+
+

भ्रष्टाचारका स्वरुप

तुल खड्का तुल खड्का
२०७३ जेठ २८ गते १९:०७

भ्रष्टाचार विश्वव्यापी छ । मात्रात्मक रुपमा कम र बढीको प्रसंग मात्र हो । फरक त्यति हो हाम्रोमा अलि धेरै हुन्छ अरुकोमा कम हुन्छ । यो सीमा विहिन राज्य विरुद्धको अपराध हो । यसबाट पीडित राज्य र नागरिक दुवै हुन्छन् ।

राजनीतिक स्वरुप

‘सन् २०१५ मा अष्ट्रेलियाकी सभामुख ब्रोनयीन राजिनामा दिइन्, सन् २०१५ मै रोमानियाका प्रधानमन्त्री भिक्टर पोन्टाको सम्पत्ति रोक्का गरियो र सन् २०१६ मे महिनामा ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाअभियोग प्रस्ताव पारित गरियो’ कारण थियो, सरकारी कोषको अपचलन र भ्रष्टाचार ।

tul_khadkaयी राजनीतिक स्तरमा हुने भ्रष्टाचारका केही प्रतिनिधि घटना मात्र हुन् । यो क्रम विश्वमा चलिरहन्छ । जसबाट नेपाल पनि अछुतो नहुनसक्छ ।

राजनीतिक तहमा हुने भ्रष्टाचार होलसेल प्रकारको भ्रष्टाचार हो । यहाँ म्याक्रो लेवलको भ्रष्टाचार हुन्छ, जसलाई ग्राण्ड करपसन भनिन्छ । नेपालमा राजनीतिक तहमा हुने भ्रष्टाचारको हिँसा बढी रहेको तथ्य वर्षेनी टिआइले सार्वजनिक गर्ने गरेको छ । जबसम्म राजनीतिक तहमा हुन् भ्रष्टाचार न्यूनीकरण हुँदैन, तबसम्म प्रशासनिक लगायतका वृतमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिँदैन ।

राजनीति र प्रशासनबीचमा पनि चेक एण्ड ब्यालेन्सको नियम लागु हुन्छ । एकले गरेका कुकर्महरुलाई अर्कोले नियन्त्रण गर्ने क्षमता राख्नुपर्दछ । यदि यसो भएन भने राजनीतिक संस्कार र प्रशासनिक मूल्य सखाप भई भ्रष्टाचारको एलाइन्स निर्माण हुन्छ । जब एलायन्स हुन्छ, तब त्यहाँ भ्रष्टाचारले मलजल पाउने र हुर्कने सम्भावना अत्यधिक हुन्छ ।

राजनीति सबै संयन्त्रको मियो हो । हरेक राज्यमा राजनीतिको छत्रछायामा अन्य क्षेत्र हुर्केका हुन्छन् । मुहान सफा भए मात्र नदीमा बग्ने पानी सफा र कञ्चन हुन्छ । मुहान प्रदुषित बनाएर खोलामा बग्ने पानी शुद्ध खोज्नु हत्केलाले सूर्य छेक्नु सहर हुन्छ । विकासको मामिलामा, सशक्तीकरणको मामिलामा, सामाजिक जागरण र चेतनाको अभियानमा बटन टु अप अपरोच लागु हुन्छ । तर, भ्रष्टाचारको सुली सफाइको अभियानमा भने टप टु बटम अप्रोच लागु हुन्छ र हुनुपर्दछ ।

माथिल्लो तहबाट सफा गर्दै जाने हो भने भ्रष्टाचार नियन्त्रण र न्यूनीकरण मात्र होइन, अन्तत निर्मूलीकरणको दिशामा उन्मूख हुन्छ । तर, यो धेरै टाढाको विषय भए पनि आजै, अहिल्यै म र महरुबाट सुरु गरिहाल्नु पर्नेछ । भ्रष्टाचारजन्य गतिविधिको बहिष्करण र विरोध गर्ने समाज र संस्कारको विकास गर्न सक्यौं भने भावी पुस्तालाई दिने योभन्दा ठूलो उपहार के हुन सक्छ ? जुन उपहार समाजको चौतर्फी वृहत्तर विकासको कोसेढुङ्गा सावित हुनेछ ।

राजनीतिकर्मीसँगको बल प्रशासनिक बेत्तासँगको किताबी ज्ञानबीच नियन्त्रण र सन्तुलन भएन भने त्यही भ्रष्टाचारको काउछो नामक वृक्ष उम्रने सम्भावना हुन्छ जसले सबैलाई आजित बनाउनेछ । भ्रष्टाचारको रुखमुनि विकास, प्रगति, सम्वृद्धि र सुशासनको बोट तहस-नहस भएर सखाप हुन्छन् । यो उच्च कोटीको भ्रष्टाचार भएकाले लुप्त अवस्थामा रहेको हुन्छ, जसको विषयमा सर्वसाधारण नागरिक जानकार हुँदैनन् ।

सत्तामा टिकिरहन आफ्ना नजिकलाई जागिर दिने, ठेक्कापट्टामा कमिसन खाने, आफ्नो वरपरकालाई आर्थिक लाभ बाँड्ने, अपराधीलाई संरक्षण दिने, चुनावमा भोट किन्ने, राष्ट्रलाई नोक्सान पुर्‍याउने र पोलिसी करप्सनसम्मका भ्रष्टाचार यस तहमा हुने गर्दछन् ।

प्रशासनिक स्वरुप

प्रशासनिक क्षेत्रमा राजनीतिक क्षेत्रको भन्दा तुलनात्मक रुपमा अलि कम भ्रष्टाचार हुन्छ । यो फुटकर र खुद्रा प्रकारको हुन्छ । टीआइले निकाल्ने विभिन्न वर्षका प्रतिवेदनमा राजनीति पछिको भ्रष्टाचार हुने क्षेत्र भनेकै प्रशासनिक क्षेत्र भएको तथ्य उल्लेख गरिएको छ । यो तहको भ्रष्टाचार सर्वसाधारणले सहज रुपमा देख्न र स्पर्श गर्न सक्छन। यो सेवाग्राही र कर्मचारी तथा कर्मचारी र राज्यबीच गरी दुई तहमा हुन्छ ।

राजनीतिकर्मीसँगको बल प्रशासनिक बेत्तासँगको किताबी ज्ञानबीच नियन्त्रण र सन्तुलन भएन भने त्यही भ्रष्टाचारको काउछो नामक वृक्ष उम्रने सम्भावना हुन्छ जसले सबैलाई आजित बनाउनेछ

वस्तु तथा सेवा सुविधाको विनिमय गर्दा लिइने रिसवत, छिटोकाम बापतको अतिरिक्त सुल्क सेवाग्राही र कर्मचारी बीच हुने भ्रष्टाचार हो । जसको साक्षी सेवाग्राही हुन्छ र पीडित पनि सेवाग्राही हुन्छ । यस प्रकारको बदमासी मालपोत, नापी, वन, यातायात, वैदशिक रोजगार, भन्सार, अध्यागमन र प्रशासन कार्यालयहरुमा हुने गर्दछ । जुन माइक्रो लेबलको हुन्छ । जहाँ सेवाग्राहीहरु स्वयम प्रत्यक्ष संलग्न रहेका हुन्छन । यस्तो प्रकृतिको भ्रष्टाचारबारे सेवाग्राही बोलिदिनुपर्छ, भनिदिनु पर्छ ।

दोस्रो, राज्य र कर्मचारीबिच हुने भ्रष्टाचार, यसको पीडित राज्य हुन्छ । यस बारे बोलिदिने प्रत्यक्ष मान्छे हुँदैन । पेश्की लिएर र्फछ्यौट नगर्ने, काम देखाउन फर्जी बील भरपाई गरी भुक्तानी लिने, नाम मात्रका विकास प्रतिवेदन बनाउने. कमिसनको रस चुस्ने, घोटाला, कालोबजारी महंगी नियन्त्रणमा उदासीनता र आवश्कताको सिद्धान्त विपरीत विनियोजन गरिएको विकास आयोजना यस प्रकारका भ्रष्टाचारका उदाहरण हुन् ।

विकासात्मक स्वरुप

चौडा बाटोघाटो बन्नु, फराकिलो सडक हुनु, स्वास्थ्य चौकीको भवन बन्नु, पुल निर्माण हनु, स्कुलका भवनहरु बन्नु, खानेपानीका धारा बन्नु र बिजुली बत्ति घरआँगनसम्म पुग्नु नागरिकको नजरमा विकास हो । भौतिक र संरचनात्मक विकासलाई नै नागरिकले विकास सम्झने गर्दछन् । नागरिकले राज्यसँग गर्ने इच्छा यिनै हुन् । नेपालले छैठौं योजनादेखि नै आधारभूत आवश्यकता पूर्ति गर्ने उद्देश्य बोकेर हिँडेको रथ चौधौं योजनाको प्रारम्भिक विन्दुमा आइपुग्दा पनि रथ एक कदम पनि अगाडि बढ्न सकेको छैन । हाम्रा नागरिकहरु खुल्ला आकाशमुनि सुत्छन् हामी टुलुटुलु हेर्छौ, विद्यार्थी जीवन जोखिममा राखेर चिण्डा भीडेर स्कुल जान्छन् । आफ्नै जिल्लाको सदरमुकाम जान छिमेकी देश भएर जानुपर्छ र गाउँको गरिब सिटामोल नपाएर मर्छ । तर, हाम्रो विकास काजमा, फाइलमा र प्रतिवेदनमा सीमित हुन्छ ।

जुन दिनसम्म यस प्रकारका आधारभूत सेवाहरु परिपूर्ति हुँदैनन् त्यो दिनसम्मसुशासन कायम हुन सक्दैन । नागरिक माझ सुशानसको प्रत्याभूति नभएसम्म भ्रष्टाचार घटेको ठानिँदैन । यसको सम्बन्ध मानवीय गरिबीसँग जोडिएको हुन्छ । विकासका नाममा गरिने भ्रष्टाचारले कार्यालयको प्रगति त बढ्यो, तर नागरिकको विकासको चाहना तहस-नहस पार्‍यो ।

अन्तर्राष्ट्रिय स्वरुप

कुनै एक मुलुकमा भ्रष्टाचार तथा यस्तै प्रकारका अपराध गरी कमाएको धन अर्को देशमा लगेर शुद्ध गर्ने समय पनि आयो । यसको पछिल्लो उदाहरण सन् २०१६ अपि्रल ३ मा सार्वजनिक भएको ‘पानामा पेपर्स’ कर छली प्रयोजनका लागि विदेशमा छद्म नाममा कम्पनी खोलेको आशंका गरिएका शक्तिशाली राजनीतिज्ञ, तिनका परिवार र विभिन्न मुलुकका प्रतिष्ठित व्यक्तिहरुको नामावली र तिनको कारोबार संलग्नताको उद्धृत गरिएको थियो । जहाँ केही नेपालीको समेत जोडिएको थियो । यो भ्रष्टाचारको नयाँ स्वरुप हो ।

मानव बेचबिखन, मुद्राको निर्मूलीकरण, जीवजन्तुको चोरीशिकारी र तिनका अंगहरुको अवैधानिक ओसार-पोसार र बेचविखन जस्ता राज्यविरुद्धका अपराध झट्ट हेर्दा भ्रष्टाचारका स्वरुप नभए पनि अन्तोगत्वा भ्रष्टाचार नै हुन् । जसको ठूलो क्षति राज्य र त्यसका नागरिकले भोग्नुपर्दछ ।

अन्त्यमा, अख्तियारको आफ्नै संवैधानिक काम, कर्तव्य र अधिकार छ । यतिले मात्र भ्रष्टाचार विरुद्धको अभियानमा अपेक्षाकृत सफलता प्राप्त नहुन सक्छ । त्यसका लागि सशक्त नागरिक समाज, जागुरुक युवा, प्रेस तथा मिडिया, स्वतन्त्र र सक्षम न्यायपालिकाले अर्थपूर्ण भूमिका खेलिदिनु पर्दछ । भ्रष्टाचार नियन्त्रण गर्न बनाइएका कानून र जाहेर गरेका राजनीतिक प्रतिवद्धताहरु व्यवहारिकरुपमा उत्रिनु पर्दछ । यसको पूर्णनियन्त्रण कुनै एक संगठन, पात्र, र निकायबाट सम्भव नभएकाले भ्रष्टाचार नियन्त्रणको अभियानमा अनेकतामा एकता र होस्टेमा हैसे गर्न तत् क्षेत्रबाट लागि दिनुपर्दछ । सबैले हातेमालो गर्नेबेला आयो । जागौं र जुटौं ।

लेखकको बारेमा
तुल खड्का

राजनीतिशास्त्र र द्वन्द्व व्यवस्थापनमा स्नातकोत्तर गरेका लेखक राजनीतिक र प्रशासनिक विषयमा रूचि राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?