Comments Add Comment

लौरो लगाएर रंगशालामा मान्छे उतार्दैनौंः देवेन्द्र पौडेल

'नयाँ र पुरानोको विवाद चियाको कपमा तुफान'

२३ जेठ, काठमाडौं । आगामी जेठ ३० गते बाबुराम भट्टराईको नेतृत्वमा रंगशालाबाट नयाँ शक्ति नेपाल पार्टी घोषणा हुँदैछ । रंगशालाबाट हुने पार्टी घोषणा कार्यक्रम कस्तो हुनेछ ? कति मान्छे रंगशाला आउनेछन् ? यिनै प्रश्नको जवाफ खोज्न नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलसँगको छोटो कुराकानीः

नयाँ शक्तिले अहिले के गर्दै छ ?

नयाँ शक्ति नेपाल अहिले पार्टी घोषणाको तयारीमा छ । नयाँ शक्तिका अभियन्ता मात्रै होइन, हामीप्रति शुभेच्छा राख्ने सबै जनताको ध्यान नयाँ शक्तिको पार्टी घोषणा कहिले र कसरी हुन्छ भन्नेमा छ । हामीले जेठ ३० गते काठमाडौंको दशरथ रंगशालाबाट पार्टी घोषणा गर्दैछौं । त्यसैगरी ३१ र ३२ गते प्रज्ञा भवनमा पार्टीको राजनीतिक प्रतिवेदनको प्रारम्भिक मस्यौदा, विधान र आर्थिक कार्यविधिका बारेमा आन्तरिक छलफल गर्नेछौं ।

फाइल फोटो
फाइल फोटो

तपाईहरु नयाँ पार्टी घोषणाको तयारी गर्दै हुनुहुन्छ, तर पार्टी गठन नहुँदै नयाँ र पुरानाको लडाइँ सुरु भइरहेको छ भन्ने हल्ला छ नि ?

यतिबेला हामी सबैको ध्यान पार्टी घोषणा र भेलामा केन्दि्रत छ । बजारिया हल्ला के चल्छ भन्ने कुरा हाम्रो सरोकार होइन । पार्टीभित्र स्वस्थ बहस, छलफल र अन्तरक्रिया हुनु स्वभाविक हो । हामी उन्नत विचार लिएर अघि बढेका छौं, त्यसैले यस्तो कुरा ‘चियाको कपमा आउने तुफान’ मात्रै हो ।

के कुरा चाहिँ सत्य हो भने नयाँ शक्तिमा हामी फरक-फरक पृष्ठभूमिका व्यक्तिहरु छौं । यसको मतलव हाम्रा विचार फरक छन् भन्ने होइन । एउटै अभियानमा लागेका कारण यतिबेला हामी पार्टीको राजनीतिक प्रतिवेदन, विधान र आर्थिक कार्यविधिमै छलफल गरिरहेका छौं त्यसैले नयाँ, पुरानो वा झन नयाँ भन्ने बहश गर्ने बेला होइन र कसैले त्यस्तो बुझेको छ भन्ने पनि मलाई लाग्दैन ।

जेठ ३० गते रंगशालामा कति मान्छे उतार्नुहुन्छ ?

जेठ ३० गतेको घोषणासभालाई भव्य र सभ्य बनाउन जनपरिचालनसहितका अभियानमा लागेका छौं । नयाँ शक्तिका ७५ वटै जिल्लाका सम्पर्क सन्यन्त्र, उपत्यकाका तीन जिल्ला र सिंगो ३ नम्बर प्रदेशमा अहिले हामी बढी केन्दि्रत भएर कार्यक्रमहरु गरिरहेका छौं । दैनिकजसो भेला, छलफल र अन्तरक्रिया गरेर जनतालाई नयाँ शक्तिबारे जानकारी दिने र पार्टी घोषणासभामा उपस्थित हुन अपील गर्ने गरेका छौं । यसका लागि हाम्रो केन्द्रीय संयोजक डा.बाबुराम भट्टराई स्वयं दौडधुप गरिरहनुभएको छ । उहाँको हस्ताक्षरसहितको अपील पठाएका छौं र अन्य रचनात्मक प्रचार-प्रसारको अभियानलाई पनि जोड दिएका छौं । यतिबेला हाम्रो सम्पूर्ण ध्यान र शक्ति यसैमा छ ।

एक लाख सदस्य बनाएर पार्टी घोषणा गर्ने भन्नुहुन्छ कति भए सदस्य ?

हो । हामीले जे भनेका छौं, त्यही अनुसार मेहनत पनि गरिरहेका छौं । एक लाख होइन हामी त्यो भन्दा धेरै संख्यामा संस्थापक सदस्य बनाउँदैछौं । हाम्रो कार्यालयमा आएको रेकर्डअनुसार १ लाखभन्दा बढीले पार्टी सदस्यता भरेर बुझाइसक्नुभएको छ । यो हाम्रा जिल्ला, प्रदेश र केन्द्रीय कार्यालय तथा अनलाइनबाट र्फम भर्नेको संख्या हो । अझै हाम्रा साथीहरु र एकता प्रक्रियामा आउनुभएका राजनीतिक दलको सम्पर्कमा हुनेहरुको संख्या जोड्दा यो बढ्ने देखिन्छ ।

हामीसँग धेरै राजनीतिक पार्टी, संस्था र सामाजिक व्यक्तित्वले एक भएर अगाडि बढ्ने प्रतिवद्धता जनाइसक्नुभएको छ । जेठ २८ गतेसम्म सदस्यता र्फम भरेर केन्द्रमा पठाउनेलाई हामीले संस्थापक सदस्य मान्छौं । पार्टी घोषणाको दिनसम्म हामी कम्तिमा २ लाखभन्दा बढी पार्टी सदस्य बनाउँछौं ।

पार्टी घोषणामा जनसहभागिता कसरी हुन्छ ?

हिजोको दिनमा जस्तो गाडी रिजर्व गर्ने र मान्छेलाई लौरो लगाएर काठमाडौं ल्याउने हाम्रो योजना होइन र त्यो विधि ठीक पनि होइन । हिजोका दिनमा यस्ता प्रवृत्ति पनि थियो । आज त्यसैको निरन्तरताले कहीँ पुगिदैँन, त्यसैले हामीले जनतालाई बाध्य बनाएर दुःख दिने भन्दा पनि अपिल गर्ने भनेका छौं । हाम्रोमा स्वेच्छिक सहभागिता नै मुख्य हुनेछ । केही जिल्लाबाट आफ्नै खर्चमा बस रिजर्व गरी सामूहिकरुपमा साथीहरु आउने कुरा बेठीक होइन । हामीले ‘जसरी पनि आउनुपर्छ’ पनि भनेका छैनौं । बस पठाउने, खर्च दिने वा बाध्यकारी बनाएर मान्छे देखाउने हाम्रो उद्देश्य पनि होइन ।

बरु आधाआधी सहभागिता उपत्यका र ३ नम्बर प्रदेशबाट गराउँदैछौं भने २ नम्बर ४ नम्बर, ५ नम्बर र ६ नम्बर प्रदेशबाट उल्लेख्य सहभागिता हुनेछ । त्यसैगरी १ र ७ नम्बरबाट प्रतिनिधिमूलक सहभागिता होस् भनेका छौं । हाम्रो पार्टी कमिटीहरुलाई सोही अनुसारको सर्कुलर पठाएका छौं ।

प्रतिनिधि छनौट विधि के हो ?

जेठ ३० मा रंगशालाबाट पार्टी घोषणा गरिसकेपछि हामी जेठ ३१ र ३२ गते कमलादीको प्रज्ञा भवनमा छलफल सत्र चलाउँछौं । त्यसमा एक हजार पाँच सय जति प्रतिनिधिको सहभागिता हुनेछ । अहिलेको केन्द्रीय परिषदमा भएका सबै सदस्य आयोजकभन्दा पनि प्रतिनिधि हुने व्यवस्था छ । त्यसैगरी केन्द्रीय विभागका सबै सदस्यहरु, आंगीक संगठन, संघीय सम्पर्क परिषद, राष्ट्रिय संगठनका केन्द्रीय संयोजकहरु, सल्लाहकार परिषदका सबै सदस्यहरु छलफल सत्रमा सहभागी हुने व्यवस्था मिलाएका छौं ।

जिल्ला परिषदका संयोजक, विभिन्न देशका अन्तरिम परिषद्का संयोजक वा समितिले तोकेका १/१ जनाप्रतिनिधिहरु, केन्द्रीय आयोगका सबै सदस्यहरु, अन्तरिम प्रादेशिक परिषद्का सचिवालय सदस्यहरु, प्रत्येक निवार्चन क्षेत्रवाट १/१ जिल्लाको सिफारिसमा प्रदेशमार्फत केन्द्रले अनुमोदन गर्नेगरी सहभागिताको ग्यारेण्टी गरिएको छ ।

जिल्लाबाट केन्द्रीय सचिवालयमा पठाइएको सदस्यता विवरण र संख्याका आधारमा ५ सय सदस्यसम्म संख्या बराबर १ जना र एक हजार सदस्य संख्यासम्म भए २ जना प्रतिनिधि र त्यो भन्दामाथि सदस्य संख्या भए ३ जना प्रतिनिधि जिल्लाको सिफारिसमा प्रदेशमार्फत केन्ऽले अनुमोदन गर्नेगरी प्रतिनिधि बनाइनेछ । तर, यसरी सिफारिस गरिएको नामावलीमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्नेछ ।

पार्टी घोषणाचाहिँ कसरी गर्दै हुनुहुन्छ ?

हामीले परम्परागत राजनीतिक संस्कारको निरन्तरता हुनेगरी भन्दा पनि भिन्न प्रकारले पार्टी घोषणा गर्दैछौं । सबैको ध्यान हामीतिरै भएकाले पनि केही नयाँ गर्नुपर्ने चुनौती पनि छ । त्यसैले पार्टी घोषणा पनि अलि पृथक किसिमले हुँदैछ । त्यो भनेको जेठ ३० गते रंगशालामा नयाँ शक्तिका सबै संस्थापक सदस्यले सामुहिक सपथ लिनेछौं । जुन अहिलेसम्म कुनै पार्टीले गरेका छैनन् ।

एक लाख संस्थापक सदस्यले एकसाथ सपथ लिएर पार्टी घोषणा कसैले गरेका छैनन् । रंगशालामा उपस्थित हुन नसक्ने पार्टी संस्थापक सदस्यलाई पनि सोही समयमा सपथ लिने व्यवस्था मिलाउँदैछौं । पार्टी संस्थापकको सपथसँगै ‘देश बनाउने छौं’ भन्ने संकल्प पनि गर्दैछौं ।

कार्यक्रममा विदेशी पाहुना र देशका विभिन्न राजनीतिक नेतृत्वले हामीलाई शुभकामना दिनुहुनेछ । हामीले प्रविधिको उच्चतम प्रयोग गर्ने भनेका छौं । सोहीअनुसार हाम्रो कार्यक्रम संसारको जुनसुकै ठाउँमा बसेर हेर्न मिल्ने र नयाँ शक्तिका सदस्यले सपथ लिने गरी व्यवस्था मिलाउँदै छौं ।

नयाँ पार्टी तपाईहरुलाई नेता वा मन्त्री बन्न चाहिएको हो कि ?

हामीलाई नेता हुन वा मन्त्री, प्रधानमन्त्री हुन नयाँ पार्टी चाहिएको होइन । कसैलाई यो भ्रम छ भने त्योबाट भ्रम मुक्त हुन अपील गर्दछु । अहिलेसम्म राजनीतिक ब्यवस्था परिवर्तन गर्न धेरै संघर्ष भए तर जनताको अवस्था फेरिएन । ००७ साल, ०४६ साल हुँदै ०६२/०६३ को आन्दोलनले राजनीतिक परिवर्तन गरेपनि जनताको अवस्था उस्तै रहृयो । जसका कारण आजसम्म जुन राजनीतिक दलले जे नाममा संघर्ष र आन्दोलन गरे पनि जनताको परिवर्तनको चाहना र अवस्था उस्तै रहनु भनेको अब देशमा आर्थिक विकास, समृद्धि आवश्यक छ भन्ने देखाउँछ ।

त्यसैले हामी त्यो कार्यभार पूरा गर्न चाहन्छौं । कहिलेकाँही नपाएर नयाँ शक्ति बनाउन खोजेको भन्नेहरुलाई हाम्रो अनुरोध के हो भने हामी व्यवस्था फेर्न होइन, अवस्था फेर्न नयाँ शक्ति पार्टी घोषणा गर्दैछौं । पद र प्रतिष्ठाभन्दा पनि देशलाई परिवर्तन गर्ने हाम्रो सपना हो । नयाँ शक्ति केही पाउन वा लिन भन्दा पनि देश बनाउने अभियान हो ।

भेलाले पार्टीको पदाधिकारी पनि त बनाउला नि ?

पहिलो कुरा त भेलाले पार्टी डकुमेण्टहरुमा ब्यापक छलफल गर्नेछ । यो भेलामा सहभागी हामी जो छौं, सबै पार्टीको तल्लो निकायबाट चुनिएर आएका होइनौं । त्यसैले निर्वाचित नभएको कमिटीले केन्द्रीय समिति वा पदाधिकारी निर्वाचित गर्न सक्तैन । भेलाले आयोजक समिति वा सचिवालय गठनसम्म गर्न सकिनेछ । पछि पार्टीको तल्लो निकायबाट प्रतिनिधि चुनिँदै आएपछि मात्रै त्यसले केन्द्रीय समिति र पदाधिकारी निर्वाचित गर्नेछ । अहिलेलाई संक्रमणकालीन व्यवस्था मात्रै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment