Comments Add Comment

उपराष्ट्रपतिको चीन भ्रमणमा पत्नीदेखि पूर्वलडाकूसम्म !

चीनमा गएर के-के गर्दैछन् पुनले ?

nand_bahadur _china_visit (1)२८ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ११ सदस्यीय टोलीसहित शुक्रबार चीन प्रस्थान गरेका छन् । बिहान ११ बजे एयर चाइनाको उडानबाट उपराष्ट्रपतिको भ्रमण दल चीनको कुन्मिङ प्रस्थान गरेको हो ।

उपप्रधानमन्त्री तथा सहकारी एवं गरिबी निवारणमन्त्री चित्रबहादुर केसी र गृहमन्त्री शक्तिबहादुर बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर उपराष्ट्रपति पुनको विदाइ गरेका थिए ।

चीनको युनान प्रान्तीय जनकांग्रेस स्थायी समितिको निमन्त्रणामा चीन भ्रमणमा गएका उपराष्ट्रपति पुन असार २ गते स्वदेश फर्किने छन् ।

समकक्षीसँग भेट अनिश्चित

उपराष्ट्रपति बनिसकेपछि पुनको यो पहिलो विदेश भ्रमण हो । तर, एक साता लामो चीन बसाइका क्रममा उनी राजधानी बेइजिङ भने पुग्ने छैनन् । चीन भ्रमणका क्रममा उनले समकक्षीसँग भेट्ने पनि कुनै निश्चित छैन ।

उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म भेट्ने सेड्युल बनिसकेको छैन, उतै गएपछि मिलाउने कुरा छ ।’

जून १२ तारेख अर्थात् आइतबार कुन्मिङमा आयोजना हुने चौथो चीन-दक्षिण एशिया प्रदर्शनी तथा वस्तु व्यापार मेलामा चिनियाँ उपराष्ट्रपति वा उपप्रधानमन्त्री आउने कार्यक्रम छ । त्यहाँ जो आउँछ, उपराष्ट्रपति पुनले उसैसँग भेट्ने योजना रहेको भ्रमण टोलीका सदस्य समेत रहेका घर्तीमगरले बताए ।

भ्रमण टोलीमा को-को छन् ?

उपराष्ट्रपति पुनको भ्रमण टोली ११ सदस्यीय छ । टोलीमा उनकी पत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उपराष्ट्रपतिका स्वकीय सचिव एवं पूर्व लडाकू कमाण्डर सुकबहादुर रोका ‘शरद’, उपराष्ट्रपतिका प्रेस संयोजक घर्ती र उपराष्ट्रपतिका एडीसी प्रमुख सेनानी मनोजकुमार सिलवाल छन् ।

nand_bahadur _china_visit (3)यसैगरी भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल सुरेन्द्र थापा, प्रधानमन्त्री कार्यालयका उपसचिव अञ्जानकुमार मिश्र, परराष्ट्र मन्त्रालयका नायब सुब्बा जनक सिंह, उपराष्ट्रपति कार्यालयका खरिदार सृष्टि शाक्य, भाषा अनुवादक डा. हरिशचन्द्र शाह र प्रधानमन्त्री कार्यालयका एकजना प्रतिनिधि पनि छन् ।

यस्तो छ भ्रमण तालिका

काठमाडौंबाट चीन प्रस्थान गर्दा चेङदू एयरपोर्टमा उनको ट्रान्जिट पर्नेछ । त्यहाँबाट उनी राति कुन्मिङ प्रस्थान गर्नेछन् । शनिबार बिहान युनान प्रान्तका नेताहरुसँग भेटवार्ता तय भएको छ ।  दिउँसो युनान प्रोभेन्सियल इनर्जी इन्भेष्टमेन्ट ग्रुपको भ्रमण गर्ने कार्यक्रम छ ।

सोही दिन बेलुका कुन्मिङमा उपराष्ट्रपति पुनको स्वागतमा आयोजित रात्रीभोजमा उनी सहभागी हुनेछन् ।

आइतबार कुन्मिङ शहरमा आयोजना हुने चौथो चीन-दक्षिण एशिया प्रदर्शनी तथा वस्तु व्यापार मेलालाई उनले सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन दिउँसो एघारौं चीन-दक्षिण एसिया बिजनेस फोरमलाई उनले सम्बोधन गर्नेछन् । सोमबार सौर्य उर्जाको कम्पनी, औद्योगिक क्षेत्र र स्टन्ट फरेष्टको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी मंगलबार उपराष्ट्रपति पुन कुन्मिङबाट सिसवान तायनना ताई भन्ने स्थानका लागि प्रस्थान गर्नेछन् । कुन्मिङबाट त्यहाँ पुग्न एक घण्टा लाग्नेछ । सिसवानमा वाइल्ड फरेष्ट इलिफेन्ट पार्कको भ्रमण गर्ने र बेलुका स्थानीय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

बुधबार उपराष्ट्रपति पुनले सिसवानमा चिनियाँ विज्ञान एकेडेमीले बनाएको उष्ण बोटानिकल गार्डेनको भ्रमण गर्नेछन् । सोही दिन दिउँसो सिसवानमै हाइड्रोपावरको अवलोकन गर्ने कार्यक्रम पनि तय भएको छ ।

बिहीबार बिहान कासा भन्ने स्थानमा रहेको एक जनजाति गाउँको भ्रमण गरी दिउँसो कुन्मिङ फर्किने र सोही दिन काठमाडौंका लागि प्रस्थान गर्ने घर्तीमगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment