+
+
रास्वपा सांसद कठायतको आक्रोश :

‘एनजीओको रक्सी खाएर हाम्रा नेताको कुरा काट्ने ?’

एनजिओको रक्सीमा मात्तिएका कांग्रेस–एमालेका सांसदले आफ्नो पार्टीका नेताका व्यक्तिगत विषयमाथि अमर्यादित टिप्पणी गरेको रास्वपा सांसद कठायतको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते २२:०२

१० माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतको आक्रोशपूर्ण अभिव्यक्ति यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । उनले त्यो आक्रोश प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा व्यक्त गरेकी हुन् ।

बुधबारको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले डढेलो प्रकोपको क्षति न्युनीकरणमा भइरहेका सरकारी प्रयासबारे छलफल राखेको थियो । सरकारले गरिरहेको कामको रिपोर्ट सुन्ने र आवश्यक निर्देशन दिने काममा समिति जुट्नुपर्ने थियो ।

तर, बैठकको माहोल भइदियो अर्कै । बैठकमा धारणा राख्न समय लिएपछि रास्वपा सांसद कठायत निकै आक्रोशित रूपमा प्रस्तुत भइन् । तीन मिनेट तीन सेकेन्डको उनको आक्रोशपूर्ण अभिव्यक्तिले समितिका सांसदहरूले कसरी आफ्नो गरिमा धुजाधुजा पारिरहेका छन् भन्ने देखाइदियो । त्यसो त मर्यादा भुल्ने सवालमा सांसद कठायतले पनि समितिको बैठकमा आफूलाई पछि राखिनन् ।

घटना एकसाता अघिको रहेछ । एक साताअघि गुठी जग्गाको स्थलगत अनुगमन गर्न समितिका सदस्यहरू साताव्यापी अनुगमनका लागि पोखरा गएका थिए । सांसद कठायतले सुनाएअनुसार समितिका सदस्यहरू आफ्नो मुख्य काम गर्नभन्दा रक्सी सेवन गरी रास्वपाका नेताका व्यक्तिगत विषयमा चर्चा गर्न व्यस्त रहे ।

जतिबेला आफ्ना पार्टीका नेताहरूका बारेमा व्यक्तिगत चर्चा गरिँदै थियो, त्यसबेला आफू प्रतिकार गर्न नसक्ने अवस्थामा रहेको भन्दै उनले आफ्नो पार्टीका नेताहरूको व्यक्तिगत विषयमा अनावश्यक चासो राखेर आफूलाई होच्याउने कार्य गरेको बताइन् ।

सांसद कठायतले पोखराको सन्दर्भ उठाउन थालेपछि समिति सभापति कुसुम थापाले ‘तपाईंका कुरा छैनन् ? भन्दै विषयतर्फ केन्द्रित गर्न खोजिन् । सांसद कठायत कड्किँदै भनिन्, ‘सभापतिज्यू, मैले अब भन्नैपर्ने भएको हो त्यसो भए ? कुन हालतमा के स्थितिमा तपाईंहरूले के बोल्नुभएको थियो भनेर ?’

समितिमा कतिपय सदस्यले सांकेतिक रूपमा पोखराको विषयमा मौन रहन इशारा गरिरहेका थिए । तर, कठायत रोकिइनन् । उनले पोखरामा आफ्नो पार्टीका सभापति रवि लामिछाने, सांसदद्वय सुमना श्रेष्ठ र सोबिता गौतमको के कस्ता कुरा काटिए भनेर सुनाइन् ।

‘सुमनाले कतिजनासँग बिहे गर्‍यो भन्ने तपाईंहरूको सरोकारको विषय हो त्यहाँ ?’ कठायतले प्रश्न गरिन्, ‘सोबिताको कल्ले के बोल्यो भन्ने कुरा तपाईंहरूको सरोकारको कुरा हो त्यहाँ ?’

कठायतले प्रश्नमाथि प्रश्न गरिन, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्छ भन्ने तपाईंहरूको सरोकारको विषय हो ? तपाईंले मलाई पेल्न खोज्ने ? त्यहाँनेर ड्रिङ्क्स गरेर, रक्सी खाएर तपाईंहरूले जे पायो त्यही बोल्न मिल्छ ?’ कठायतले दोहोर्‍याइन्, ‘सुमना श्रेष्ठले कतिजनासँग बिहे गर्‍यो तपाईंहरूको सरोकारको विषय थियो ?’

उनले आफ्नो पार्टीका नेताहरूलाई देश निकाला गर्ने भनेर कुरा भएको पनि सुनाइन् । ‘तपाईंहरूले निर्णय गर्नुहुन्छ उहाँहरूलाई देश निकाला गर्ने भनेर ! के गरेको छ त्यस्तो देश निकाला गर्नलाई ?’ जे विषयमा अनुगमन गर्न गएको हो त्योभन्दा बाहिर गएर आफ्नो पार्टीका नेताहरूको कुरा काटिएको र आफूलाई पेल्न खोजिएको भन्दै उनले त्यस्ता प्रत्येक विषयको आफूसँग रहेको बताइन् ।

‘तपाईंहरूले बोलेको एक/एक कुरा छ यहाँनेर सभापति ज्यू,’ उनले भनिन्, ‘यो समितिको अनुगमनको कुरा हो । मैले राम्रोसँग मर्यादित भएर तपाईंलाई भन्न खोजेको थिएँ त्यो भएन भनेर । तपाईं मलाई पेल्न खोज्दै हुनुहुन्छ सभापतिज्यू ।’

त्यसबेला समिति सभापति पनि उपस्थित रहेको भन्दै उनले आक्रोश पोखिन्, ‘समितिको अनुगमनमा भएको कुरा समितिमै भन्न पाउनुपर्छ, तपाईंले सुन्नु पनि पर्छ । तपाईं स्वयं त्यहाँ हुनुहुन्थ्यो सभापतिज्यू । तपाईंको मुखबाट समेत दुई तीनवटा कुरा निस्केका छन् ।’

आफूहरूले कांग्रेस र एमालेको पार्टीको कुरा खोज्दै नहिंडेको, कुन नेताको के भन्ने नखोजेको भन्दै उनले आफ्नो पार्टीको विषयमा पनि चासो राख्न आवश्यक नरहेको बताइन् ।

‘रवि लामिछानेले कोसँग विवाह गर्‍यो, के विवाह गर्‍यो ? ह्यारेसमेन्ट गर्ने त्यहाँनेर ?’ सांसद कठायतलाई रोक्न खोजेकी सभापति थापाले कठायतको क्षमतामाथि प्रश्न उठाउँदै प्रतिप्रश्न गरिन् । ‘तपाईं त नेपाल सरकारको मन्त्रिपरिषद्ले गरेको निर्णयलाई पनि समितिले उल्ट्याउनुपर्छ भन्ने मान्छे हो । तपाईंको आफ्नो कार्यक्षेत्र त कति हो भन्ने स्पष्ट पार्न सक्नुहुन्न अनि जे पायो त्यही बोल्नुहुन्छ यहाँ ?’

सांसद कठायत झन् चर्किइन्, ‘मैले जे पायो त्यही बोलेँ सभापतिज्यू ?’ गैरसरकारी संस्थाको पैसामा अनुगमनमा गएको भनेर उनले आफूसमेत सहभागी अनुगमन कार्यमाथि नै प्रश्न उठाइन् । ‘तपाईंहरू एनजिओको पैसामा अनुगमनमा गएर …. त्यहाँ भएको कुरा रााख्नु जे पायो त्यही हो ? मैले जे पायो त्यही बोलेकी छु यहाँ ? दिनभरी भएको कुराबारे छलफल गर्नुपर्‍थ्यो । कसरी समस्यालाई समाधान गर्ने भन्नेतिर लाग्नुपर्‍थ्यो । तर, कसले कहाँ बिहे गर्‍यो, के गर्‍यो भनेर कुरा गर्ने हो ?’

यस्ता विषयमा खोज्ने र लिस्ट निकाल्ने हो भने लामै हुने उनले चेतावनी दिइन् । ‘नेपाली कांग्रेसको पनि लिस्ट निकाल्ने हो भने धेरैजनाको छ सभापतिज्यू, कसले कति जनासँग विवाह गरेका छन् भनेर ।’

जवाफमा समितिकी सभापति थापाले ‘तपाईंलाई तपाईंको पार्टीको माया छ, हामीलाई हाम्रो पार्टीको माया छ’ भनिन् ।

सभापतिको भूमिकामाथि प्रश्न गर्दै कठायतले थपिन ‘त्यसो हो भने तपाईं सभापति भइसकेपछि तपाईंले लिड गर्ने हो । त्यहाँ बसेर दुनिया माननीयलाई राखेर, ड्रिङ्क्स गरेर, रक्सी खाएर त्यो गर्ने होइन सभापतिज्यू ।’

समिति सदस्यहरूले विषयगत रूपमा आफ्ना कुरा राख्न कठायतलाई पुनः आग्रह गरिरहेका थिए । तीन मिनेट तीन सेकेन्डसम्म आक्रोशपूर्ण अभिव्यक्ति राखेपछि उनले पोखराको विषय अत्ति नै भएकाले आफूले उठाएको भन्दै असन्तुष्टि टुङ्ग्याइन्, ‘कसैलाई ह्यारेसमेन्ट हुने गरी बोल्न चाहिं पाइँदैन ।’

लेखकको बारेमा
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?