Comments Add Comment

चलचित्रमा ब्रान्डको प्रवेश, तर छोपिन्छन् कलाकारकै अनुहार

anmol
यतिबेला नेपाली चलचित्रको प्रचारका  लागि बजारमा ल्याइएका पोष्टर, ट्रेलरमा हेर्ने हो भने कुनै न कुनै प्रोडक्ट जोडिएका हुन्छन् ।

यसले गर्दा अहिले निर्मातालाई ठूलै राहत मिल्न थालेको छ । नाम चलेका कलाकार र चर्चामा आएका चलचित्रका लागि अहिले विभिन्न प्रोडक्टले रुची देखाउन थालेका छन् । जसले गर्दा मार्केटिङ गर्न सक्ने चलचित्रमा २० लाखसम्मका ब्रान्ड जोडिएका छन् ।

जेठ २८ गते चल्ने चलचित्र ‘गाजलु’सँग एक मोबाइल जोडिएको छ । वुझिएअनुसार नायक अनमोल केसीको नाम र चलचित्रको चर्चाका कारण मोबाइल कम्पनी १० लाख माथिको रकम तिरेर ब्रान्ड पार्टनर बनेको छ । वैशाख ३१ गते प्रदर्शनमा आएको चलचित्र ‘के म तिम्रो होइन र’को पनि एउटा पेय पदार्थ ब्रान्ड पार्टनर बनेको थियो । यो चलचित्रलाई पनि उक्त पेय पदार्थले ५ लाख माथिको रकम तिरेको थियो ।

बलिउडमा चलचित्रका कलाकार नै अधिकांश ब्रान्डसँग जोडिने भएकाले चलचित्र प्रचारमा ब्रान्ड ल्याउन गाह्रो छैन । तर, नेपाली चलचित्रका कलाकारहरु ब्रान्ड एम्ब्यासडर बनेको खासै पाइदैन । अहिले चलचित्रका लागि ब्रान्ड म्यानेजर नै राख्ने चलन पनि सुरु भएको छ ।

चलचित्र ‘क्लासिक, प्रेमगीत, फूलै फूलको मौसम तिमीलाई’ लगायतका चलचित्रले पनि राम्रै ब्रान्ड भित्राएका थिए । ‘क्लासिक र प्रेमगीत’ बाहिरी विज्ञापनका कारण पनि लगानी धेरै हदसम्म सुरक्षित गर्न सफल थिए । निर्देशक दिनेश डीसीले त आफ्नो चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को पोष्टर, पप्लेटदेखि साना भन्दा साना प्रचार सामाग्रीमा विज्ञापन जोडेका थिए ।

चलचित्रलाई सहि तरिकाले मार्केटिङ गर्न सक्ने हो भने अब व्रान्ड पार्टनर बनेका प्रोडक्टले निर्मातालाई ठूलो राहत दिन थालेका छन् । तर, ब्रान्ड पार्टनर बन्ने वित्तिकै कतिपय चलचित्रमा त्यस्ता प्रोडक्ट हाबी पनि भएका छन् ।

जसले गर्दा भित्तामा टाँसिने पोष्टरमा कलाकारका भन्दा त्यस्ता प्रोडक्टका तस्बिर ठूलो देखिन थालेका छन् । चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को पोष्टरमा एक रक्सीको तस्बिर भन्दा कलाकारको तस्बिर सानो भएपछि त्यसको आलोचनात्मक चर्चा पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment