटक लक्षित होटल खुलेका छन् । त्यस्तै कोशी कोरिडोर क्षेत्र अन्र्तगत धनकुटा, तेह्रथुम, संखुवासभा लगायतका जिल्लामा पनि २० को संख्यामा सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् ।

पूर्वी पहाडी जिल्लाअन्तर्गत कोशी कोरिडोरका  होटलहरुमा  कान्जिरा, याक, सुरवी, शीतल निवास, होटल लालीगुराँस, भेडेटार भ्यु, होटल मनशान्त, अरुण भ्याली, ग्रिन हेवनलगायतका होटललाई सुविधासम्पन्न एवं नाम चलेका होटलका रुपमा लिइन्छ ।

hotel (2)त्यसैगरी मेची करिडोरअन्तर्गत पूर्वी पहाडी जिल्लामा होटल ग्रिन भ्यु, होटल वेलकम, चियावारी कटेज, मेवा खोला रिसोर्ट, स्नोलियो पार्क, होटल सरगम, होटल सुमितलगायतका सुविधा सम्पन्न होटलको नाम आउँछ ।

पाइपलाइनमा २० तारे होटल

पूर्वी नेपालमा होटल व्यवसायी महासंघमा आवद्ध ५ हजार बढी होटल छन्, जसमध्ये पर्यटकलाई लक्षित गरी एक हजार बढी होटल सञ्चालनमा छन् ।

hotel (6)महासंघका केन्द्रीय सदस्य रविन गौतमका अनुसार मेची-कोशीमा अहिले २० वटा तारे होटल निर्माणधीन अवस्थामा छन् । यस क्षेत्रमा २५० भन्दा बढी तारे होटल सञ्चालनमा छन् ।

पूर्वाञ्चलमा रहेका  पर्यटकीय स्थलहरु घुम्न आउने पर्यटकलाई लक्षित गरी खुलेका होटलहरुले यस क्षेत्रको पर्यटन विकास र प्रवर्द्धनको ढोका खुल्ने गौतमको भनाइ छ ।

विगतमा केही होटलबाहेक अधिकांश होटलले सुरक्षा संवेदनशिलता भएका विशिष्ट पर्यटकलाई सेवा दिन सक्दैनथे, अबका दिनमा भने यो समस्याको अन्त्य भएको गौतम बताउँछन् ।

पूर्वाञ्चलको पर्यटनले गति लिएसँगै कोशी र मेची अञ्चल अन्तर्गतका जिल्लामा पाँचतारे होटल निर्माणको क्रम ह्वात्तै बढेको गौतमको भनाइ छ । उनका अनुसार अहिलेको करिव १० वटा पाँचतारे स्तरका होटल निर्माण भइसकेका छन् । कोशी र मेची अञ्चलअन्तर्गत पर्ने जिल्लामा निर्माणाधीन तारे होटेलमा कम्तिमा पन्ध्र करोडदेखि एक अर्बभन्दा माथिको लगानी छ ।
मेची र कोशी अञ्चलका पूर्वी पहाडी पर्यटकीय क्षेत्रमा नयाँ होटल निर्माण हुने क्रम थपिएको छ । पुराना होटलहरु पनि स्तारोन्नित गर्ने क्रममा छन् ।

ठूला लगानीकर्ता होटलतर्फ आकर्षित

विद्युतको संकट र मजदुर अभावका कारण उद्योग सञ्चालन गर्न कठिनाइ हुन थालेपछि ठूला औद्योगिक घरानाहरु होटल व्यवसायतर्फ आकर्षित भएका छन् । hotel (9)

सेन्चुरी, गोर्खा डिर्पाटमेन्ट स्टोर्सलगायतले होटल व्यवसायमा हात हालेका छन् । सेन्चुरी मसलालगायतको फुट प्रोडक्शनमा लगानी गर्दै आएका उद्योगी मोती दुगड यतिबेला बिराटनगरमा दुईवटा ठूला होटल निर्माणमा जुटेका छन् ।

बिराटनगर-३ तीनपैनीमा दुगडले ४० करोडको लगानीमा होटल ह्यारीसन सञ्चालनमा ल्याएका छन् । ४० कोठाको चार तारे होटल सञ्चालनमा आएसँगै दुगडकै लगानीमा  बिराटनगरमै १ अर्ब २० करोडको लगानीमा पाँच तारे होटल निर्माण भइरहेको छ ।

hotel (8)पूर्वमा शिक्षा र स्वास्थ्यको हबका रुपमा विकास हुँदै गएको बिराटनगरमा पर्यटन विकास र प्रवर्द्धनका लागि आफूले होटलमा लगानी थालेको उद्योगी दुगड बताउँछन् ।

‘यो सेवामूलक क्षेत्र हो, यद्यपि यो क्षेत्रको विकासविना पर्यटन क्षेत्र माथि उठन सक्दैन,’ दुगडले अनलाइनखबरसँग भने, यसका लागि मेरो लगानीको रोजाइ होटल व्यवसाय बनेको छ । hotel (7)

बिराटनगरमा जस्तै सुनसरीको इटहरीमा गोर्खा डिर्पाटमेन्ट स्टोर्सका सञ्चालक बलराम आर्चायसहितको व्यवसायी टोलीले ७० करोडको लागतमा होटल गरिमा बनाइरहेको छ । एक वर्षभित्रै सञ्चालनमा ल्याउने तयारीमा साथ निर्माणको चरणमा रहेको गरिमा पाँच तारे होटल हुने लगानीकर्ता आर्चायले अनलाइनखबरलाई बताए ।

एक विघा क्षेत्रफलमा निर्माणाधीन होटल गरिमा ८८ कोठाको हुने छ । यो पूर्वाञ्चलकै ठूलो होटल हुने लगानीकर्ता आर्चायको दाबी छ ।

बिराटनगरका पर्यटन व्यवसायी एवं पर्यटन फेडेरेशन पूर्वाञ्चलका संयोजक भविश श्रेष्ठले पछिल्लो समय तारे होटल निर्माणले पूर्वाञ्चलको पर्यटन विकास र प्रवर्द्धनका लागि मुहार फेरिने अपेक्षा गरिएको बताउँछन् ।

hotel (16)धार्मिक, प्राकृतिक र सांस्कृतिक पर्यटकीयस्थलको हबका रुपमा चिनिने पूर्वाञ्चलमा जसरी नयाँ लगानीकर्ता आर्कषित हुँदै गएका छन्, यसले पूर्वाअञ्चलको पर्यटन विकास र प्रवर्द्धनको ढोका खुल्ने उनले बताए ।

होटलको सम्भावना बढाउने पर्यटकीय गन्तव्य

मेची र कोशी अञ्चलका पूर्वी पहाडी जिल्लामा पर्यटकीय क्षेत्र प्रसस्तै छन् । प्रयटकीय क्षेत्रको प्रचुर सम्भावना रहे पनि पहाडी जिल्लाका पर्यटकीय क्षेत्रले गति भने लिन सकेको छैन ।

पूर्वी नेपाल धार्मिक, प्राकृतिक र सांस्कृतिक पर्यटकीय क्षेत्रहरुमा सगरमाथादेखि मकालु, कञ्चनजंघा लगायतका हिमालहरु छन् । यसले गर्दा १ नम्बर प्रदेश हिमाल आरोहणदेखि ट्रेकिङका लागि पनि मुलुकमै परिचित छ ।

त्यसैगरी ताप्लेजुङको पाथिभारा देवी, खोटाङ जिल्लामा पर्ने हलेसी महादेव, सुनसरीको बराह क्षेत्र धाम, सप्तरीको छिन्नमस्ता देवी, धरानको दन्तकाली र बुढासुब्बा, झापाको कन्काई देवी लगायतका धार्मिक स्थलहरु यस प्रदेशका पर्यटकीय आकर्षणका केन्द्र हुन् ।

यसैगरी पूर्वी पहाडी जिल्लामा नाम चलेका ३० भन्दा बढी ताल र पोखरीहरु छन् जसले धार्मिक एवं सांस्कृतिकरुपमा छुट्टै विषेशता बोकेका छन् । तेह्रथुमको चिचिलिङ पोखरीदेखि संखुवासभाको सभापोखरीसम्म सांस्कृतिक अर्थ बोकेका स्थल हुन् ।

यसैगरी इलाम चियाको राजधानीको रुपमा पर्यटकीय हिसाबले परिचित छ भने तेह्रथुमको तीनजुरे-मिल्के-जलजल्ले क्षेत्र लाली गुराँसको राजधानीका रुपमा परिचित छ ।

vedetar picयसैगरी पूर्व तराई क्षेत्रमा कोशी टप्पु रामसार क्षेत्रसँगै थुप्रै रामसार क्षेत्रहरु छन् । मोरङमा पनि बेलबारी बेतनाजस्ता सिमसार क्षेत्रहरु छन् । इलामको श्रीअन्तुदेखि धनकुटाको भेडेटार मुलघाटजस्ता रमणीय ठाउँहरु प्राकृतिकरुपमा पर्यटक तान्ने स्थल हुन् ।

ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, सुनसरी, संखुवासभा र खोटाङलगायतका जिल्लाहरुमा मुलुककै पर्यटन व्यवसायका लागि पूर्वको हवका रुपमा लिन सकिने सम्भावना छ ।

पूर्वी नेपालका यिनै पर्यटकीय गन्तव्यलाई लक्षित गरेर होटल व्यवसायको राम्रो सम्भावना देखिएको छ ।

यो पनि पढ्नुहोस्

गर्मीमा घुम्न आउनुस् है चिसो र मनोरम भेडेटार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment