
२८ वैशाख, भैरहवा । शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी परिसरमा विभिन्न देशले आकर्षक बुद्ध गुम्बाहरु बनाएका छन् । यी गुम्बाहरु पर्यटकका लागि आकर्षण बन्ने गरेका छन् ।
लुम्बिनीमा धेरैजसो मुलुकले गुम्बा बनाइसकेका छन् भने कतिपयले बनाइरहेको देखिन्छ । लुम्बिनी पुग्दा यस्तो महशुस हुन्छ, सबैभन्दा आकर्षक गुम्बा बनाउन विदेशी मुलुकबीच प्रतिस्पर्धा भइरहेको छ ।
करोडौं रुपैयाँ खर्च गरी बनाइएका यस्ता कलात्मक गुम्बाहरुले पर्यटकको ध्यान खिच्ने गरेको छ । लुम्बिनीमा बनाइएको नेपाली गुम्बा पनि मौलिक छ ।
विश्वभरिका वौद्ध धर्मावलम्बीको आकर्षण
वुद्धको जन्मस्थल लुम्बिनी विश्वभरि चर्चित छ । हरेक वर्ष लुम्बिनी भ्रमणमा आउने पर्यटकहरु बढिरहेका छन् । लुम्बिनी विकास कोषका अनुसार सन् २०१४ मा ११ लाख १३ हजार स्वदेशी विदेशी पर्यटक लुम्बिनी भ्रमणमा आएका थिए । जसमध्ये नेपाली, भारतीय र बौद्धिष्ट मुलुकका पर्यटक बढी छन् ।
लुम्बिनीमा पर्यटकको पहिलो गन्तव्य हुन्छ, मायादेवी मन्दिर । मन्दिरमा बुद्धको दरबार (घर) र उनको पाइला छ । मान्दिर बाहिर पनि पुरानो दरबार उत्खनन् गरिएको छ । जुन पर्यटकका लागि आकर्षण बन्न पुगेको छ ।

लुम्बिनीमा मायादेवी मन्दिर र निजी गुम्बाहरु राम्रोसँग अवलोकन गर्नका लागि झण्डै दुई दिन लाग्छ । एकजना पर्यटकलाई लुम्बिनी भित्र मात्रै दुई दिनसम्म अड्याउन सकिन्छ । लुम्बिनीका साथै बुद्धको मावलीघर देवदह र तिलौराकोट घुम्न गएमा तीन दिन बित्छ ।
तर, अहिले लुम्बिनी घुम्न आउने पर्यटक सोही दिन फर्किने गरेका छन् । लुम्बिनी भ्रमणमा आउने पर्यटकमध्ये करिव ६० प्रतिशत सोही दिन फर्किन्छन्, बाँकी ४० प्रतिशतको बसाइ एक दिनमात्रै हुने गरेको सिद्धार्थ होटल व्यवसायी संघका अध्यक्ष सीपी श्रेष्ठ बताउँछन् ।
विश्व वौद्ध सम्मेलनको तयारी
विश्वकै चासो रहेको लुम्बिनीलाई अहिलेसम्म हामीले प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकेका छैनौं । लुम्बिनीमा विश्वको ध्यान खिच्नका लागि जेठमा ६, ७ र ८ गते २५६० औं बुद्ध जयन्ती भव्य रुपमा मनाउने र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने सरकारले तयारी गरेको छ ।
सम्मेलनले बुद्ध दर्शनको सुरुवात नेपालबाट भएको सन्देश प्रवाह गर्न सफल हुने पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले बताउँछन् । अहिलेसम्म अन्तर्राष्ट्रिय जगतमा बुद्धका बारेमा भ्रम फिँजाउने काम भइरहेको छ, र यस्तो भ्रम फिँजाउने काममा भारतीयहरु नै अगाडि देखिएका छन् ।
अहिले लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटक पनि भारतको बाटो हुँदै आउने गरेका छन् । पर्यटकलाई लुम्बिनी भ्रमण गराउने ९० प्रतिशत ट्राभल एजेन्सीहरु पनि भारतीय नै रहेको भैरहवाका व्यवसायी पवनकुमार हलुवाई बताउँछन् ।

हलुवाईका अनुसार भारतीय ट्राभल एजेन्सीहरुले पर्यटकलाई लुम्बिनी भ्रमण गराएर सोही दिन आफ्नो मुलुकमा फर्काउने गर्छन् । नेपालमा रहेको लुम्बिनीको भरपुर फाइदा भारले लिइरहेको छ । त्यसमाथि भारतीय पर्यटकले आफै खानेकुरा ल्याएर लुम्बिनी भ्रमणमा आउने र नेपालमा फोहोर फालेर जाने गर्छन् ।
होटल खोल्ने होडबाजी
भैरहवामा छिट्टै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै छ । समयमा काम सम्पन्न भए २०१८ देखि उक्त विमानस्थल सञ्चालन हुनेछ । नजिकै अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि विदेशी पर्यटक सिधा लुम्बिनी आउने विश्वास गरिएको छ । पर्यटक सिधै आएमा उनीहरुलाई १/२ दिन लुम्बिनीमा राख्न सकिन्छ ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थलसँगै पर्यटकको ओइरो लाग्ने देखेपछि तारे होटल खोल्ने होडबाजी चलेको छ । स्तरीय होटलहरु सञ्चालनमा आएपछि गुणस्तरीय पर्यटक भित्र्याउन सकिने विश्वास स्थानीय व्यवसायिको छ ।

















लुम्बिनीबाट नविन अर्याल, कबिन अधिकारी र सलमान खान
प्रतिक्रिया 4