Comments Add Comment

सिंहदरबार धर्नामा भेटिएका पहिचानवादी अनुहारहरु

७३ वर्षीया दलकुमारीले भनिन्ः मलाई तमुवान चाहियो

Dharna

गहुँगोरो अनुहार । निधारमा ‘तमुवान’ र ‘लिम्बुवान’ लेखिएका राता पट्टी । ‘सोई ढोले सोई अर्को ढोले खोई’ लवजमा ढोल बजाउँदै नाचिरहेका मस्त युवायुवतीहरू ।

यस्तो लाग्थ्यो, यो सिंहदरबारको गेट होइन धरान, धनकुटा ‘भेडेटार’ तिर कुनै सांकृतिक कार्यक्रम हुँदैछ । तर, सिंहदरबारकै नाकअगाडि उभिएर उनीहरुले संस्कृतिकै आवाजलाई बुलन्द प्रवाह गरिरहेका छन् । नेवारहरु आफ्नै पीडा ओकल्ने गीत गाउँदै थिए । गुरुङ र मगरहरु सालैजो र यानिमाया सुनाउँदैथे र तामाङहरू डप्फुको तालमा थिए ।

संघीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेअनुरुप सिंहदरबार घेराउ कार्यक्रममा देखिएको दृष्य हो यो । पहिचानको माग गर्दै आदिवासी तथा जनजातिहरुले नाराजुलुस तथा झाँकी प्रदर्शन गरेका छन् । आ-आफ्नै जातिको भेषभुषा र पहिरनमा सजिएर देशभरीबाट हजारौको संख्यामा आएका महिला, बृद्ध तथा युवा-युवतीहरुको सहभागिता थियो । नाराबाजिसँगै गीतका भाकाहरु मिसिएका थिए ।

यस्तै नारा-जुलुसका आवाज, गीतका भाकाहरू सिंहदरबारभित्र घुस्ला र मान्यवरहरुलाई खतरा होला भनेर प्रहरीले बलियो सुरक्षा घेरा बनाएको छ । त्यो स्वाभाविक थियो । तर, अस्वाभाविक पनि थियो । जे होस्, पीडाका पहाडहरू छिचोल्नका लागि बर्षौंदेखि यस्ता प्रयासहरू हुँदै आएका छन् ।

बिभिन्न समयमा आदिवासी जनजातिहरूसँग गरिएका सहमतिहरुलाई लत्याउँदै नयाँ संविधान घोषणा गरिएका कारण आफूहरुले फेरि आन्दोलन गर्नु परेको आन्दोनकारीहरूको धारणा थियो ।

संघीय प्रदेशहरुभित्र ऐतिहासिक थातथलो भएका जातीय समूह, आदिवासी जनजाति, मुस्लिम, शिल्पी समुदाय (दलित) पिछडा वर्ग, सीमान्तकृत तथा लोपोन्मुख समुदायको पहिचानमा आधारित स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र व्यवस्था गरिनुपर्ने उनीहरुको जोडदार माग छ । संविधान संशोधन गर्ने होइन, पुनर्लेखन गरिनुपर्ने जस्ता कैयौं अफ्ठ्यारा मागहरु समेत उनीहरुसँग छ । केहि तत्काल पुरा गर्न सकिने सजिला माग पनि छन् ।

यो पंतिकार आन्दोनकारी होइन । राजनीतिक अभिष्ट बोकेको मनुष्य पनि होइन । पत्रकार त झन् हुँदै होइन । तर, कोठामा बसेर कल्पनाको आधारमा लेखिएका भ्रमहरुलाई हृदयदेखि नै घृणा गर्छु म । त्यसैले मधेस आन्दोलन तथा जनजाति आन्दोलनलाई नजिकबाट नियालिरहेको एउटा लेखकको नाताले म दिनभरी नै आन्दोलनकारीसँग नजिक रहेँ । आन्दोलनमा सहभागी नागरिकहरुको बुझाइलाई शब्दमा उतारेर लोकबासीको माझमा राखिदिने चाहना थियो मेरो ।

सुकदेवीको सुर्ता

सुनसरी वडा नम्बर १ कि ३० वर्षीया सुकदेवी चाम्लिङ संघीय फोरमको झण्डा उचालेर नाराबाजी गरीरहेकी थिइन् । उनी चिच्चाउदै थिइन्, ‘मेरो पुर्खाको पसिना फिर्ता दे ! फिर्ता दे ! नश्लवादीहरु होसियार, जातिय विभेद बन्द गर ! पहिचानको हक तथा अधिकार सुनिश्चित गर, हाम्रो भूमिलाई अपहरण नगर !’ उनको यस्तो नाराबाजीहरु करिब एक घन्टा सुनेपछि म उनको नजिक गएँ ।

‘दाजू, हामी त हाम्रै देशमा अनागरिक जस्ता भयौं । हाम्रो भूमि खोसियो, धर्म खोसियो, भेषभुषा खोसियो र एकल जातीय चिन्तनलाई मात्र बढावा दिइयो । राज्यले गरेको यो विभेद कसरी सहन सकिन्छ ?’ सुकदेवीले उल्टै प्रश्न गरिन् । अझै थपिन्, ‘के तपाईं आफ्नो पुर्खाले निर्माण गरेको भूमि लुटियोस् भन्ने चाहनुहुन्छ ? यो देशमा हाम्रो पहिचान कहाँ छ ?’

पहिचानका मुद्दाहरुलाई उच्च जातीय अहंकारवादीहरुले अन्तरिम संविधानको कितावबाट हटाएको कारण आफ्नो हक र अधिकार नयाँ संविधानमा नसमेटिएको र फेरि संघर्ष सुरुवात गर्नु परेको सुकदेवीको तर्क छ । ‘हामीले केहि गर्न सकेनौं भने हाम्रा सन्तानहरु पनि यो देशमा आप्रवासी जस्तै अपमानित भएर बाँच्नु पर्नेछ । तर, छोरा-नातिलाई हामी आप्रवासी होइनौं, आदिवासी हौं भन्ने अनुभूति दिलाउन चाहन्छौं,’ हौसिँदै सुकदेवी थप्छिन्, हाम्रो पहिचानको अधिकार स्थापित नभएसम्म हामी हाम्रो छोरा-नातिको स्वाभिमान अनि आत्मसम्मानको लागि मर्न तयार छौं ।’

मजस्तो बाहुन चाहियो !

Suresh-Bhattarai

आन्दोलनमा सहभागी थिए सुनसरी इनरुवा वडा नम्बर १ का शुरेस भट्टराई । उनी भन्छन्, ‘यो देशलाई त म जस्तो बाहुन चाहिएको छ, जसले सबै जातिलाई समान देख्छ । मै खाउँ, मै लाउँ भन्दैन र मै रमाउ मात्र भन्दैन । भन्ने बेलामा साझा फूलबारी भन्ने ब्यवहारमा चाँहि बाहुनको फूलबारी बनाउने ? म त यो देशको चरित्रलाई बुझेको बाहुन हुँ ।  अरुले पनि बुझेका त होलान् पक्कै, तर, बुझ पचाएका छन् ।’

ललितपुर निवासी सुशीला शक्य ६२ बर्षमा लागिन् । उनी गठबन्धनको आन्दोलनमा उत्साहका साथ सहभागी भएकी थिइन् । निधारको पसिना पुछ्दै टन्टलापुर गर्मीमा पनि उनी नारा लगाउँदै थिइन् । उनको पीडा र माग पनि पहिचान कै थियो ।

‘हाम्रो पुर्खाले नेवाः प्रदेश बनायो । नेवाःलाई सुन्दर, शान्त र देशको मुटु बनायो । तर, एकलजातीय शासकहरुले हस्तक्षेप गर्दै आए । हाम्रो गुठ, संस्थान, मन्दिर र ऐतिहासिक सम्पदाहरुलाई संरक्षण कसैले गरेका छैनन् बरु मिलेसम्म आˆनै नाममा नामसारी गरेर ब्रम्हलुट गरे ।’

आङकाजीका शब्दबाण

Aankaji-Sherpa

जनजाति आन्दोलनका अगुवा मध्येका एक हुन् आङकाजी शेर्पा । आन्दोलनकारीसँग कुरा गर्दै जाँदा उनी आइपुगे । पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको लागि समेत आङकाजी (अ)प्रिय पात्र हुन् । उनी चिच्चाउन थाले, ‘ए भाइ, बाहुनवादी, नश्लवादी त्यो केपी ओली र तीनका मतियारहरुलाई हाम्रो कुरा पुर्‍याइदेऊ । अब हाम्रो हातमा दही जम्नेवाला छैन । जनताको शान्तिपुर्ण आन्दोलनलाई नजरअन्दाज गरे हामी हतियार उठाउनेछौं, होस् गरुन् ।’

कार्यकर्ताको बीचमा घेरिएर असिन-पसिन बनेका आङकाजीको जोशलाई हेर्दा लाग्थ्यो कि उनी अहिल्यै युद्धमा जानको लागि घरपरिवारसँग विदाबारी भएर निस्केका हुन् । उनले थपिहाले, ‘हाम्रो पहिचान अपहरणमा परेको कुरा थाहा छ कि छैन ? शासकहरुले किन अटेर गरेका छन् ? के खोज्या छन् हँ ?’

आङकाजीको शब्दबाण सुन्न नसकेर पंतिकार बहाना गरेर कोलाहलबाट निस्कियो । उता मानिसहरुको हुलमुलतिर लाग्यो ।

मेरा बाबै पोखराका तमू (गुरुङ) जति त जम्मै बाजागाजाका साथ नाचिरहेछन् । र भनिरहेछन् पहिचान दे ! पहिचान दे ! छिटो दे ! आजै दे ! भोलि नै दे !

त्यहि नाराबाजीमा नै होहो मा होहो मिलाउँदै थिइन् ३० वर्षीया विना गुरुङ । विनाको स्थायी घर कास्की, पोखरा हो । किन आउनु भएको काठमाडौं ? भन्ने प्रश्नलाई उनले लामो मुस्कान दिएर एकैछिन त टारिन् । मैले फेरि पनि सोधेँ, ‘बोल्न लाज लागेपछि कहाँ पहिचान पाइन्छ त नि दिदी ?’ अनि बल्न उनी खरररर बोल्न थालिन् ।

‘हाम्रो बाउबाजेहरुले तमुवानमा शासन चलाएका थिए रे । म पहिला तमुवानी र त्यसपछि बल्ल नेपाली हुँ । र तमुवानी नभइकन म नेपाली हुनै सक्दिन । किनभने नेपाली हुनको लागि पहिचान चाहिन्छ ।’

वयोवृद्धा दलकुमारी

Tamuwan-1

विनाकै साथ लागेर सिंहदरबार घेर्न आएकी थिइन् ७३ वर्षीया वृद्धा दलकुमारी गुरुङ । उनको घर पनि पोखरा नै हो । वृद्ध अवस्थामा पनि निकै जोश र फूर्तिका साथ आन्दोलनमा उपस्थित भएकी थिइन् उनी । तर, उनलाई आन्दोलनबारे धेरै जानकारी थिएन ।

यद्यपि उनले मुख खोल्दै भनिन्, ‘मलाई तमुवान चाहियो, मेरो पितृको आँशु, पसिना र रगतको भूमि चाहियो । छोराछोरी अनि नातिनातिनाहरू आफ्नै भूमिबाट भागिरहेका छन् । राज्यले रोक्न पर्छ कि पर्दैन ?’

उनले सोझै कुरा गरिन्, ‘जाँडपानी खानेलाई कसले नोकरी दिने पो भन्छ रे अड्डातिर । आफ्नो देशको छोरा-छोरी हो भने सहि बाटो दिने काम त नेताहरुको हो । हाम्रो तमुवान फिर्ता आयो भने हामीले यो भूमिलाई स्वर्गको टुक्रा जस्तो बनाउँछौं ।’

जय गोलेको आफ्नै नारा छ । ताम्सालिङ् लेखिएको आफ्नै ब्यानर छ । ‘ताम्सालिङ् विनाको नेपाल स्विकार गर्न सक्दैनौं । हाम्रो भेषभुषा र भाषा विनाको नेपालको कुनै पहिचान हुँदैन । पहिचान बिनाको तामाङ पनि हुँदैन’- यति बोलेपछि गोले खिस्स हाँसे ।

गोले थप्छन्, ‘देशलाई एकताको भावनामा जोडौं, सबै मिलेर सबैको पहिचानलाई रक्षा गरौं भन्दा लौ जातीय कुरा गर्‍यो, देश टुक्राउने भयो, बिखण्डन ल्याउने भयो भन्छन् । तर, हामीलाई जति यो देशको माया कसैलाई छैन । यदि यी अहंकारवादीहरुलाई यो देशको चिन्ता भएको भए हाम्रा सन्तानहरु विदेशमा किन दास झै बेचिनु परेको छ ?’

मुस्लिम धर्मलाई खोइ सहयोग ?

सिंहदरबार घेराउ गर्न बाँकेबाट आएका कलिम अहमद अर्फी त्यहाँको मुस्लिम समुदायका अगुवा हुन् । संविधानसभामा धर्म निरपेक्ष लेखिए पनि त्यसको परिभाषामा घुमाई फिराई हिन्दु राष्ट्रको रुपमा चित्रण गर्न खोजिएको उनको आरोप छ । यद्यपि जुनसुकै धर्म मान्ने नेपालीहरु बीचमा भावना, मायाको अभाव नभएको चाँहि उनी ठोकुवा गर्छन् ।

कलमी अहमद भन्छन्, ‘जनताको तहमा कुनै समस्या छैन, समस्या राज्यबाट भएको छ । अधिकार दिने कुरामा विभेद भयो ।’ अहमद अर्फी थप्छन्, ‘हिन्दु धर्मको आलोचना गर्नको लागि म यहाँ आएको होइन । म सम्मान गर्छु हिन्दु धर्मलाई किनभने म नेपाली मुस्लिम हुँ । तर, हाम्रो मदरसालाई किन उपेक्षा गरेको ? हाम्रो पवित्र मस्जिदहरुलाई किन नजरअन्दाज गरेको ? खै मुस्लिम धर्म रक्षाको लागि राज्यको सहयोग ?’

भारतीय चेलीको पीडा

पर्सा वीरगञ्ज स्थायी घर भएकी सीता यादव आन्दोलनमा सहभागी हुनकै लागि आएकी हुन् । उनी पनि निकै उत्साहित देखिन्थिन्, ‘हमने नाकाबन्दी किया, ताकि हमरा माग जल्दी समधान हो और सबको सुख मिलो । लेकिन राज्यने हमरा भाइ लोगका उपर गोलि चलाया । मासुम बच्चाको भि मारा । क्या गल्ती था उस्का ? गल्ती तो हमरा था, जो अपना पहिचान मागाता था क्यूकि हमने अप्ना पहिचान, हक और अधिकार मागाथा ।’

सीता यादव भारतीय चेली हुन्, अनि नेपालकी बुहारी । आफ्ना छोरा-छोरीले सरकारी उच्च तहमा प्रवेश गर्न नपाउने नियम बनाइएको भन्दै उनी निकै चिन्तित बनेकी छिन् । यति मात्र होइन, नागरिकता लिनको लागि पहाडीया हाकिमहरुको पाउमा छुनु पर्ने उनको अनुभव छ ।

सीता यादव हिन्दीमा आफ्नो समस्या सुनाउँदै थिइन्, आन्दोलन चलिरहेको थियो । नेता उपेन्द्र यादव भाषण गर्नको लागि अगाडि बढ्न थाले । म भने छिटो-छिटो कोठा तिर दौडिएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment