Comments Add Comment

विप्लवले भने- माओवादीको बन्दमा सवारी चलाउनेहरू भिजिलान्ते हुन्

नेपाल कम्युनिस्ट पार्टी माओवादीका संयोजक नेत्रविक्रम चन्द विप्लवले कैयौँपटकको कुराकानीमा आफु चुप लागेर नबस्ने बताएका छन् । नेपाल बन्दको अवसर पारेर विप्लवसँग पङ्तिकारले गरेको संवादमा उनले भने -“अहिले देशमा शान्ति नभएर युद्ध नै चलिरहेको छ, अब हाम्रो हातमा दही जम्नेवाला छैन ।”

दिल निसानि मगर
दिल निसानि मगर

तर, विदेशमा दुःख गरेर कमाएको पैसाले ट्याक्सी किनेर काठमाडौँमा जीवन चलाउने सपना देखेका भाइको गाडी तपाईँकोहरूले निष्ठुरी बनेर जलाइदिनु भयो हैन ?” यस्तो प्रश्न सुन्नासाथ विप्लव रीसले आगो भए । उनले जोडसँग भने- “माओवादीको बन्द छ भन्ने कुरा जान्दा-जान्दै सवारी चलाउनेहरू ड्राइभर हुँदै होइनन्, मुलुकलाई सुनुयोजितरुपमा मुठभेडमा लैजान चाहेका एलिट समूहबाट परिचालित भिजिलान्तेहरू हुन् । त्यसैले हामीले ठीक गरेका छौं ।”

संविधान निर्माण र संसद दलालहरूको काम हो भन्दै नेपालमा नाम मात्रैको भए पनि शान्ति प्रक्रिया अघि नबढेर भित्रभित्रै युद्ध चलिरहेको विप्लवले बताए ।

के नेपालमा युद्ध चलिरहेकै हो त ?

साँचो अर्थमा शान्ति प्रकृया सम्पन्न भएको छैन भन्ने विप्लव माओवादीले अब चाँडै दोश्रो चरणको जनयुद्ध घोषणा गर्ने संकेत देखिएको छ ।

शान्तिप्रेमी सबै मानिसहरू हुन्छन् । अनाहकमा ज्यान फाल्ने रहर कसैलाई हुदैन । तर, तत्कालीन जनयुद्धमा गरिब र भुइँ मान्छेहरूले ज्यान फालेकै कारण अहिले सत्तामा रहेका बादशाहहरूले राजाको पाउमा दाम चढाउने संस्कारिक निरन्तरताबाट बिदा लिएका थिए । दास मनोवृत्तिको राजनैतिक परम्पराबाट पनि उन्मुक्ति पाएका थिए ।

त्यसैले अहिलेको यी सबै परिवर्तनहरू माओवादी आन्दोलनकै कारण संभव भएका थिए । तर, यी परिवर्तनहरूवीच बाटोमै हराउँदै जाने, विलीन हुने, अपहरणमा पर्ने संकेत-षड्यन्त्रहरू हुँदै आइरहेको विप्लव माअवादीको तर्क छ ।

गणतन्त्रको प्रमुख दुश्मनको हातमा पर राष्ट्रको कागजातहरू पुगेका छन् । बयलगाढामा अमेरिका जान सकिँदैन भन्नेहरू नेपालमै पानीजहाज चलाउन थालेका छन् । हिजोका ती बाघहरू आज बिरालोसँग एकमुठी जिन्दगीको भिख मागिरहेका छन् । सांसदका कोटको खल्तीमा कुकुरको मासु गन्हाइरहेको छ । बाहिर राष्ट्रवादको चक्मा फ्याँके पनि भित्रभित्रै सानो-सानो कुरामा गम्भीर  हस्तक्षेप छ ।

गणतन्त्र त आयो । तर, आज युवाको अवस्था उस्तै छ । भ्रष्टाचारले सीमाना नाघिसकेको छ । किसान, महिला र मजदुरहरूको समस्या झन् बिकराल बन्दै छ । आदिवासी जनजातिहरूको माग पेचिला र जायज छन् तर पनि यो राज्यले कानमा तेल हालिरहेको छ ।

मधेसीहरू महिनौंदेखि आन्दोलनमा छन् तर आंशिक मागहरूलाई संवोधन गर्ने कुनै तत्परता नै देखाएको छैन राज्यले । बरू छाती र टाउकोमा ताकी ताकी गोली हानेर निर्दोष नागरिकको हत्या गरिएको छ ।

युनिफाइड युद्धको संकेत

विप्लव माओवादीसँग अत्याधुनिक हतियार हुन सक्छ । तर, सबैखाले माओवादीहरूमा ती हतियारका बारेमा कहिल्यै बहस, झगडा र छलफल भएन । किनभने त्यो निकै खतरनाक हुन्थ्यो । यद्यपि सुन तस्करी र यार्सा गुम्बा लुटेराहरूका हातमा पुगेका केही हतियार बाहेक अधिकांश विप्लव माओवादी हुन सक्छ ।

यद्यपि हतियारको बहस विप्लव माओवादीमा देखिदैन । त्यो त सामान्य हो भन्ने छ । युद्धको घोडा भैहालेमा को कहाँबाट लड्ने भन्नेमा अफ्ठ्यारो छैन भन्छन् उनीहरू । केही महिना अगाडि नै लडाकुहरूको टिम तयार भैसकेका छन् । उनीहरू तालिमप्राप्त छन् ।

समस्या के हो भने राज्यप्रति र यसको व्यवस्थाप्रति चरम निराशा विप्लव माओवादीमा मात्र छ भन्ने होइन । त्यो  जनजाति, आदिवासीहरू र मधेसीहरूसँग पनि छ । उनीहरू शान्तिपूर्ण आन्दोलनबाट थिलोथिलो नै भैसकेका छन् । तर, के उनीहरू सधैभरि सिंहदरबार वरिपरि मैले खान पाइँन, लगाउन पनि पाइँन भनेर रूँदै कराएर बसिरहन्छन् ? वा संघर्ष गर्छन् ? के यो राज्यले दयामाया देखाएर अधिकार दिन्छ ? वा खोस्न पर्छ ?  यस्तो प्रश्न उठाइरहेको छ विप्लव माओवादीले ।

त्यसैले यहाँ युनिफाइड युद्धको सम्भावना रहेको उनीहरूको दाबी छ । मधेस विखण्डन हुनबाट रोक्न र अन्तर्राष्ट्रिय समर्थन प्राप्तिका लागि समेत त्यसो गर्नु अपरिहार्य हुने उनीहरो दाबी छ । त्यसो हुन सक्यो भने राज्यको प्रमुख शक्ति नेपाली सेना सजिलैसँग जनतामाथि जाई लाग्ने संभावना अत्यन्त न्युन हुने सो समूहको बुझाइ छ ।

किनभने संविधानको विवादका कारण हुने युद्धबाट कुनै देशलाई टुक्राउने वा ध्वस्त बनाउने बाह्य हस्तक्षेप जस्तो हुन सक्दैन भन्ने दाबी सो समूहका नेताहरूको छ । जे भए पनि स्व. राजा वीरेन्द्रले आफ्नै जनता मार्न नेपाली सैनिकको प्रयोग हुन नदिने भनेको उनीहरू स्मरण गर्छन् ।

परिवर्तन बहुमत वा अङ्कगणितमार्फत संभव हुँदैन । परिवर्तन त सडकबाटै सम्भव भएका छन् । अहिलेसम्म असंतुष्ट सबै समूह सडकमै छन्

अब प्रश्न उठ्छ, जनताका जायज मागहरू शान्तिपूर्ण तरिका मार्फत समधान हुन्छन् कि फासीवादको बलमा जनतामाथि गोली प्रहार हुन्छ ? फेरि पनि वार्ता मार्फत सहमति, सहकार्य र एकता हुन्छ कि कथित बहुमतको बलमा राज्य पेलेरै जान खोज्छ ? त्यो आजको मुख्य प्रश्न हो ।

परिवर्तन बहुमत वा अङ्कगणितमार्फत संभव हुँदैन । परिवर्तन त सडकबाटै सम्भव भएका छन् । अहिलेसम्म असंतुष्ट सबै समूह सडकमै छन् । राज्यका शासकहरूलाई अवसर छ कि वार्ताबाटै समस्या समधान गर्ने ।

काठमाडौंलार्इ खतरा

विप्लवले हामीसँग हतियार र सेना छैन भनेछन् भने त्यो झुठ हुन्छ । उसभित्र  फौजी संरचनाको विकास भैसकेको छ । त्यसलाई सफल वा असफल प्रयोग के मान्ने, त्योचाहिँ हेर्न बाँकि नै छ । समय निकै नजिक छ । जसरी आफ्ना कार्यकर्ताहरुको रिहाइको माग गरेर उसले नेपाल बन्द गर्यो, त्यो वाहेक अरू उपाय उसँग थिएन । सडकमा वितण्डा नमच्चाएसम्म सरकारले सुन्दैन । १२ वर्ष बन्दुक पड्काएपछि मात्रै संविधान सभा र गणतन्त्र भन्ने शब्द सुनेका थिए शासकहरूले ।

विप्लव माओवादीसँग धेरै जनमत छैन। तर, करिब १० हजारको संख्यामा कुशल लडाकु छन् । ०५२ सालमा घोषणा भएको युद्दमा सुरुमा चारजना मात्रै थिए । भरूवा बन्दुकहरू मात्रै थिए । केही थान कटुवा पेस्तोल थिए । तर, पछि बलियो बन्दै गएपछि युद्धका छिटाहरू काठमाडौंको थानकोटसम्म आइपुगेको हो ।

अहिले त पहिलो दिनमै काठमाडौंमाथि हमला हुन सक्छ । अब गाँउको चौकीमा बस्ने ४ जना प्रहरीहरू दुश्मन हुने छैनन् । जे हुने छ, काठमाडौंमै हुन सक्छ । यो पङ्तिकारको मनोभावना र विचार होइन, विप्लव माओवादीले आफ्नो दस्तावेजमा लेखेका योजनाको दुई प्रतिशत विम्व मात्रै हो । अझ यसलाई यसरी बुझौं कि राज्य गम्भीर नबन्ने हो भने युद्ध हुन सक्छ ।

विप्लव माओवादीको गाँठी कुरा

माओवादी विरुद्ध यो वा त्यो बाहनामा अघोषित ढंगले ठूलो षड्यन्त्र चलिरहेको छ । नेताहरूको पुरै बदनाम गर्ने, राजनीतिक भविष्य नै समाप्त पारिदिने, जनयुद्धलाई अपराधीहरूको कुकर्मको रुपमा परिभाषित गरिदिने, कार्यकर्ताहरू समातेर जेलमा कोच्ने डरलाग्दो योजना भैराखेको उनीहरूको गुनासो छ ।

उनीहरूकै भाषामा भन्दा पुरानो, कुहिएको, मक्किएको एक थान कागजी संविधानलाई पालना गर्ने र हिजो युद्धमा बलिदान गरेका मान्छेलाई अपराधी, चोर, लुटेरा, पङ्गु सावित गर्ने गरी संविधान लादिँदै छ । । उत्पीडित जनतालाई सजायँ दिन भनेर संविधान घोषणा गरिएको हो  ?

नेपाली जनताले सामन्तवाद र फासीवादका विरुद्धमा लड्न थालेको पनि करिब ६५ वर्ष भयो । तर, जति लडे पनि र संघर्ष गरे पनि हरेक पार्टीमा एउटा न एउटा चोर दलालले पार्टीलाई कब्जा गर्छन् र राज्यलाई कब्जा गर्छन् । कर्मचारीलाई कब्जा गर्छन् । जाजुसहरूलाई कब्जा गर्छन् । र, सिङ्गो अर्थतन्त्रलाई कब्जा गर्छन् । सिङ्गो शक्तिलाई समेत कब्जा गर्छन् र आफूलाई मत दिने जनता बाहेक अरूलाई भुत्ते नै बनाउँछन् । देशलाई कब्जा गरेर नेपाललाई डामाडोलतर्फ धकेल्ने यो प्रवृत्ति कांग्रेस र एमालेमा रहेको विप्लव माओवादीको बुझाइ छ ।

लडेरै  ८० प्रतिशत भूभाग जितेको माओवादीलाई आज फेरि सुकुम्बासीका लागि भनेर जग्गा कब्जा गर्नु परेको छ । सामन्तवादीका अवशेषहरूको जग्गामा फेरि पार्टीको झण्डा गाड्नुपरेको छ भन्दै त्यसैले अब जनवादको मुद्दालाई उठाउनुपरेको, जनअदालत, जनसेना र जनसरकार ब्युँझाउनैपर्ने उनीहरू तर्क गर्छन् । यसका लागि जनताको स्वीकृति अझै पनि माओवादीमा रहेको । उनीहरूको दाबी छ।

विप्लव माओवादीमा नेताहरू भन्छन्- कालो कांग्रेसले कत्ति पनि फुर्ती लाउनु पर्दैन । एमाले भन्ने त राजनैतिक दल नै होइन, ब्यापारिहरूको ट्रेड युनियन हो । एनजीओ, आइएनजीओका मागीखाने भाँडो हो एमाले । यिनीहरू त अस्तिसम्म ज्ञानेन्द्रको जेलमा थिए । नाक नभएका एमाले र कांग्रेस प्लिज हामीलाई बचाउनुहोस् हजुर भन्दै रोल्पा  गएका थिए ।

उनीहरूको बुझाइमा यो संविधान एकाध करोडपतिले किनेको संविधानसभाले बनाएको हो । नेपाली जनताले गरेको त्याग, तपस्या, बलिदानको क्रान्ति र लडाईँबाट जितेको दुई तिहाइलार्इ नमानेर डलरमा किनेको दुई तिहाईलाई कसरी मान्ने ? उनीहरूको प्रश्न यस्तो छ ।

विप्लव माओवादीका नेता भन्छन्- अब माओवादी उहिलेजस्तो जंगलमा जाँदैन ।  तर, माओवादी शान्ति चाहान्छ । शान्तिको अर्थ यो होइन कि हामीलाई अलितकति पैसा चाहियो । चिल्लो घर गाडी र महङ्गो रक्सी चाहियो । हाम्रो शान्तिको अर्थ हुन्छ, हाम्रो गरिब झुपडीहरुलाई गास, बास र कपास चाहियो । हाम्रो होनाहार युवा शक्तिलाई नेपालमै रोजगारी चाहियो । शोषक र फटाहालाई देश सुम्पिएर  हामी विदेशिने होइन, हाम्रा दिदीबहिनीहरू दलाललाई उपहार दिएर वेश्यालयमा बेच्ने होइन ।

अन्तरराष्ट्रिय समर्थन ?

एकजना भारतीय पत्रकारले नेपालमा जनयुद्ध भाग दुई हुँदैछ भनेर लेख लेखेपछि माओवादीहरू उत्साही भएका छन् । विप्लव माओवादीसँग शक्ति र जनता भएको उनको विश्वास छ । यसलाई सत्तापक्षका केही नेताहरूले फेरि पनि भारतले नेपालमा युद्ध चाह्यो भनेर सामाजिक सञ्जालमा बहस छेडेका छन् ।

हो, अब उप्रान्त नेपालमा हुने जुनसुकै आन्दोलनमा भारतको समर्थन हुन सक्छ । संविधानको विषयलाई लिएर दुई देशवीच भएका  टकराबहरूले त्यसतर्फ संकेत गरेका छन्  ।

तर, कुनै पनि अन्तरराष्ट्रिय समर्थनको प्रयोग मुलुकको हित विपरीत हुनुहुँदैन भन्ने हो । युरोपका देशहरूमा पनि नेपालको संविधान केही वर्ग र समुदायलाई मन नपरेको कुरा सञ्चार भैसकेको छ । केवल यो भारतको समर्थनको मात्र चासोको विषय नै होइन । नेपालको राज्य र  सैनिक र मानव अधिकार कसरी प्रस्तुत हुन्छ भन्ने कुरालाई अन्तरराष्ट्रिय समुदायले नियाल्न सक्छन् ।

उदाहरणका लागि मधेस आन्दोलनको समयमा उत्यधिक बल प्रयोग भयो भनेर कैयौँ अन्तरराष्ट्रिय प्रतिवेदनहरू सार्वजनिक भएकै हुन् । त्यसैले जसरी समय र विकासक्रमहरू परिवर्तन भएका छन्, त्यसरी नै युद्ध र आन्दोलन पनि परिवर्तन हुन सक्छन् ।

युद्धको र संघर्षको नाममा हिजोको जस्तै जभाभावि गोली चलाउने युगको संभवत समाप्त नै भएको छ l तर, हतियारहरूको निर्माण र विकास भने युद्धकै लागि भएका हुन् । संसारबाट युद्धको सम्भावना कहिल्यै हट्दैन । फरक कहिले, कहाँ र किन हुन्छ भन्ने मात्रै हो ।

हिजोको जस्तो समय छैन भन्ने कुरा त्यो राज्य र संघर्षरत पक्ष दुवैको हकमा लागु हुन्छ ।

क्रान्तिको बाङ्गोटिङ्गो बाटो

अहिलेको चीन त्यसै हावाको झोकमा चीन भएको होइन । क्रान्ति र संघर्षको लामो कथा छ चीनको । माओले विभिन्न जन समूह र उनीहरूका आकाङ्क्षाहरुलाई कसरी सुझबुझका साथ परिचालित गरिनु पर्दथ्यो, एउटा क्रान्तिकारी सरकार स्थापना कसरी गरिनुपर्दथ्यो र कसरी उत्पीडित किसान सशस्त्रका बलहरू संगठित रुपमा खडा गरिनुपर्दथ्यो भन्नेबारे विचारहरू पनि प्रस्तुत गरे । यो माओको क्रान्तिकारी शक्तिहरूले कुन दिशा लिनुपर्छ भन्नका लागि स्पष्ट परिदृश्य थियो ।

अहिले विप्लव माओवादीले एकीकृत जनक्रान्तिको मोडल तयार पारेको छ। तत्कालीन युद्धमा सहभागी भएको माओवादी मूलतः संसदवादमा विलीन हुँदै पतनको दिशामा अगाडि बढेको र आत्मरक्षाका लागि आफूहरू अगाडि बढ्नुपरेको उनीहरूको दस्तावेजको मुख्य भाव देखिन्छ ।

वास्तवमा नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद क्रान्तिका लागि सधैंभरि खतरा बन्दै आएको छ

नेपालमा जस्तै चीनमा पनि ‘वाम’ अवसरवादले पछि गएर दक्षिणपन्थी लाइनको मार्ग अवलम्वन गरेको पाइन्छ । आत्मसमर्पणवाद हावी भएका घटनाहरू देखिन्छन् । चीनमा दक्षिणपन्थी लाइनसित भन्दा ‘वाम’ खोलभित्रको दक्षिण लाइनसित माओले लामो समयसम्म संघर्ष गर्नुपरेको इतिहास छ । दुखको कुरा, त्यो इतिहास नेपालमा पनि कायम रहन गयो ।

वास्तवमा नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद क्रान्तिका लागि सधैंभरि खतरा बन्दै आएको छ । यो कुरा गाउँ घरका लाटालाई पनि थाहा भैसक्यो । वाम अवसरवादले नेपाली कम्युनिस्ट आन्दोलनमा नकारात्मक असरहरू पारेको कुरा नौलो भएन । पुष्पकमल दाहाल प्रचण्ड एक उदाहरणीय पात्र  हुनुहुन्छ ।

“चिनियाँ क्रान्तिलाई विजयको प्राप्तितर्फ अगाडि बढाउन चारवटा महत्वपूर्ण चरणहरू पार गरेरमात्रै सफल भएको इतिहास छ । पहिलो क्रान्तिकारी गृहयुद्ध, दोस्रो जापान विरूद्ध प्रतिरोध युद्धको अवधि र तेस्रो क्रान्तिकारी गृहयुद्धको अवधि पार गरेर मात्रै चिनियाँ क्रान्तिले विजय प्राप्त गरेको थियो । ती सबै अवधिमा माओको पार्टीभित्र दक्षिण र ‘वाम’ लाइनहरूका विरूद्ध भिषण संघर्षको इतिहास छ ।

चिनियाँ क्रान्तिको इतिहासमा सन् १९२४ देखि १९२६ को सुरूसम्मको समयलाई पहिलो क्रान्तिकारी गृहयुद्ध भनिन्छ । यस अवधिमा महान् उथलपुथलका साथमा सर्वहारा र किसानसित मिलेर चिनियाँ क्रान्तिले तीब्रताका साथ साथ विकास गरेको थियो ।

१९२५ मे ३० मा ब्रिटिस पुलिसद्वारा प्रदर्शनकारीहरूको आमहत्याका विरूद्ध देशैभरि जनसमूहका सबै भागहरू संलग्न एउटा साम्राज्यवाद विरोधी जनताको आन्दोलनका रूपमा विरोध प्रदर्शन भयो । देश क्रान्ति र प्रतिक्रान्तिका बीचको एउटा निर्णायक लडाइको संघारमा थियो ।

के कमरेड विप्लव नेपालका माओत्सेतुङ बन्न सक्लान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment