Comments Add Comment

वीरेन्द्र राजाकी दिदीको सेवा गर्दा प्रेमबहादुरको बिल्लीबाठ !

दरबार हत्याकाण्डसँगै निम्तिएको वियोग

Prem-Bahadur-Singh

२१ जेठ, काठमाडौं । दरबारको सेवा गरेवापत मालामाल हुनेहरु धेरै छन् । दरवारियालाई खुसी बनाएवापत सुन, जवाहरत र काठमाडौमा घर जग्गा जोडेर भविश्य उज्यालो बनाएकाहरु धेरै छन् । तर, दरबार छिरेका कोही मान्छे यस्ता पनि भेटिए, जसको दरबारकै कारण बिल्लीबाठ भएको छ ।

दरबारको सेवा गरेवापत महंगो धोका पाएका तत्कालीन प्रहरी इन्सपेक्टर प्रेमबहादुर शाहको दुःखको कथा कम्ति टीठलाग्दो छैन । उनी भन्छन् -जेठ १९ मा दरवार हत्याकाण्ड नभएको भए मेरो यो हालत हुँदैनथ्यो ।’

सिंहको ड्युटी शान्ति सिंह निवास (स्व.राजा बीरेन्द्रकी जेठी दिदीको घर) मा थियो । राजपरिवारसँग उनको सम्बन्ध निकट भएकै कारण उनको ड्युटी प्रायः दरबारका ठूला नातेदारकँहा हुन्थ्यो ।

धेरै वर्ष काम गरेका कारण पनि उनको सिंहसँग निकै राम्रो सम्बन्ध थियो । सामान्य चाडपर्वमा मात्रै हैन, परिवारमा केही समस्या परेको थाहा पाइन् भने पनि निकै चनाखो भएर सोधीखोजी गर्थिन् । प्रेमबहादुर भन्छन् ‘शान्ति सिंह निकै दिलदार हुनुहुन्थ्यो । सकेसम्म सबैको राम्रै होस् भन्ने चाहनुहुन्थ्यो ।’

शान्तिलाई प्रेमबहादुरको घर, सम्पति र आर्थिक स्थितिबारे राम्रोसँग थाहा थियो । सकेसम्म आफ्नोमा काम गर्नेहरुको आर्थिक स्थिति राम्रै होस् भन्ने चाहन्थिन् शान्ति ।

एक दिन प्रेमबहादुर ड्युटीमै थिए । शान्ति सिंहले बोलाएको आदेश दियो कसैले । अफिसमा पुगेलगत्तै शान्ति सिंहले सिधै भनिन् ‘तिम्रो सतुङ्गलमा रहेको जग्गा मेरा मान्छेलाई पास गरिदिन पर्ने भो, म तिमीलाई मेरो बल्खुको जग्गा दिन्छु ।’

प्रेमबहादुर अक्क न बक्क भए । कुनै प्रतिक्रिया जनाएनन् । पछि उनले शान्ति सिंहको नाममा रहेको बल्खुको जग्गाका बारेमा सोधपुछ गरे ।

सतुङंगलमा प्रेमको चार रोपनी जग्गा थियो । बल्खुमा शान्ति सिंहको नाममा ५ रोपनी १४ आना जग्गा रहेछ । आफ्नो भन्दा धेरै भए पनि मुल्य निकै कम थियो ।

प्रेमबहादुरले शान्तिलाई भेटेर भने ‘हजुरको भन्दा मेरो जग्गा महंगो छ । कसरी मिलाउने ?’ साट्दा मात्रै त अलि नहोला कि ? पास गर्ने नै हो भने एकै दिन गरुम् ।’

प्रेमबहादुरको कुरा सुन्ने बित्तिकै शान्तिले प्रश्न गरिन्- ‘तिम्लाई मेरो विश्वास लाग्दैन ? तिमी त मेरो ज्वाइँ पनि हौ ।’

दरवारसंग निकट सम्बन्ध भएकै कारण प्रेमको विवाह पनि दरवारसँग साईनो जोडिएकी राजुकुमारी शाहसँग भएको थियो । शान्तिले कहिलेकाँही ज्वाइसा’ब भन्थिन् ।

शान्ति सिंह आफैंमा उनकी अभिभावकजस्तो थिइन् । त्यसकारण उनले थप शंका गरेनन् र शान्ति सिंहकै आदेश अनुसार शान्तिकी नन्द मीना शाहलाई ८ आना, भतिजी प्रीति सिंहलाई ८ आना, राजेन्द्र बहादुर सिंहलाई ८ आना र देउरानी परि सिंहलाई ८ आना जग्गा पास गरिदिएको बताउँछन् ।

त्यस्तै कामदार सुनिता गुरुङलाई १० आना, अर्की कामदार बिनिता गुरुङलाई ४ आना र इन्द्रबहादुर गुरुङलाई चार आना पास गरिदिएको प्रेमबहादुरको भनाइ छ ।

अनलाइनखबरसँग प्रेमबहादुर भन्छन्- सतुंगलको जग्गा ०४७ सालमा पास गरेर दिएपछि म बल्खुमा शान्तिको जग्गामा सरेँ ।’ आफ्नो जग्गा दिएपछि बल्खुमा रहेको पाँच रोपनी १४ आना जग्गा प्रेमबहादुरको भयो । तर, मालपोतवाट पास हुन बाँकी थियो ।

‘बल्खुको जग्गा तिम्रो हो, बारबेर गरेर राम्ररी बस’ शान्ति सिंहले भनेकी थिइन् । सबैभन्दा पहिला उनले कम्पाउण्ड घेरे । कम्पाउण्ड घेर्दा मात्रै १६८ टि्रप त ढुंगै लाग्यो । इट्टा त कति हो कति । लगत्तै उनले दुईटा घर बनाए ।

प्रेमबहादुर भन्छन् ‘छोराछोरी श्रीमती सबै खुसी थिए । हामी एकआपसमा रमाएर बस्यौं ।’ जग्गा पास गरेर दिएको दुई तीन वर्षपछि श्रीमति र छोरीहरुले भन्न थाले ‘आफ्नो जग्गा पास गरेर दिएपछि यो चाँहि पास गर्नुपर्दैन ?’

‘शान्ति सरकारले चिन्ता नलिनू भनिबक्स्या छ’ परिवारका सदस्यलाई प्रेमबहादुरले आश्वस्त बनाउन खोजे, तर उनीहरु मानेनन् । ‘ए हजुर मलाई त केटाकेटीले जग्गा किन पास नगरेको भनेर हैरान गरे ।’ शान्ति सिंहलाई भेटेरै उनले भने ।

शान्तिले मुसुक्क हाँस्दै भनिन् ‘चिन्ता नगर म छउन्जेल केही हुन्न ।’घरमा आएर उनले त्यही भने । ‘शान्ति सरकारले चिन्ता नलिनु भनिबक्स्या छ ।’ तर, श्रीमती र छोराछोरीले मानेेनन् । जग्गाकै विषयमा किचलो भएपछि फेरि शान्ति सिंहलाई भेटेर उनले कुरा गरे । ‘मेरो त घरमा आपतै पर्‍यो ।’ यस्तो सुनेपछि शान्तिले आदेश दिइन् । ल, जेठ २९ गते सबैलाई बोलाऊ म पनि आउँछु र पास गरिदिउँला ।’

त्यही अनुरुप उनले मालपोतका लेखापालदेखि सम्बन्धित सबैलाई निम्ता गरे । तर, जेठ २९ गते जग्गा पास गर्ने कुराले दंग प्रेमबहादुरको सपना ०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डले तुहाइदियो । त्यही घटनामा शान्ति सिंहको निधन भयो ।

आफै बस्दै आएको घर पनि बिरानो भयो प्रेमका लागि । शान्ति सिंहका जेठा छोरा विनोदविक्रम सिंहले प्रेम बहादुर बसिरहेको घर र जग्गा आफ्नो दाबी गर्दै प्रहरी लगाएर खेदाउन खोजे ।

Prem-Bahadur-Singh1

सम्पत्ति नभए पनि पञ्चायतकालमै प्रहरी इन्सपेक्टर भएका प्रेमबहादुर पनि त्यतिकै कहाँ डग्छन् र । ‘म यत्तिकै कहाँ छोड्छु र, अदालतले मलाई न्याय दिन्छ भन्नेमा आशावादी छु ।’ अहिले अदालतले निषेधाज्ञा जारी गरेपछि आफूलाई अलि सजिलो भएको बताउँछन् उनी ।

अहिले यो जग्गाको लफडा अदालतसम्म पुगेको छ ।

राति १० बजे श्रीमतीले घर छाडी

जब घरको विषयमा शान्ति सिंहका छोराहरुले किचलो सुरु गरे । श्रीमती, छोरा र छोरीहरुसँग प्रेमबहादुरको सम्बन्ध क्रमशः बिग्रन थाल्यो । उनी भन्छन् ‘आफ्नो सम्पति सबै बुझाइहाल्यौ, भनेर उनीहरु गुनासो गर्थे ।’ तैपनि, म मिलाउँछु चिन्ता नगर भनेर आश्वस्त पारेका थिए उनले ।

तर, ०६२ साल फागुन १० गते राति १० बजेतिर प्रेमबहादुरलाई अर्को विपद आइलाग्यो । भान्सामा सब चिज ठिक्क थियो । दाल, भात र तरकारी तातै थियो । तर, श्रीमती थिइनन् ।

सोचे, कतै गएकी होली । उनले तातो भात खाए । तर, श्रीमती आइनन् । त्यसपछि आजसम्म उनलाई थाहा छैन, श्रीमती राजुकुमारी शाह कहाँ छिन् ? उनी भन्छन्-‘खै मैले अहिलेसम्म भेटेको छैन, सम्पत्ति जिम्मा लगाइहाल्यौ भनेर ऊ सधैं बिरक्तिन्थी ।’

बुढेसकालमा घर छाडेकी श्रीमतीको यादले उनलाई जति सताउँछ, त्योभन्दा पनि नमज्जा लाग्छ आफ्नै सम्पत्तिको पाहुना हुनुपर्दा । प्रेमबहादुर भन्छन् ‘सतुङगलको आफ्नो जग्गा देख्दा अहिले आँखाबाट आँशु आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment