+
+
Shares

सियो धागोमा समेत विदेशीको भर पर्ने अवस्थाबाट देशलाई मुक्त पार्छुः प्रधानमन्त्री

'गीत गाएर युवा पलायन रोकिंदैन'

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २४ गते १२:१८

PM-Oli

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सियो धागोमा समेत विदेशीको भर पर्नुपर्ने अवस्थाबाट देशलाई मुक्त पार्ने बताएका छन् । देशलाई आत्मनिर्भर बनाउने वर्तमान सरकारको उद्देश्य रहेको उनले प्रष्ट पारे ।

सोमबार प्रज्ञा प्रतिष्ठानमा नेपाल घरेलु तथा साना उद्योग महासंघको २३ औं राष्ट्रिय महाधिवेशन उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पहिला मुलुकको अर्थतन्त्र कृषिमुखी थियो, यसबाट फड्को मारेर अहिले आयातमुखी भएको छ,’ उनले भने, ‘तर हाम्रो आवश्यकता भनेको आत्मनिर्भर अर्थतन्त्र हो ।’

‘गीत गाएर युवा पलायन रोकिंदैन’

वर्तमान सरकारको प्राथमिकता पूर्वाधार विकास, रोजगारी सिर्जना, उद्योग स्थापना, युवा पलायन रोक्ने रहेको उनले बताए । देशमा रोजगारी नपाएर विदेशीनेहरुलाई गीत गाएर रोक्न नसकिने भन्दै उनले भने, ‘विदेश जानेको ताँती गीत गाएर हटाउन सकिँदैन । हामी स्वदेशमै रोजगारी बढाएर विदेश जानबाट रोक्नतर्फ लागेका छौं ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा उद्यमशीलताको विकास गर्न र युवालाई व्यावसायीक बनाउन सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरेको जानकारी दिए । व्यावसायीक शिक्षाको विकास नै यो सरकारको लक्ष्य भएको साथै अनौपचारिक सीप विकासमा जोड दिइएको उनले बताए ।

अहिलेको सरकारको विकासको गति पुरानो प्रचलित विकासको गतिजस्त्ाो नभएको उनले दाबी गरे । ‘यो सरकार विकास निर्माण तीब्र गतिमा अघि बढाउन चाहन्छ,’ प्रधानमन्त्रीले भने ।

मुलुकमा सबैखाले उद्योग, कृषि, व्यापार, तथा सबैखाले सेवा क्षेत्रलाई आजको विज्ञान प्रविधि र उन्नत चेतनाबाट तीब्र विकास गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए । सानो उद्योगले मुलुकलाई अग्रगामी दिशातर्फ लैजान सबैभन्दा ठूलो भूमिका खेल्न सक्ने ओलीको भनाइ थियो ।

सरकार सडकहरु बनाउने, उद्योगधन्धाको विकास गर्ने, रोजगारी बढाउने, अन्य पूर्वाधारको विकास गर्ने र देशलाई उन्नत बनाउने अभियानमा रहेको उनले जानकारी दिए । ‘यो सरकार देशको विकास उन्नत र प्रगतिका लागि हो,’ ओलीले भने ।

स्वदेशी उद्योग र उत्पादनलाई सरकार जस्तोसुकै सहयोग गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए ।

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सुरेश प्रधानले औद्योगिक वातावरण सिर्जना गर्नका लागि औद्योगिक ऐन चाँडो ल्याउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?