+
+

समाजशास्त्रमा डिग्री गरेका दम्पती व्यवसायिक गाईपालनमा

आरपी सुवेदी आरपी सुवेदी
२०७३ जेठ २२ गते १३:१३

cow2२२ जेठ, नेपालगन्ज । ‘धेरै पढेका मान्छे गोठालो भएर बसेका छन् ।’ बाँके कोहलपुरका विष्णु पोख्रेल र शारदा पोख्रेलका विषयमा छरछिमेकले लख काट्ने शब्द हुन् । समाजशास्त्रमा स्नातकोत्तरसम्म शिक्षा हासिल गरेका पोख्रेल दम्पतीले आठ वर्षदेखि गाईपालन थालेपछि उनीहरुलाई यसो भन्न थालिएको हो ।

‘टिरलिङ् टिरलिङ’ गरी जोडले बज्ने घडीको अलार्म घन्टीले विहान ४ बजे नै विस्तारा छोड्न बाध्य तुल्याउँछ । आफुसँगै जीवन साथी शारदा विहानै गाईवस्तुको सरसफाइ, दाना पानी गर्नमा नै व्यस्त हुन्छन्, विष्णु ।

‘बुढाबुढीको काम नै गाईको दुध दुहुनु र दानापानी दिनु हो’-फिस्स हाँस्दै एकै सासमा उनले भने । उनीहरु गाई पालन गर्ने किसानको जोडीका रुपमा आफ्नो पहिचान समेत बनाउन सफल भएका छन् ।

पहिले भुमि अधिकार मञ्चमा ८ वर्षसम्म जागिरे रहेका विष्णुले त्यो जागिर अहिले छाडिसकेका छन । विष्णुकी जीवन संगिनी शारदाले भने अझै महिला उपकार मञ्च कोहलपुरमा लघु वृत म्यानेजर पदमा कार्यरत छिन । दुवैले सामाजशात्रमा स्नाकोत्तर गरेका छन ।

उनीहरुमा शुरुमा सरकारी जागिर खाने रहर जागेपनि गाई पालन शुरु गरेपछि त्यो रहर जाग्न छाडेको छ । २०६८ सालमा बर्दियाको पशुपति नगरबाट एउटा जर्सि गाई २२ हजारमा खरिद गरेर घरमा ल्याउदा शुरुमा गाई राख्ने गोठ नै थिएन अहिले गाईको संख्या ३५ पुगेको छ । बाच्छाबाच्छी गरेर ४० ।

घरमा गोवर ग्याँस भएकाले त्यसलाई प्रयोगमा ल्याउन गाई भित्राएका पोख्रेलले विस्तारै दूध पनि विक्री गर्न थाले । उनले अर्को गाई पनि केही महिनाभित्रै खरिद गरे र पालनपोषण गर्न थाले । पोख्रेल दम्पतिलाई लाग्न थाल्यो कि दुईवटा गाई पाल्दा दिनुपर्ने समय र अरुलाई पनि दिने समय बराबर लाग्ने भएपछि उनीहरुले थप गाई खरिद गरेर ६ वटा बनाएर जिल्ला पशु सेवा कार्यलयमा प्रकृति नामबाट गाई फार्म दर्ता गरे ।

अहिले उनीहरुसगँ साना ठूला गरेर ४० वटा छन । माउ गाई ३० वटा, ५ वटा कोरली, ३ बाच्छी र २ बाच्छा रहेका छन । ४० वटा गाईको स्याहार गर्नक लागि एकजना सहयोगीबाहेक उनीहरु आफै खटेका हुन्छन् ।

कोहलपुर साझा चोक नजिकै रहेको पोख्रेल दम्पतिको गाई फार्ममा दुध दिन आउनेहरुको विहानै देखिनै भिडभाड हुने गर्छ । ‘प्रायः दुध घरबाटै विक्री हुन्छ’- शारदाले भनिन्-‘बाँकी रहेको दूध नजिकैको सिर्जना दूध डेरीमा विक्रीका लागि लैजान्छौ ।’

दैनिक १ सय ५० लिटर दूध विक्री गर्ने उनीहरुले प्रतिलिटर ६० का दरले घरमा आएका ग्राहकलाई र डेरीमा ल्याक्टो र फ्याटका आधारमा ३८ देखि ४२ रुपैयाँसम्म विक्री हुने गरेको बताउँछन् । उनीहरुले घरमा पनि ध्यु विक्री हुन्छ । मोहि पार्नका लागि आधुनिक मेसिन समेत ल्याएका छौ पोख्रेलले भने । ‘जिल्लामा रहेका अधिकांश फर्महरु खुल्ने र बन्दहुने अवस्थामा छन् । तर, हामी सानोबाट सुरुवात गरेर अहिले यो अवस्थामा पुगेका छौं । हामी खर्च सबै कटाएर अहिले फाइदामा छौं, आम्दानी बढेसँगै उत्साह पनि बढेको छ,’-उनले भने ।

आम्दानीको ५० प्रतिशत खर्च हुने भए पनि ५० प्रतिशत बचत हुने गरेको उनको भनाइ छ । उनले व्यवसायिक गाई पालन गरेको आम्दानीले गाई थप गर्ने, छोराछोरीलाई काठमाडौमा पढाउने, गोठ सुधार गर्ने भएका ऋण तिर्ने गर्ने गरेका छन । १ सयवटा गाई पाल्ने लक्ष्य अनुरुप व्यवसायलाई अगाडि बढाउँदै लगेको कृषक शारदाले बताइन् । पालेका गाईबाट राम्रो उत्पादन लिन पौष्टिक घाँस खुवाउने गरेका छन् ।

घाँसमा नेपियर, इपिल, किम्मु , वर्सिम, मकैचरी आदि लगाएका छन । गाईलाई घाँसले मात्र अघाउन नसकिने हुँदा भुँस र परालसमेत खुवाउँदै आएका छन् कृषक पोख्रेल दम्पतिले । भुँस र परालको लगानी गोबर मलले उठाउँदै आएको छ ।

व्यवसायिकरुपमै गाई पालन गर्दै गर्दा दूध विकास बोर्डले १ लाख पशु उत्पादनका लागि उनीहरुलाई रकम सहयोग गरेको छ । त्यस्तै जिल्ला पशु सेवा कार्यालय बाँकेले पनि प्रावधिक सरसहयोग, घाँसको बिउ लगायतको सहयोग गरेको छ । पशुपालनले आफुहरुको जोस जाँगरलाई थप बढाउँदै लगेको पोख्रेल दम्पतिको अनुभव छ ।

उनले आफ्ना सम्पूर्ण गाईहरुलाई १६ लाखको बीमा पनि गराएका छन् । गत वर्ष राष्ट्रपति उत्कृष्ट पुरस्कार समेत प्रकृति गाई फार्मले प्रात गरेको छ । अहिलेको साविक स्थानमा गाईको गोठ सानो भएकाले कोहलपुरकै चप्परगौरीमा अर्को गोठ बनाएर गाईको व्यवस्था मिलाएको उनले बताए ।

cow2

cow3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?