+
+
Shares

वन्य-अपराधको बढ्दो चुनौति

सन्दर्भः विश्व वातावरण दिवस

कुलचन्द्र अर्याल कुलचन्द्र अर्याल
२०७३ जेठ २३ गते १६:४७

वन्यजन्तुको अवैध व्यापारप्रतिको शून्य सहनशीलता भन्ने नाराका साथ विश्वभर विश्व वातावरण दिवस मनाउँदै गर्दा वन्यजन्तुको अवैध व्यापारका केही डरलाग्दा तथ्यांकहरु यहाँ उल्लेख गर्नु वाञ्छनिय हुन्छ । डब्लु डब्लु एफका अनुसार विश्वमा हरेक वर्ष २० अर्व मूल्य बराबरको वन्यजन्तुको अवैध कारोबार हुन्छ ।

वन्यजन्तु अपराध लागु औषध, हतियार तथा नक्कली मुद्राको कारोबार र मानव तस्करीपछिको विश्वको चौथो ठूलो अपराधको रुपमा छ । पछिल्लो ४० वर्षमा पृथ्वीका ५२ प्रतिशत वन्यजन्तु लोप भैसकेका छन् ।

Kulchandra-Aryalपृथ्वीमा नयाँ जातिको उत्पत्ति तथा विद्यमान प्रजातिको विलोपन हुने प्राकृतिक दरलाई बिथोलिएको छ र प्रजातिहरुको विलोपनको दर सामानय भन्दा १ हजार गुणा तिव्र बनेको छ । सन् २००७ देखि २०१३ सम्मको अवधिमा दक्षिण अपि|mकामा गैँडाको चोरीशिकारी ७७ सय गुणाले बढ्यो ।

हरेक वर्ष ३५ हजार देखि ५० हजार अफ्रिकी हात्तीहरु चोरी सिकारीबाट मारिन्छन् र चोरीशिकारीको यो दर नरोकिएमा आगामी १० वर्षमा अफ्रिकी हात्ती लोप हुने जोखिम छ । विश्वमा रहेक दिन ३ वटा गैँडा चोरशिकारीबाट मारिन्छन् ।

सन् २०११ मा जाभा प्रजातिको गैँडाको एक उपप्रजाति भियतनामबाट लोप भयो भने सोही वर्ष पश्चिमी कालो गैँडा क्यामरुनबाट लोप भयो । यसरी विश्वमा तिव्रगतिमा बढिरहेको वन्यजन्तु तथा वनपैदावारको अवैध चोरीशिकारी तथा व्यापारका कारण पृथ्वीको मूल्यवान जैविक विविधता क्षयिकृत भैरहेको छ । जसका कारण हाम्रो प्राकृतिक सम्पदा हामीबाट हराउँदैमात्र छैन पृथ्वीका हरेक प्रजातिलाई विलोपनको खतरातर्फ धकेलिरहेको छ । वन्यजन्तु तथा वनस्पतीको चोरीसिकारी तथा तस्करीले अर्थतन्त्र तथा पर्यावरणमाथि चुनौति मात्र थपेको छैन संगठित अपराधलाई बढाइरहनुका साथै विश्वमा भ्रष्टाचार र असुरक्षा बढाइरहेको निष्कर्ष संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको रहेको छ ।

क्षेत्रफलका हिसाबले विश्वको ९० औँ स्थानमा रहेपनि जैविक विविधता तथा वातावरणीय सम्वृद्धिका हिसाबले अग्रस्थानमा रहेको नेपालले हाम्रो जीवजन्तु हाम्रो वातावरण र वन, संरक्षण गरौँ लगाई सम्पूर्ण तन, मन र धन भन्ने नाराका साथ वातावरण दिवस मनाउँदैछ । दिवसका अवसरमा सरकारी तथा गैरसरकारी तवरबाट वातावरण संरक्षणमा जनचेतना जगाउने उद्धेश्यका साथ विविध कार्यक्रमको आयोजना गरिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जले लगातार दोस्रो वर्ष शून्य चोरी सिकारी वर्ष मनाउन सफल भएको पृष्ठभूमिमा नेपालमा मनाइने यो वर्षको वातावरण दिवसले शुन्य चोरीसिकारी वर्षसँग निकै गहिरो तादात्म्य राख्ने कुरामा दुइमत छैन । पछिल्लो ७ सय ३० दिनमा चितवन राष्ट्रिय निकुञ्जमा कुनैपनि वन्यजन्तुको चोरीसिकारी नभएको भन्दै निकुञ्जले गत वैशाख २० गते लगातार दोश्रो वर्षलाई शून्य चोरीसिकार वर्षको रुपमा घोषणा गरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जले शून्य चोरी सिकारी वर्ष मनाइरहँदा देशका अन्य भागमा भने वन्यजन्तु चोरी सिकारी तथा तस्करीका घटनामा कमी आएको छैन

यसबीचमा स्थानीय बासिन्दाको विरोधका बीच चितवन राष्ट्रिय निकुञ्जबाट केही गैँडाहरु बर्दिया स्थानन्तरण गरिएका छन् र स्थानान्तरित एक गैँडाले बर्दियामा बच्चा जन्माएको सुखद खबरले पनि वन्यजन्तुप्रेमीलाई पुलकित पार्यो । तर, पहिले पटक-पटक गरी लगेका ८३ गैँडा वटा गैँडाहरु मध्ये अधिकांसलाई तस्करबाट जोगाउन नसकेको भन्दै नयाँ गैँडालाई पनि मृत्युको मुखमा पूराउन बर्दिया स्थानान्तरण गर्न नहुने भन्दै चितवनका स्थानीय बासिन्दाले विरोध गरे ।

विभिन्न घटनाक्रमहरुले नेपाल वन्यजन्तु अवैध व्यापारका अन्तराष्ट्रिय गिरोहको श्रोतका साथै ट्रान्जिट प्वाइन्ट बन्ने गरेको देखाएको छ । चितवन राष्ट्रिय निकुञ्जले शून्य चोरी सिकारी वर्ष मनाइरहँदा देशका अन्य भागमा भने वन्यजन्तु चोरी सिकारी तथा तस्करीका घटनामा कमी आएको छैन । बाघको छाला, हड्डी, सालकको खपटा तथा जिउँदो सालक, विभिन्न लोपोन्मुख र संरक्षित वन्यजन्तुहरुका अंगहरुका साथै संरक्षित वनस्पतीहरुको अवैध तस्करीमा संलग्नहरु नियमित रुपमा देशका विभिन्न भागबाट पक्राउ पर्ने गरेका छन् । भारतबाट नेपाली बाटो हुँदै नेपाली भरियाहरुको प्रयोग गरी चीनतर्फ वन्यजन्तुको अवैध तस्करी हुने गरेको र यसका लागि तस्करहरुले सुर्खेतलाई केन्द्र बनाउने गरेका केही समयअघि संचारमाध्यममा आएको समाचारले देखाएको छ ।

भारतका विभिन्न स्थान र नेपालको बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ लगायतका विभिन्न वन्यजन्तुका हड्डी, छाला लगायतका अंगहरु तस्करहरुले भरिया प्रयोग गरी कणर्ाली राजमार्गबाट हुम्ला हुँदै चीनको सीमानासम्म पुर्‍याउने गरेको देखिएको छ । नेपालबाट तिब्बत हुँदै चीनसम्म तथा तिब्बतबाट नेपाल हुँदै भारतसम्म वन्यजन्तुका ओखेटोपहारहरुको अवैध व्यापार हुने गरेको पाइएको छ । नेपालमा संकटापन्न तथा संरक्षित वन्यजन्तु र वन पैदावारको अवैध चोरी निकासी र व्यापार रोक्नका लागि विभिन्न कानूनी तथा संस्थागत प्रबन्धहरु छन् ।

संकटापन्न वन्यजन्तुको अवैध व्यापार नियन्त्रण गर्ने महासन्धी साइटिसको सदस्य रहेको नेपालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, वन ऐन जस्ता विभिन्न ऐननियमहरुमार्फत जैविक विविधता संरक्षण तथा जैविक विविधताको अवैध चोरी निकासी र अवैध व्यापार  नियन्त्रणका विभिन्न उपायहरु अवलम्बन गरेको छ । वन्यजन्तु  अपराधमा ५ लाख सम्म जरिवाना तथा १५ वर्षसम्म कैदको कठोर सजायँ भएको भएपनि वन्यजन्तु अपराधको अवस्था डरलाग्दो रहेको छ ।

अझ वन्यजन्तुको चोरीसिकार र तस्करीमा चेपाङ लगायतका स्थानीय आदिवासी समुदायलाई तस्करहरुले संलग्न गराउने गरेको तथ्यले वन्यजन्तु संरक्षण तथा चोरी सिकारी नियन्त्रणको कार्यलाई झनै चुनौतिपूर्ण बनाएको छ ।

कुनै दिन पृथ्वी जैविक विविधता विहीन बन्ने खतरा नआउला भन्न सकिन्न । जैविक विविधता विलोपनको यो दरलाई वन्यजन्तु तथा वनपैदावारको अवैध चोरी तस्करीले झनै बल पुर्‍याएको देखिन्छ

सन् १९७२ मा स्विडेनको स्टकहोममा जुन ५ देखि १६ सम्म भएको राष्ट्रसंघिय वातावरण सम्मेलन भएको अर्को वर्षदेखि हरेक वर्ष जुन पाँच तारेखमा विश्व वातावरण  दिवस मनाइँदै आएको छ । विश्वमा वातावरणको क्षयिकरण बढ्दै गएको, पर्यावरणीय विनाश तथा जैविक विविधताको नास निकै डरलाग्दो गरी बढिरहेको अवस्थामा वातावरण संरक्षणको महत्वपूर्ण कडीका रुपमा रहेको वन्यजन्तुको अवैध व्यापार नियन्त्रणमा विश्वव्यापी आवाज बुलन्द पार्ने यो वर्षको नारा निकै सान्दर्भिक देखिन्छ ।

जनसंख्याको तिब्रतर वृद्धि , प्राकृतिक श्रोतको अत्यधिक दोहन, तिब्र औद्योगिक विकाश र प्रदुषणका कारण पृथ्वीको वातावरण दिनानुदिन खस्किँदो छ । औद्योगिक विकाश तथा मानविय कृयाकलापको उपजस्वरुप सिर्जित जलवायु परिवर्तन वातावरणीय सन्तुलनमा मुख्य चुनौति बनिरहेको छ । विश्वव्यापी उष्णताको कारण पानीका श्रोतहरु नासिँदै छन् , हिमालयको हिउँ पग्लिँदैछ र  पृथ्वीमा मरुभूमिकरणको प्रकोप बढिरहेको छ । जल प्रदुषण , वायु प्रदुषण , भू प्रदुषण, ध्वनी प्रदुषण तथा विकीरणजन्य प्रदुषणका कारण आवहवा प्रतिकुल बन्दै गैरहेको छ । तापक्रममा भैरहेको वृद्धि तथा प्रदुषणका कारण पानीका श्रोतहरुको क्षय तथा रासायनिक गुणमा आएको परिवर्तनले गर्दा जलचर जिवहरु संकटमा पर्दै गइरहेका छन् ।

अर्कोतर्फ मरुभूमिकरण, तापक्रम वृद्धि र बढ्दै गएको प्राकृतिक विपत्तिको श्रृंखलाले स्थल जीवहरुको अस्तित्व संकटमा पर्दै गैरहेका छन् । पछिल्ला तथ्यांकहरुले  वासस्थान विनाशको कारण  दैनिक  करीब १४० प्रजातिका वनस्पति तथा प्राणी हरु हामीबाट लोप हुदै गइरहेका र  वर्षेनी करीब ५० हजार जीव तथा वनस्पतीका प्रजाति पृथ्वीबाट हराइरहेका छन्  । जैविक विविधता विनाशको यही रफ्तार कायम रहने हो भने सन् २०५० सम्ममा हामीबाट विश्वमा भएका ५० प्रतिशत जिव तथा वनस्पति लोप भएर जाने वैज्ञानिकहरुको ठहर छ ।

यस्तो अवस्थामा कुनै दिन पृथ्वी जैविक विविधता विहीन बन्ने खतरा नआउला भन्न सकिन्न । जैविक विविधता विलोपनको यो दरलाई वन्यजन्तु तथा वनपैदावारको अवैध चोरी तस्करीले झनै बल पुर्‍याएको देखिन्छ ।  अतः वातावरणको संरक्षण तथा दिगो व्यवस्थापनका  लागि वन्यजन्तु तथा वनस्पतीको अवैध चोरीनिकासी र अवैध व्यापारलाई नियन्त्रण गर्नु अत्यावश्यक रहेको छ । यसका लागि समुदायस्तरदेखि राष्ट्रिय, अन्तरदेशीय तथा विश्वव्यापी पहल, साझेदारी तथा ऐक्यवद्धताको खाँचो रहेको छ ।

लेखक
कुलचन्द्र अर्याल

पर्यावरणीय अध्येता अर्याल नेपाल सरकारका शाखा अधिकृत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?