+
+
WC Series
Nepal
0/0
VS
Samoa
0/0
Shares

कैदीबन्दीको सम्पूर्ण जानकारी सूचना प्रणालीमा

रासस रासस
२०७३ जेठ ४ गते १०:३०

jail४ जेठ, काठमाडौँ । मुलुकमा विभिन्न अपराध गरेबापत जेल सजाय भोगेका कैदीबन्दीको तथ्याङ्क सजिलै थाहा पाउन कारागार व्यवस्थापन विभागले ‘कारागार व्यवस्थापन सूचना प्रणाली’को स्थापना गरेको छ ।

एउटा कैदीबन्दीको नाममा अर्को कैदीबन्दीले भुक्तान पाउने र जेलमुक्त हुने गरेपछि कारागार व्यवस्थापन विभागले यस्तो सूचना प्रणाली स्थापना गरेको हो । अदालतबाट मुद्दा फैसला भई कारागारमा सजाय भोगिरहेकालाई ‘कैदी’ र अदालतमा मुद्दा चलिरहेको तर फैसला नभएको र कारागारमा सजाय भोगिरहेकालाई ‘बन्दी’ भनिन्छ । हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजार कैदीबन्दी रहेका छन् ।

विभागका महानिर्देशक हिमनाथ दवाडीले सूचना प्रणालीमा कारागार जाने समय, कैदीको फोटो, कारागारमा बसेको समय, कैदीबन्दीको परिवार, कैदीबन्दीको सरुवा, कैदीबन्दीको हातेप्रिन्ट, कैदीबन्दीको मृत्यु, कैदीबन्दीको कारागारबाट निस्कने समय आदिको अभिलेख सूचना प्रणालीमा राखिएकोे बताए ।

उनले भने , “हामीले सम्बन्धित कारागारलाई ‘युजर नेम र पासवर्ड’ उपलब्ध गराउँछौँ, उहाँहरुले आआफ्नो कारागारको कैदीको अवस्थाबारे सूचना प्रणालीमा हाल्नुहुन्छ, हामीले विभागबाट सबैको बारेमा जानकारी लिन सक्छौँ ।”

दवाडीले सूचना प्रणालीका बारेमा पाँचवटै विकास क्षेत्रमा तालिम सञ्चालन गरेको र जेठ १ गतेदेखि प्रयोगमा ल्याइसकेको समेत उल्लेख गरे । हाल नेपालमा १६ हजार ३५२ पुरुष, एक हजार २८८ महिला, एक हजार ४६ विदेशी, २०० बालकैदी र ९६ आश्रित बालबालिका रहेका छन् । ७२ जिल्लामा रहेका कारागारमध्ये १९ जिल्लामा महिला कैदीबन्दी छैनन् ।

पछिल्लो समय गम्भीर अपराधमा कारागार सजाय भोगिरहेका अपराधीलाई पनि गणतन्त्र दिवस र विशेष पर्व दसैँ, तिहारमा ४० प्रतिशत कैद भुक्तान मिनाहा गर्ने प्रावधान सरकारले गरेको छ । यस्तै, ६५ वर्ष नाघेका कैदीबन्दीको हकमा भने अदालतको अन्तिम फैसलाको आधारमा २५ प्रतिशत कैद भुक्तान मिनाहा गर्ने व्यवस्था गरेको छ ।

गम्भीर प्रकृतिका घटना, जबर्जस्ती करणी, कैदबाट भागेको, लागुऔषध कारोबारी, बालबालिकाको यौनशोषण आदिलाई जति वर्ष तोकेको छ त्यति नै कारागार बस्नुपर्ने नियम छ ।

हाल धनुषा, भक्तपुर र बारामा कारागार छैनन् भने काठमाडौँ र दाङमा दुई दुईवटा कारागार रहेका छन् । काठमाडौँको सबैभन्दा ठूलो बन्दीगृह जगन्नाथ देवलस्थित भद्रगोल जेल हो भने सबैभन्दा सानो मनाङको जेल हो । भद्रगोल जेलमा दुई हजार ५०० को क्षमता रहेको छ भने मनाङमा मात्र छ जनाको क्षमता रहेको छ ।

विभागका सूचना अधिकारी वेदप्रसाद खरेलले नेपालका बन्दीगृहमा क्षमताभन्दा धेरै कैदीबन्दी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा १० हजार कैदीबन्दी राख्न मिल्ने ठाउँ छ तर कैदीबन्दी १८ हजार छन् ।” उनले  भूकम्पले कतिपय कारागारमा क्षति पुर्याँउदा अझ समस्या परेको बताए ।

गत वर्षको भूकम्पमा केन्द्रीय कारागार भत्किँदा १६ जनाको ज्यान गएको थियो भने सिन्धुपाल्चोकको चौतारा जेलबाट २१६ जना कैदीबन्दी भागेका थिए ।

नेपालको सबैभन्दा धेरै क्षमतामा कैदीबन्दी राख्न सकिने कारागारमध्ये केन्द्रीय कारागार (भद्रगोल जेल) दुई हजार ५००, सुनसरीको झुम्का कारागारमा एक हजार ५०० र वीरगन्ज कारागारमा एक हजार २०० रहेका छन् ।  फैसला कार्यान्वयन केन्द्र प्रयोगमा आएपछि नेपालमा कैदीबन्दीको सङ्ख्या बढेको विभागले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?