Comments Add Comment

पीएचडी आतंक र मध्यमवर्गीय राष्ट्र प्रेम !

फेसबुकबाटै चीट चोरियो, तर पीएचडी गरिएन

घरको गौंडोबाट यसो टहल्न बाहिर के निस्केको थिएँ, पल्लाघरे सुब्बा बाले बोलीको झटारो हानीहाले, “बाबु, तँ बिग्रीस, खुरुखुरु पढेको भए आजसम्म तैंले पीएचडी गर्ने थिइस्, हाम्रो खान्दानमा पढ्लास् जस्तो तैं थिइस् वीचमै बितरिइस र कुल बिगारिस् ।”

Ishor-Aryalकेही बर्षको खाडी बसाइपछि म मामाघर गएको थिएँ । त्यतिबेला इन्स्पेक्टर हुनुभएको मामा अहिले डीएसपी भैसक्नुभएको रहेछ । “ल बाबु, सरकारी जागिरमा नाम निकालेको भए आजसम्म ठुलै मान्छे हुने थियौ, पढाइ पनि पीएचडी सकिन्थ्यो । दाम मात्र कमाएर पनि भएन नि !”

ढाँटेर बिहे त गरिएन । तर, वल्ला पल्ला घरे पढेलेखेका जेठानहरु सामान्य कुरा बाहेक अन्य देश, काल र परिस्थितिका कुराहरु सुन्न चाँहदैनन् । आफुलाई शतप्रतिशत जानकारी भएको कुरा सुनाउँदा पनि होइन होला भन्छन्,या त त्यसको प्रमाण माग्छन् । अरु कुरा त छोडौं, पाँच क्लासमा बोर्डिङ पढ्ने छोरीलाई पनि होमवर्क गर्न सिकाउन लाज लाग्छ, कारण नजानेर होइन,छोरीले बाबालाई गर्ने विश्वास हो । डर करले भनेको मान्लान् । तर, बाबा धेरै पढेको मान्छे होइन भन्ने छोराछोरीलाई थाहा छ, त्यसकारण पनि घरमा बाबा आमाले सिकाएको कुरा स्कुलमा गएर गर्न छोराछोरी हिच्किच्याउँछन् ।

पीएचडीको नाम लिएर होच्याउनेहरुलाई पश्चात भन्न मन लाग्छ । तर, प्रायः त्यस्ता मान्छेहरुले होच्याउँछन, जोसँग कम्तिमा पनि डिग्री या माथिल्लो सर्टिफिकेट हुन्छ र प्रायः सबै आफन्तहरु हुन्छन् । आफ्नै सामाजिक पारिवारिक मूल्य मान्यताको कारणले धेरै बोल्न सकिन्न । तर, चुपचाप रहन पनि सकिन्न । प्रमाणपत्रको आतंक यसरी एउटा घर मात्र होइन, सबै घरघरमा एक किसिमको हिनताबोध बनेर बसिरहेको छ । यसले सम्बन्धित मान्छेहरुलाई ग्लानी र पिडाबोध गराइरहेको हुन्छ ।

मलाई याद छ, ब्याचलरको परीक्षा दिँदा मसँग नोकियाको पिर्का जत्रो मोबाइल थियो, बिदेशबाट कसैले पठाइदिएको, सायद सि-३ हुनुपर्छ । दिनभरि बोर्डिङ स्कुलमा पढाएर, बिहान बेलुका केटाकेटी जम्मा गरेर ट्युसन पढाएर घर परिवार धान्नुपर्ने । मैले पुरै तीन बर्षको अबधिमा १० दिन कलेज टेकिँन ।

मैले त्यही फोनबाट चिट चोर्ने गर्दथें । परीक्षा खुकुलो नै थियो, अघिल्लो दिन गेसपेपर लिएर साइबर क्याफे घुस्थें, अनि फटाफट उत्तरहरु टाइप गरेर फेसबुकमा हाल्थें, त्यसलाई ओन्ली मी गराएर राख्थें । भोलिपल्ट गोजीबाट मोबाइल निकालेर आफ्नै फेसबुक खोलेर चिट सारिन्थ्यो । चिटमा नभएका कुराहरु मैले गुगलमा पनि खोज्थें तर लुकेर ।

बाध्यताका कारणबाट मेरो औपचारिक शिक्षा वीचमा ४/५ बर्ष रोकिएको थियो । आफ्नै भाइबैनी उमेर भएकाहरुसँग मैले ग्लानी र पीडाबोध गरेर परीक्षा दिएको थिएँ । उमेर अन्तर भएकै कारणले मैले अरुले जस्तो यताउता हेर्नु,कागजको चिट लैजानु, या अन्य कुनै हर्कत गर्नु अशोभनीय हुन्थ्यो ।मोबाइलबाट चिट हेरियो, आफ्नै उमेरका इनभिजिलेटरहरु हुन्थे । उनीहरुले खासै चासो पनि दिएनन् । पास भने प्रायः म एक्लै हुने गर्दथें । भोलिको परीक्षाका लागि आज किताब किनेर, त्यो पढाउने मेरै उमेरको शिक्षकको घर गएर लिएको आधा घन्टाको क्लासले पनि मलाई सो विषयमा पास गराइदिन्थ्यो ।

तेस्रो बर्षको परीक्षा नआउँदै, भिसा खस्यो भनेर एजेन्टले भन्यो । रोक्न मिल्दैन भनेर सोधें । अहँ मान्दै मानेन । ६ महिनाको भिसा अवधि हुन्छ भन्ने थाहा थियो, ६ महिनाभित्र मैले परीक्षा दिन सक्थें । म्यानपावरमा गएर कुरा गरें, डाइरेक्टरको जवाफ थियो, “बीए होइन, डिग्री, पीएचडीको परीक्षा भए पनि मिल्दैन ।” उसको सोझो जवाफ थियो । जेसुकै होस, जान्न भनेर अड्डी कसें । उसले भिसा क्यान्सिल गर्ने धम्की दियो । त्यसको चार्ज लाग्छ भनेर पहिल्यै भनिसकेको थियो । पीचडी गर्न खोज्नेहरुको बाध्यता यो उदाहरणले प्रष्ट पार्दछ ।

माथिका कुराहरु आम नेपाली युवाको सामान्य दैनिकी र जीवन हो । नेपालमा खर्च गरेर एमफिल या पीएचडी गर्नेहरुको कुनै व्यावसायिकता छैन । एसएलसी पनि पास नगरेर कुनै सीपले व्यावसायिक दक्षता हासिल गरेर सयौं रोजगार सृजना गर्दै नेपालको अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने मान्छेहरु पनि पीएचडी आतंकको शिकार बनेका छन् ।

पढ्ने खर्चभन्दा पनि बदलिएको सामाजिक अर्थतन्त्रको भुँवरीमा परेर, अनि बढेको महंगी र मुद्राको अवमूल्यनका कारण अनि उत्पादनको पुँजीवादीकरण भए पनि त्यसमा अझै कायम रहेको सामन्ती सोचका कारणले उत्पादनको प्रतिफल राम्रो या जीविका चलाउन नसक्ने हुनु, नेपालीहरुको उच्च शिक्षातर्फका विकर्षणका आधारहरु हुन ।

पढेर केही हुँदैन भन्ने नजीरहरु यत्रतत्र सर्वत्र फैलिएका कारणले पनि मानिस आफुलाई आवश्यक पर्ने शैक्षिक ज्ञान लिएर डिग्री या पीएचडी तर्फ पुग्दैन । हिल्डा तावाले भन्छिन, सिकाइ जीवनको निरन्तरता हो । सिकाइका लागि पीएचडी नै गर्नुपर्छ भन्ने छैन । हरेक पाइला पाइलामा मानिस बिद्वान हुन सक्छ । जीवन, सिकाइ र समय सापेक्षित हुन्छन् ।

प्रमाणपत्र समाजको कुरीति हो, सालना हजारौं मान्छेहरु प्रमाणपत्रको आशा गर्दा गर्दै आत्महत्या गर्छन् ।

मान्छे पहिला आत्मसम्मान र करोडौंका वीचमा एउटा अस्तित्वको लागि बाँच्ने गर्दछ, त्यसपछि पारिवारिक जीविकाका लागि बाँच्दछ, अनि बिस्तारै सो घेरा साँघुरो हुँदै गएर आफ्नो श्रीमती या छोराछोरीका लागि बाँच्ने प्रयास गर्दछ, अनि इहलीला समाप्त हुने समयमा उसले हजारौं सपनाहरुको घाँटी रेट्दै निराश भएर मर्दछ । शायद निम्न मध्यम स्तरका मान्छेहरु यसै गरेर बाँच्छन् ।

यही कारणले क्रमश: मान्छेमा आउने महत्वाकांक्षी भावहरुमा ह्रास हुँदै आउँछ । शुरुमा संसार जित्ने लक्ष्य लिने मान्छे जीवनको आधा शताब्दीमा पुगेपछि छोराछोरीको मन जित्ने लक्ष्यमा बदलिन्छ । आखिर संसार यसै गरेर चलेको छ ।

प्रमाणपत्र समाजको कुरीति हो । सालना हजारौं मान्छेहरु प्रमाणपत्रको आशा गर्दा गर्दै आत्महत्या गर्ने गर्दछन् । क्षमता नभएको मान्छेसँग प्रमाणपत्र हुनु र क्षमता भएकोसँग प्रमाणपत्र नहुनु, हाम्रो समाजमा एक किसिमको रोग बनेर बसेको छ ।

क्षमता नै प्रमाण हुनुपर्नेमा हामी एउटा कागजको खोस्टो बोकेर पीएचडीको ध्वाँस लगाइदिन्छौं । जसले गर्दा अन्यमा आतंक फैलियोस, मानवता नाप्ने स्केल बनाउँछौं कागजलाई । “फलानो मर्यो अरे” भन्नु र “फलानो डाक्टर मर्यो अरे” भन्नु आकाश जमिनको अन्तर छ हाम्रो समाजमा । मानवीय मूल्य उच्च र नीच देखाउन प्रमाणपत्र प्रयोग हुन्छ आजकल ।

देश र जनताको दोहन गर्नका लागि आफ्नो सर्टिफिकेट पसारेर सकेसम्म भिख माग्ने, नत्र धम्क्याउने खालको राजनीति नेपालमा शुरु भएको छ ।

सर्टिफिकेट देखाएर राजनीति गर्नेहरु पनि टन्नै छन् । बनारसबाट फर्जी डिग्री ल्याएर यहाँ जागिर खानेहरुको संख्या पनि उल्लेख्य छ । आखिर मान्छेले के गरोस, जहाँ जे आवश्यक छ, त्यो जुटाएको मात्र हो । यहाँ इच्छाले जागिर खाने भन्दा पनि बाध्यताले जागिर खानुछ, घरपरिवारको पेट पाल्न मान्छे झुट बोल्दा मानवीय हिसाबले गलत ठहरिँदैन ।

भारत, अमेरिका जस्ता ठाउँहरुबाट नेपालमा बाध्यताका लागि नभएर देश र जनताको दोहन गर्नका लागि आफ्नो सर्टिफिकेट पसारेर सकेसम्म भिख माग्ने,नत्र धम्क्याउने खालको राजनीति नेपालमा शुरु भएको छ । करिब दुइ\अढाइ दशक पहिले आफूलाई एकमात्र अर्थशास्त्री ठान्ने केही विदेशी प्रमाणपत्र धारीहरुले शुरु गरेको राजनीतिक अराजकताले देशलाई गरिबीको यो स्थितिमा धकेलेपछि प्रमाणपत्रमा मान्छेहरुको खून दलेर ५/१० बर्षमा स्विजरल्यान्ड बनाउने होडबाजी चलेको थियो ।

सामान्य अर्थशास्त्रीय नियमहरुको पनि ख्याल नराखी केवल प्रमाणपत्रको आडमा जनता फकाउने र धम्क्याउने रणनीतिको शिकार भएका छौँ नेपाली जनता ।

हामीले सामान्यरुपमा बुझ्न के जरुरी छ भने स्वस्थ आर्थिक क्रियाकलापले देशको विकाश हुन्छ र त्यसको लागि कक्षा १० मा पढाइने नाफा-नोक्सान,साधारण ब्याज, एकिक नियमहरु नै काफी हुन्छन् । सर्टिफिकेटमा अर्थशास्त्रका मूल्य र मान्यता हुँदैनन, नम्बर मात्र हुन्छ । ती नम्बरहरु माथि भनिएझैं चिट चोरेर पनि ल्याउन सकिन्छ ।

एकदुर्इ जना प्रमाणपत्रधारीहरुको देश होइन यो । कालु पान्डे, भक्ती थापा,बलभद्रहरु कुनै प्रमाणपत्रधारी थिएनन, स्वय देशका निर्माता पृथ्वीनारायण शाहले नेपालमा एकीकरण गर्दा बेलायतमा बिश्वबिद्यालय खुलिसकेका थिए, उता पढ्नेले स्वर्ग जाने टिकट बेचेर सुनका असर्फीहरु जम्मा गरे । यता पृथ्वीनारायण शाहले बिसे नगर्चीसँग एक रुपैयाँको विद्या मागेर एकीकरण अभियान थाले ।

यसकारण अमेरिकी र भारतीय प्रमाणपत्र देखाएर यहाँ अरुलाई छिर्के हान्ने र मै हुँ भनिरहन कसैको जरुरत छैन । कसको छातीभित्र कति देशप्रेम छ भनेर कुनै प्रमाणपत्रले अहिलेसम्म देखाएको छैन ।

प्रमाणपत्रधारी त सिके राउत पनि हुन् । भारत टुक्र्याउने महात्मा गान्धी पनि विदेशमा पढेर आएका हुन, मोहम्मद अलि जिन्ना पनि बाहिरै पढेका हुन । धेरै नेपालीहरु स्वभावैले कम पढेका होलान, तर क्षेत्रीय सद्भावना, जातीय एकता,अनि राष्ट्रप्रेममा कुनै प्रमाणपत्रधारीहरु भन्दा कम छैनन् ।

यावत कारणहरुले के पुष्टि गर्दछन् भने, प्रमाणपत्र नहुनु हीनताबोध होइन, बरु प्रमाणपत्रधारीहरुको अहिलेको हर्कत देख्दा बरु सशक्तीकरण हो । परिवर्तन कुनै एउटा बिद्वानले गर्ने होइन, जनजनको चेतनाले हुने हो । अनि अर्को कुरा प्रमाणपत्रमा भएको नम्बरले मान्छेको चेतनास्तरको मापन गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment