Comments Add Comment

नारायणगढ–मुग्लिन सडकखण्ड आवागमन नरोकिने

muglin_sadak (1)

२६ जेठ, चितवन । दैनिक चार घन्टा आवागमन रोकेर सडक विस्तार भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डमा अब आवागमन नरोकिने भएको छ ।

गत माघ २८ गतेदेखि दैनिक मध्याह्न ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गरेर सडक विस्तारको कार्य गरिँदै आएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार वर्षातको समयमा काम गर्न कठीन हुने हुँदा असार १ गतेदेखि गाडी बन्द नगरिने भएको हो । असारसँगै बढी पानी पर्ने भएकाले हाल विस्तार भएका ठाउँमा भित्तो फोर्न कठिन हुने हुँदा अन्य पत्थर भएको ठाउँमा एकतर्फी सवारी आवागमन गराएर काम गराइने उनले जानकारी दिए । असारदेखि छठ पर्वसम्म वर्षात चाडवार्डका समयमा कम काम गर्न लागिएको हाे ।

नारायणगढदेखि १७ किलोमिटर परको गाईघाट, २२ किलोमिटर परको घुमाउने २७ किलोमिटर परको जलवीरे र ३३ किलोमिटर परको कालिखोला सडकखण्ड पहिरोको उच्च जोखिममा रहेको उनले जानकारी दिए । काम नभए पनि पानी आएमा वा सुक्खा बेलामा पनि यी ठाउँमा पहिरो जाने सम्भावना रहन्छ । आजकल पनि यहाँ दैनिक जसो सानो ठूलो पहिरो खस्दा यात्रुले सास्ती व्यहोर्नुपरेको छ ।

कामका लागि बाटो बन्द नभए पनि पहिरो गएमा बन्द हुने खतरा भने कायमै छ । तर उपकरण ठाउँठाउँमा राखेका कारण लामो समय आवागमन बन्द नहुने प्रवन्ध मिलाइएको खनालले जानकारी दिए ।

नारायणगढ र गोरखा जोड्न सन् १९८२ मा चीन सरकारको सहयोगमा सो सडक बनेको थियो । नारायणगढ–मुग्लिन सडक पूर्व तथा पश्चिम नेपालका गाडी काठमाडौँ र पोखरा जाने आउने मुख्य मार्ग हो । सो सडकखण्ड दुई लेनको बनाउने काम भइरहेको छ ।

नारायणगढ–मुग्लिन सडक हुँदै दैनिक सरदर सात हजार ३०० गाडी ओहरदोहर हुने गर्छ । भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार कार्य पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको छ । विसं २०७२ वैशाखदेखि थालिएको निर्माण कार्य २०७४ को भदौमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो ।

विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । इञ्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबीसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मोजफ्रपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो ।

आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।

राजधानी काठमाडौँबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य सडक भएकाले यो सडक व्यस्त रहने गर्दछ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment