+
+
Shares

नयाँशक्तिलाई माओवादी कार्यकर्ताको व्यंग्य- अबको निकास, विज्ञापनको विकास !

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३० गते १४:२३

Naya-Shakti,-Baburam,-Deuwa३० जेठ, काठमाडौं । नयाँ शक्ति नेपालको आक्रामक प्रचार शैलीको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । माओवादी परित्याग गरेर नयाँ शक्तिमा लागेका डा. बाबुराम भट्टराईको आलोचनामा माओवादी निकट व्यक्तिहरु बढी सक्रिय देखिएका छन् ।

बेलायतमा बस्ने लेखक बासु मिश्रले दशरथ रंगशालामा एक लाख मानिस उतार्ने घोषणा गरेर नयाँ शक्तिले झूटो प्रचार गरेको बताएका छन् ।

दशरथ रंगशालाको क्षमता एक लाखभन्दा कम भए पनि नयाँ शक्तिले एक लाख मानिस उतार्ने भनेर झूठो प्रचार गरेको मिश्रको भनाइ छ । मिश्र माओवादीप्रति सहानुभूति राख्ने लेखक हुन् ।

मिश्रले फेसबुकमा लेखेका छन्, ‘पश्चिमपट्टिकको प्याराफिटमा मानिस बस्न नमिल्ने गरी रातो स्टिकर टाँसेको अवस्था छ र दर्शक दीर्घामा २५ हजारभन्दा बढी अट्दैनन् र चौरमा मञ्च, प्रेस सेन्टर र अन्य सुविधाका लागि ठाउँ छुट्याएर बचेको स्थानमा पनि त्यति नै संख्यामा अटाउलान् र यसरी हेर्दा अधिकतम ५० हजारभन्दा बढीको उपस्थिति सम्भव देखिन्न ।’

मिश्र अगाडि लेख्छन्, ‘मलाई उनीहरुले जतिसुकै मान्छे जम्मा गरेर भोजभतेर गरे पनि कुनै असर पर्दैन । र, न म तिनीहरुको संगठनप्रति आकर्षित हुनेवाला नै छु । तर, कमसेकम विश्वास लाग्ने कुरा किन गरिरहेका छैनन् भन्नेसम्म मात्रै मेरो सरोकार हो र शुरुदेखि कसैले झूठको सहारा लिन्छ भने भविश्यमा तिनीहरुले नेपालीहरुलाई कता डोहोर्‍याउलान् भन्ने मात्रै मेरो प्रश्न हो ।’

नयाँ शक्तिले बन्दसत्रमा सहभागीहरुलाई मात्रै बिरयानी खुवाउने निर्णयलाई ‘भेदभाव गरेको’ भनेर उनले व्यंग्य गरेका छन् ।

‘१,५०० प्रतिनिधिलाई मात्रै बिरयानी ख्वाउने कुरा कतै पढेर थाहा पाएँ र यदि यो सत्य हो भने अहिले बिरयानी खानेहरु नै कालान्तरसम्म सपथमात्रै खानेहरुका मालिक रहिरहनेछन् । पार्टी नै नबन्दासम्म सबैको हैसियत एउटै होइन र ?’

मिश्रले फेसबुकमा स्टाटस लेखेर प्रश्न गरेका छन्, ‘महत्व र अभिभारा कमवेशी हुन सक्ला भलै अनि जम्मा भएका जतिले हामी यति जनामध्येबाट तिमीले गएर बिरयानी खानु बाँकी हामी सपथ खाएर बसौंला भनेर प्रतिनिधि कहिले चुने त ?’

त्यस्तै माओवादी समर्थित क्रान्तिकारी पत्रकार लेखनाथ न्यौपानेले औद्योगिक घराना दुगड समूहलाई पनि नयाँ शक्तिले विज्ञापनमा उछिनेको टिप्पणी गरेका छन् । न्यौपानेले लेखेका छन्, ‘विज्ञापनमा त मोति दुगडको नव नेपाल निर्माण पार्टीलाई पनि जितेछ नयाँ शक्तिले ।’
माओवादी केन्द्रका अर्का नेता हिमाल शर्माले माओवादीबाट अलग भएका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिलाई घुमाउरो तरिकाले गैरकम्युनिष्टको संज्ञा दिएका छन् । शर्माले लेखेका छन्, ‘म एउटा कम्युनिष्ट हुँ । त्यसैकारण आज म रंगशालाको सपथ खाँदिन ।’

माओवादी केन्द्रका युवा नेता युवराज चैलागाईले अरुलाई फजुल खर्च गरेको भन्ने बाबुराम आफैले फजुल खर्च गरेर दोहोरो चरित्र देखाएको टिप्पणी गरेका छन् ।

‘अरुले गरे व्यक्ति पूजा, आफूले गरे नेतृत्व स्थापित गर्ने आवश्यक कदम । अरुले गरे फजुल खर्च, आफ्नो चाहिँ व्यवस्थित प्रचार,’ चौलागाईं लेख्छन्, ‘अरुका अनुभवसिद्ध विचार अस्पष्ट, आफ्नो निराकार र अमूर्त विचार सही । दोहोरो मापदण्डका नयाँ मानक श्री बाबुराम भट्टराई !’

माओवादी केन्द्र निकट वाइसीएलका महासचिव रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पनि नयाँ शक्तिको विज्ञापनमा गरेको खर्चमा प्रश्न उठाएका छन् । दीपशिखाले लेखेका छन्, ‘नयाँ शक्ति भव्य बन्ने भो, प्रचारको भोक नरहेका बाबुराम आज लाखौं तिरेर सबै पत्रिकाको पहिलो पेजमा आएछन् । वाह बाबुराम, क्या नयाँ शक्ति !’

माओवादी केन्द्र निकट पत्रकार खिलबहादुर भण्डारीले पनि नयाँ शक्तिले विज्ञापनमा गरेको खर्चलाई व्यंग्य गरेका छन् । उनले लेखेका छन्ः

‘नयाँ शक्तिका काइदा, ठूला अखबारलाई फाइदा !
सित्तै भन्दै ढाँटेको, थाहा छ हजुर भ्याटविल काटेको !!
अबको निकास !
विज्ञापनको विकास !!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?