नेपाली चलचित्र कलाकार संघले पहिलो पटक आयोजना गर्न लागेको ‘फान अवार्ड’लाई लिएर चलचित्र क्षेत्रमा ठूलै चासो थियो । अवार्डको मनोनयनमा नेपालमा हुँदै आएका अवार्ड कार्यक्रमका भन्दा केही फरक र नयाँ शैली अपनाइन्छ भन्ने धेरैको विश्वास थियो ।
तर, कलाकार संघले आयोजना गर्न लागेको अवार्ड समारोह मनोनयनसम्म आइपुग्दा खासै नौलो नहुने देखिएको छ । मनोनयन सार्वजनिक भएसँगै यसलाई लिएर विभिन्न खालका बहस सुरु भएका छन् । कलाकार संघको मनोनयन सार्वजनिक कार्यक्रम र मनोनयमा देखिएका केही प्रसंगहरु यस्ता छन्ः
१. कलाकार संघले उत्कृष्ट ५ को मनोनयमा पर्न सफल चलचित्रकर्मीका लागि वितरण गरेको प्रमाणपत्र राम्रो छ । तर, ‘आर्टिस्ट’को स्पेलिङ नै गलत लेखिएको छ । प्रमाणपत्रमा यति ठूलो कुरामा पनि किन ध्यान दिइएन ?
२. चलचित्र ‘नाई नभन्नु ल २’ मा काम गरिसकेकी नायिका बर्षा सिवाकोटी यो अवार्डमा भने ‘पशुपति प्रसाद’बाट ‘नव-नायिका’को विधामा छिन् । जब कि, यो चलचित्रमा सिवाकोटीको भूमिका पनि छोटो छ ।
३. चलचित्र ‘रेशम फिलिली’का चर्चित पात्र कामेश्वर चौरासिया यो अवार्डको कुनै पनि विधामा छैनन् । यो चलचित्रबाट उनले सर्वाधिक चर्चा पाएका थिए ।
४.’संगीतकार र गायक’को विधामा मात्र परेको ‘रेशम फिलिली’का नव-निर्देशक प्रणव जोशी पनि नव-निर्देशकको विधामा अटाएनन् ।
५. गतबर्षको सर्वाधिक चर्चित र व्यापार गर्न सफल मानिएको चलचित्र ‘वडा नम्बर ६’ उत्कृष्ट चलचित्रमा परेन ।
६. ‘नव-अभिनेता र नव-अभिनेत्री’को विधामा एउटै चलचित्रका २ कलाकार परेका छन् । जबकी, चलचित्र ‘लभ सब’कि एक्ली नायिका करिश्मा श्रेष्ठले यसमा स्थान पाएकी छैनन् । यी दुई विधामा ५ जना पुर्याउनका लागि केही नाम राखिएको प्रष्ट हुन्छ ।
७. कलाकार संघको कार्यसमितीमै रहेका अशिष्मा नकर्मी, सविन श्रेष्ठ पनि मनोनयनमा छन् । आफ्नै संस्थाले गरेको अवार्ड समारोहमा कार्यसमितीका सदस्यहरु मनोनयनमा पर्दा यसले विवाद निम्त्याउने गरेको पाइन्छ ।
८. मनोनयन सार्वजनिक कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गर्ने तयारी गरिएको थियो । तर, पूर्व तयारी नै नगरिएकाले हुनसक्छ राष्ट्रिय गान बज्न सकेन । पछि, उपस्थित सबैले राष्ट्रिय गान गाएका थिए ।
९. हुनत बन्दका कारण हुनसक्छ, कलाकार संघको अवार्डको मनोनयन सार्वजनिक कार्यक्रममा कलाकारको संख्या कमजोर थियो । अधिकांशको प्रमाणपत्र वुझ्नका लागि अन्य चलचित्रकर्मी स्टेज चढेका थिए ।
अवार्ड आयोजना गर्नु चुनौतीपूर्ण काम हो । अवार्ड सधै नै विवादित हुने गरेको छ । तर, अवार्डलाई कम भन्दा कम विवादित बनाउन सकेको खण्डमा त्यसले छुट्टै स्थान र मुल्य पाउने गर्दछ ।
प्रतिक्रिया 4