Comments Add Comment

खस्कियो सरकारी स्कुलको पढाई, बोर्डिङमा आकर्षण बढ्दो

school६ जेठ, चैनपुर । बझाङ जिल्लामा नाम चलेको सरकारी स्कुलमध्येको एक हो दुर्गा भवानी उच्च मावि । यस स्कुलमा कक्षा ७ सम्म पढेकी सविना विष्ट सदरमुकाम चैनपुरस्थित अञ्चल विद्यासदन बोर्डिङ स्कुलमा कक्षा ३ मा भर्ना भइन् ।

यसैगरी जालपा उच्च मावि देवलमा कक्षा ४ पढ्ने रोशन जोशी पनि बोर्डिङ स्कूलमा कक्षा २ मा भर्ना भएर पढिरहेका छन् ।

सरकारी स्कुलमा कक्षा २ सम्म पढेका रिलु गाविसका सिद्धराज जोशी र धमेनाकी शिला विकलाई बोर्डिङ स्कूलले एलकेजीमा भर्ना लियो ।

सरकारी विद्यालयको शिक्षाको गुणस्तर खस्केको भन्दै बझाङ जिल्लाका अधिकांश अभिभावकहरुले धमाधम सरकारी विद्यालयबाट आफ्ना बालबालिका निकालेर निजी बोर्डिङ स्कूलमा भर्ना गरिरहेका छन्, त्यो पनि दुई-तीन कक्षा घटाएर । सरकारी विद्यालयको शिक्षाले कक्षा मात्र चढाएको तर पढाइको गुणस्तर नभएको भन्दै कक्षा घटाएर भए पनि बोर्डिङमा भर्ना गर्ने अभिभावकहरुको लहर नै चलेको छ अचेल ।

‘सरकारी विद्यालयबाट आएका यहाँ १०-१२ जना विद्यार्थीलाई दुई-तीन कक्षा घटाएर भर्ना गरेकी छु,’ विद्यासदन बोर्डिङ स्कुलकी पि्रन्सिपल सरस्वती ढुंगेलले भनिन्, ‘सरकारी विद्यालयवाट आएको विद्यार्थी साह्रै कमजोर भएकाले कक्षा घटाएर राख्नुपर्ने बाध्यता छ ।’

कतिपय बोर्डिङ स्कूलहरुले भर्ना लिँदा विद्यार्थीहरुको प्रवेश परीक्षासमेत लिने गरेका छन् । प्रवेश परीक्षा लिँदा सरकारी स्कुलको निमावि तहमा पढ्दै आएका विद्यार्थीहरुले समेत जोड, घटाउ गुणन, भाग गर्न नजानेको शिक्षकहरु बताउँछन् ।

त्यहि अबस्था अभिभावकहरुलाई दर्शाएर सरकारी विद्यालयमा कक्षा ७ सम्म पढेकी सविना विष्टलाई बोर्डिङको कक्षा तीनमा भर्ना गर्न बाध्य भएको विद्या सदनकी पि्रन्सिपल ढुंगेलले बताइन् । ‘विद्यार्थीहरुलाई राम्रोसँग अक्षर चिन्न र पढ्न समेत आउँदैन मैले के गर्ने,’ उनले भनिन्, ‘त्यसैले कक्षा घटाएर भर्ना गर्नुको विकल्प छैन ।’

सरकारी विद्यालयमा कक्षा ४ पढेर आएका रोशनले बाह्रखरी लेख्न जानेनन् । २ मा पढ्ने सिलाले क, ख लेख्दा बिचका अक्षर नै छुटाइन् ।

सरकारी सरकारी विद्यालयका शिक्षकहरुले राम्रोसँग नपढाएकाले विद्यार्थीहरु कमजोर भएको दाबी स्थानीय अभिभावकको छ । त्यसैले दुःख गरेर भए पनि बोर्डिङमा पढाउन थालेको सदरमुकाम चैनपुरकी राधा वादीले बताइन् ।

‘सरकारी स्कूलमा २ कक्षामा पढ्ने छोरोले क, ख लेख्न पनि जानेन । त्यहि भएर यसपाली भारी बोकेरै भएपनि बोर्डिङमा भर्ना गरें,’ राधाले भनिन् ।

जिल्लाको एसएलसी नतिजा पनि सरकारीको भन्दा बोर्डिङ स्कूलको राम्रो छ । परीक्षामा राम्रो अंक ल्याएर पास हुने सबै विद्यार्थी बोर्डिङ स्कूलकै भएको मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कूलका पि्रन्सिपल जनक मल्लले बताए ।

‘बझाङ जिल्लाबाट एसएलसी परीक्षामा विशिष्ट र प्रथम श्रेणीमा पास हुने सबै बोर्डिङ बेसका विद्यार्थी छन्,’ मल्लले भने, ‘सरकारी विद्यालयका शिक्षकहरुको ईच्छा शक्तिको कमी र लापर्बाही भएका कारण गुणस्तरीय पढाई हुन सकेको छैन ।’

बझाङका सरकारी विद्यालयमा पढाईको अबस्था खस्कँदै गएको मौका छोपेर बझाङका गाउँ-गाउँमा निजी स्कुलहरु धमाधम खुलिरहेका छन् । जिल्ला शिक्षा कार्यालय बझाङले यस बर्ष मात्र जिल्लाभर २४ वटा निजी बोर्डिङ स्कुललाई अनुमति दिएको छ ।

:बोर्डिङमा आकर्षण बढेपछि बझाङका सरकारी विद्यालयमा विद्यार्थीहरुको संख्या न्यून भएको छ भने निजी बोर्डिङ स्कुलको संख्यासँगै विद्यार्थीहरु पनि बढीरहेका छन् ।

बोर्डिङ स्कुलको जस्तै सरकारी स्कुलहरुको पढाइको स्तर उकास्न स्थानीयले माग गरेका छन् । बोर्डिङलाई जथाभावि शुल्क असुल्नबाट रोक्नुपर्ने र सरकारी विद्यालयको पढाइको गुणस्तर उकास्नुपर्ने माझीगाउँका मेख रोकायाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment