२३ जेठ, ललितपुर । ललितपुरमा जनचेतनामुलक र्यालीलगायतका विभिन्न कार्यक्रम गरी आइतबार विश्व वातावरण दिवस मनाइएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष-सदर चिडियाखानाको संयोजन तथा ललितपुर उप-महानगरपालिका, आई. यू. सी. एन. नेपाल, डब्लु.डब्लु.एफ. नेपाल र नेपाल पंक्षी संरक्षण संघको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।
नेपालमा ‘हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व वातावरण दिवस मनाइएको हो ।
कार्यक्रममा वन तथा भू-संरक्षण मन्त्री एवम् राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष अग्नीप्रसाद सापकोटाले जलवायु परिवर्तनका कारण नेपालको वातावरणमा नयाँ-नयाँ चुनौतीहरू थपिइरहेकाले सामुहिक प्रयासमा त्यसका नाकारात्मक असरहरूबिरुद्ध जुध्नुपर्ने बताए । उनले वातावरण संरक्षणका लागि सरकार नीतिगत र योजनावद्ध ढंगले अगाडि बढीरहेको पनि जानकारी दिए ।
सिंगारिएको हात्तिको अगुवाईमा सदर चिडियाखानाबाट सुरु भएको जनचेतनामूलक र्याली पुलचोक, पाटन कृष्ण मन्दिर, लगनखेल, कुमारीपाटी हुँदै पुनः जावलाखेल पुगी समापन समारोपमा परिणत भएको थियो ।
र्यालीमा प्लेकार्ड तथा जनचेतनामूलक नारासहित फ्रेण्ड्स अफ जू का विद्यार्थीहरूको सहभागीता थियो । कार्यक्रममा मन्त्री सापकोटाले वन तथा जैविक विविधताको संरक्षणमा उल्लेख्य योगदान पुर्याएको कदरस्वरुप उदयपुर जिल्ला रौता गाविसको मुमि्रथुम्का आदर्श महिला सामुदायिक वन उपभोक्ता समूहलाई कदर पत्र प्रदान गरेका थिए ।
सदर चिडियाखानाका पूर्व निर्देशक तथा नेपाल सरकारका पूर्व सचिव उदयराज शर्मालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । मन्त्री सापकोटाले फ्रेण्ड्स अफ जूका वर्षभरीका विविध प्रतियोगिताका बिजयी बिद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै प्रकाशनहरूको बिमोचन समेत गरेका थिए ।
मिस नेपाल २०१६ तथा राष्ट्रिय प्रकृति संरक्षण कोषकी जैविक विविधता संरक्षण दूत अस्मी श्रेष्ठ, मिस नेपाल अर्थ रोशनी खत्री र मिस नेपाल इन्टरनेशनल वर्षा लेखीले कार्यक्रममा सहभागी मन्त्री, उच्च पदस्थ सरकारी अधिकारीहरू र विद्यार्थी सबैलाई संरक्षण शपथ खुवाएका थिए ।
प्रतिक्रिया 4