Comments Add Comment

जोखिममा जैविक विविधता

सन्दर्भः जैविक विविधता संरक्षण दिवस

भौगोलिक तथा पारिस्थितिक विविधताको उपजस्वरुप श्रृजित प्रजातिगत तथा आनुवांशिक विविधता नै जैविक विविधता हो । वास्तवमा भन्ने हो भने पृथ्वीमा भएको सुक्ष्म तथा  स्थूल जीव अनि वनस्पतिको समष्टीरुपलाई नै जैविक विविधताको रुपमा लिइन्छ । जैविक विविधतालाई अणु वा अनुवंशको सुक्ष्मतम तहदेखि लिएर वृहत् पारिस्थितिक तहसम्म अध्ययन गर्न सकिन्छ ।

जीवशास्त्रीहरुले पृथ्वीमा रहेका करीब १५ लाख जीब तथा वनस्पतिको प्रजातिहरु पत्ता लगाइसकेका छन् भने अझै तीस लाखदेखि एक करोड प्रजातिहरुको पत्ता लाग्नसक्ने बताउँदै आएका छन् । यसबाट पनि बुझ्न सकिन्छ की, पृथ्वीको जैविक विविधता कति व्यापक छ भनेर । पृथ्वीका हरेक जैविक र अजैविक तत्वहरु एक आपसमा अन्तरसम्बन्धित हुन्छन् जसको चक्र प्रणालीबाट जीबको अस्तित्व सम्भव हुन्छ । कुनै पनि तत्व लोप भएर गयो भने त्यसको असर समग्र प्रणाली वा चक्रमा पर्न जान्छ जो दूरगामी हुन्छ । पछिल्लो समयमा मानव्ाीय क्रियाकलापका कारण जैविक विविधता नाश हुदै जाँदा यहि सनातन पारिस्थितिकीय चक्रमा असर पर्दैछ । जनसंख्या वृद्धिका कारण प्राकृतिक श्रोतको अत्यधिक दोहन तथा बासस्थानको विनास अनि बढ्दै गएको जलवायु परिवर्तन र विश्व उष्णीकरणका कारण जैविक विविधता संकटमा परिरहेको बताइन्छ ।

Kulchandra-Aryalसंकटमा पर्दै गएको जैविक विविधताको रक्षाको लागि अन्तराष्ट्रिय स्तरमा अभियान सञ्चालन गर्ने ध्ययले यो वर्ष पनि सधैं झै मे २२ तारिख आज जैविक विविधता दिवस मनाइँदै छ । जैविक विविधता महासन्धीमा हस्ताक्षर भएको दिनको उपलक्ष्यमा संयुक्त राष्ट्रसंघको महासभाले सन् २००० बाट हरेक वर्ष यो दिवस मनाउने घोषणा गरेबमोजिम नेपालमा आइतबार जैविक विविधता दिवस ‘दीगो जिविकोपार्जनका लागि जैविक विविधताको मूलप्रवाहीकरण गरौं’ भन्ने नाराका साथ मनाइँदैछ । मानवीय क्रियाकलापका कारण पृथ्वीबाट कैयन जीबजन्तुका वंश नै समाप्त भैसकेका छन् भने कुनै अति नै संकटापन्न अबस्थामा पुगिसकेको सन्दर्भमा भावी संकट टार्नको लागि मानव समुदायले जैविक विविधता रक्षामा कदम चाल्नु अपरिहार्य बनिसकेको छ ।

तथ्यांकहरुले बताइरहेका छन्, वासस्थान विनाशको कारण दैनिक करीब १४० प्रजातिका वनस्पति तथा प्राणीहरु हामीबाट लोप हुँदै गइरहेका छन् जसअनुसार वर्षेनी करीब ५० हजार प्रजाति हराइरहेका छन् । जैविक विविधता विनाशको यही रफ्तार कायम रहने हो भने सन् २०५० सम्ममा हामीबाट विश्वमा भएका ५० प्रतिशत जीब तथा वनस्पति लोप भएर जाने कतिपय वैज्ञानिकहरुको ठहर छ ।

लण्डनस्थित जुलोजिकल सोसाइटीका अनुसार सन् १९७० यता मानवीय क्रियाकलापका कारण पृथ्वीमा भएका करीब १ तिहाइ बन्यजन्तु लोप भैसकेका छन् । बढिरहेको मरुभुमिकरण र जलवायुको परिवर्तनले १२ सयभन्दा बढी चराका प्रजाति संकटापन्न अबस्थामा पुगेको एक सर्वेक्षणले देखाएको छ । त्यस्तै ३२ प्रजातिका शंखे किरा पनि लोपोन्मुख भएको वन्यजन्तु विदहरुको एक अध्ययनले देखाएको छ ।

अन्तराष्ट्रिय स्तरमा वन्यजन्तुको अवस्था अत्यन्तै चिन्ताजक छ । विगत तीस वर्षमा मात्रै जमिनमा बस्ने वन्यजन्तुको संख्या २५ प्रतिशतले घटेको छ । सामुद्रिक जीबको संख्या २८ प्रतिशतले घटेको छ भने नदीनाला लगायतका जलचर जीबको संख्यामा २९ प्रतिशतले कमी आएको छ ।

मानवी क्रियाकलापको कारण प्रत्येक वर्ष एक प्रतिशत वन्यजन्तु नासिने क्रममा रहेको जुलोजिकल सोसाइटीले जनाएको छ । अफि्रकन एन्टीलोप, डलफिन, सार्क माछा, एसियाली गिद्धलगायतका केही जीबहरु लोप हुने चरणमा रहेको सो संस्थाको अनुमान छ । डाइक्लोफिनाक नामक विषादीको प्रयोग नरोकिएमा आगामी दश वर्षमा एसियाली गिद्ध पुरै लोप हुने चेतावनी दिइएको छ । सन् १९९२ यता मात्रै ९९.९ प्रतिशत गिद्धको संख्या घटिसकेको बताइएको छ ।

हामीसँग जैविक विविधताको खानी रहेपनि यसको महत्व र संरक्षणको बारेमा चेतना नहुँदा यो हाम्रो लागि आकाशको फल सावित भएको छ

 जैविक विविधता र नेपाल

भौगोलिक हिसाबले विश्वको कुल भूभागको केवल ०.१ प्रतिशत हिस्सा ओगट्ने भएपनि जैविक विविधताको हिसाबले नेपालले विश्वको करीब ४ प्रतिशत हिस्सा ओगट्छ । आर्थिक विकास र मानव विकास सुचकांकको आधारमा नेपाल पछाडि रहेपनि जैविक विविधताको आधारमा नेपाल विश्वमै २५ औं र एसियामा ११ औं स्थानमा पर्छ । नेपालमा ११८ किसिमका पारिस्थितिक पद्धति पाइन्छन् । विश्वमा पाइने कुल जीब प्रजातिको १.१ प्रतिशत र कुल बनस्पती प्रजातिको ३.२ प्रतिशत नेपालमा पाइनुले पनि हामी जैविक विविधतामा कति धनी छौं भन्ने प्रष्ट हुन्छ ।

एक तथ्यांकअनुसार नेपालमा ८७८ प्रजातिका चरा, १८६ प्रजातिका माछा,  २०७ प्रजातिका स्तनधारी जीब, ६५३ प्रजातिका पुतली, ७ हजार प्रजातिका फूल फूल्ने बिरुवा, २४६ प्रजातिका महत्वपूर्ण जडिबुटी, ५ हजार प्रजातिका किराफट्यांग्रा, ४ सय प्रजातिका बहुवर्षीय बाली तथा ६० प्रजातिका जंगली खाद्य फलफूल पाइन्छन् । यी प्राणी र वनस्पतिका प्रजातिमध्ये कैयन् प्रजाति रैथाने प्रजातिका रुपमा छन् । हामीसँग जैविक विविधताको खानी रहेपनि यसको महत्व र संरक्षणको बारेमा चेतना नहुँदा यो हाम्रो लागि आकाशको फल सावित भएको छ ।

बढ्दो सहरीकरण, प्रदुषण तथा विश्व जलवायु परिवर्तनका असरहरुको कारण नेपालको जैविक विविधता पनि नराम्ररी प्रभावित हुन पुगेको छ । जैविक विविधता संरक्षणका लागि प्रयाप्त प्रभावकारी कदम चालिएको छैन भने सर्वसाधारणको बीचमा जैविक विविधताको महत्वको ज्ञानसमेत पुग्न सकेको छैन ।

हुन त संस्थागत रुपमा सन् १९७३ मा राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन कार्यान्वयनमा आएसँगै औपचारिक रुपमा सुरु भएको जैविक विविधता संरक्षणको दायरा  अहिले फराकिलो भएको छ र नेपालको कुल भूभागको करीब २३ प्रतिशत भूभागलाई संरक्षित क्षेत्र बनाएर जैविक विविधताको रक्षा गर्ने प्रयास गरिएको छ । तर, अझैपनि त्यो प्रयाप्त देखिएको छैन । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, वातावरण संरक्षण ऐन, जलचर संरक्षण ऐनलगायतका राष्ट्रिय कानुनको साथै रियो द जेनेरियोमा भएको जैविक विविधता महासन्धी तथा अन्तराष्ट्रियस्तरका धेरै सन्धीहरुमा नेपालले हस्ताक्षर गरेको छ ।

संरक्षणमा स्थानीय सहभागिता र लाभको बाँडफाँड गर्ने गरी जनसहभागितामूलक संरक्षण अवधारणा अनुरुप जनताको सहभागितामा आधारित जैविक विविधता संरक्षणलाई अगाडि बढाउन मध्यवर्ती क्षेत्र कार्यक्रम, पार्क पिपुल प्रोग्रामलगायतका जनमुखी संरक्षण कार्यक्रमले जैविक विविधताको संरक्षण गर्ने कार्यमा जनसहभागिताको अभिवृद्धि गर्न टेवा पुराउदै आएका छन् ।

जैविक विविधता र जिविकोपार्जन

जैविक विविधता जिविकोपार्जनको मुख्य श्रोत हो । विभिन्न वनस्पती तथा जीबजन्य उत्पादनहरुबाटै हाम्रा आवश्यकताहरु परिपूर्ति हुन्छन् । जैविक विविधताबाटै प्राप्त बस्तु तथा सेवाहरुबाट दैनिक जिविकोपार्जनका साथै बस्तु विनियम र व्यापार सम्भव हुँदै आएको छ । नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खानयोग्य रहेको र तीमध्ये २ सय प्रजातिको खेति गरिँदै आएको तथ्यांक छ । विश्व अर्थव्यवस्थाको ४० प्रतिशत र न्यून आय भएका मुलुकका जनताको ८० प्रतिशत आवश्यकताहरु जैविक विविधताबाटै प्राप्त हुने गरेका छन् । हाम्रा धेरै जाति जनजातीहरुको विभिन्नखाले बनस्पतीहरुसँग अन्योन्याश्रति तथा सांस्कृतिक सम्बन्ध नै छ भने हाम्रो धर्मशास्त्रमा विभिन्न जीब तथा वनस्पतीलाई पवित्र मानेर पूजाआजा नै गर्ने गरिन्छ  । यस अर्थमा जैविक विविधता जीबनशैलीको एक पाटोको रुपमा रहेको छ ।

जैविक विविधता संरक्षणको सवाल हरेक नागरिकको मुख्य कर्तव्य बन्नुपर्छ अनि प्राकृतिक श्रोतमाथिको अधिकार नागरिकको मौलिक हक बनाइनुपर्छ

जैविक विविधता संरक्षणका चुनौति

एकातिर जलवायु परिवर्तनका कारण जीबजन्तु तथा वनस्पतिका लागि वातावरण प्रतिकुल बनिरहेको छ भने अर्कोतिर बासस्थानको विनाश र प्राकृतिक साधनका दोहनका कारणले गर्दा जैविक विविधता संकटमा परिरहेका छन् । विश्वको तापमानमा लगातार वृद्धि भैरहेको छ । अर्को शताब्दीसम्ममा विश्वको तापमान करीब ४ प्रतिशतसम्मले बढ्ने खतरा रहेको अनुमान बैज्ञानिकहरुले अनुमान गरेका छन् । जलवायु परिवर्तनको कारण विश्वमा प्राणी तथा वनस्पतिको प्रजनन र उत्पादन क्षमतामा पनि असर पारेको छ । विभिन्न चराको अण्डा पार्ने र कोरल्ने समय परिवर्तन हुँदै आएको छ । कोरलिएका चल्लाहरुमा अनौठो गुण देखिने, उत्परिवर्तनबाट अशक्त र अनुत्पादनशील बन्ने तथा विभिन्न कृषि बालीको फल लाग्ने र पाक्ने समयसमेत नियमित नहुने र उत्पादन घट्ने समस्याहरु पनि जलवायु परिवर्तनबाट सिर्जित समस्या हुन् । जलवायु परिवर्तनको कारण वायुमण्डल तातिदै जाँदा उष्णीय क्षेत्र वन्यजन्तु र वनस्पतिका लागि प्रतिकुल बन्दै गइरहेको छ भने, जलश्रोतको विनाशले जीब वनस्पतिको अस्तित्वमाथि प्रश्न उठाइदिएको छ ।

वनजंगल वा बासस्थानको विनास पनि जैविक विविधता विनाशको मुख्य कारक बनिरहेको छ । जंगल विनाशसँगै त्यसमा आश्रित जैविक विविधता नष्ट हुँदैछ । पछिल्ला अध्ययनहरुले भूमध्यरेखीय उष्ण जंगलक्षेत्रको विनाशदर अति तिब्र बन्दै गएको देखाएको. छ । नेपालमा पनि प्रतिवर्ष १.३ प्रतिशतका दरले वनविनाश भैरहेको छ ।

अबको दायित्व

सबै प्राणी र वनस्पति प्रकृतिका अनुपम श्रृष्टि मात्र होइनन् अभिन्न अंगसमेत हुन् जसको अभावमा मानवअस्तित्व सम्भव छैन । त्यसैले जैविक विविधताको संरक्षणप्रति हामी सबैको चासो जाग्नु आवश्यक छ । त्यसको लागि जैविक विविधता संरक्षणको सवाल हरेक नागरिकको मुख्य कर्तव्य बन्नुपर्छ अनि प्राकृतिक श्रोतमाथिको अधिकार नागरिकको मौलिक हक बनाइनुपर्छ ।

नेपालमा संविधान कार्यान्वयनको प्रकृया अघि बढिरहेको छ । अब बन्ने नयाँ संघिय राज्य संरचनामा प्राकृतिक श्रोत र साधनको समुचित वितरण, श्रोत र साधनमाथि जनताको अपनत्व वोध र संरक्षणको जिम्मेवारी वोध गराउने कानुन बन्नु आवश्यक छ । वन पैदाबार र वन्यजन्तुको तस्करी गर्नेहरुलाई राजनीतिक संरक्षण दिने र प्राकृतिक श्रोतको रक्षा तथा दीगो उपयोगको जिम्मा संरक्षणकर्ता जनताले नै पाउनुपर्छ । जनसहभागितामा आधारित पर्यावरण संरक्षण र लाभको समुचित वितरण अबको वातावरणीय कानुनको ग्यारेन्टी गरिनुपर्छ । जसले मात्रै वन्यजन्तु र जैविक विविधता संरक्षणको सवाललाई मुर्तरुप दिन सहयोग पुराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment