३० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशाला पुगेर बाबुराम भट्टराईको नयाँ शक्ति नेपाललाई राम्रो काम गरोस् भनेर शुभकामना दिएका छन् ।
पूर्व प्रधानमन्त्री भट्टराईको नेतृत्वमा आइतबार नयाँ शक्ति नेपाल पार्टी घोषणा भएको छ । पार्टी घोषणासभामा शुभकामना दिन पुगेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले नयाँ शक्तिले नेपालीको एकता, स्वाभिमान, आर्थिक उन्नतिका लागि काम गरोस् भनेका छन् ।
बन्दै गरेको पार्टीले यो काम गरेन, उ काम गरेन भन्न नमिल्ने भन्दै उनले भने, ‘बनिसकेपछि के काम गर्छ हेर्नपर्छ । म आशा अपेक्षा गर्छु, राम्रो काम गरोस् ।’
उनले अघि भने, ‘म स्पष्टै छु …म सम्भावना देख्छु, शायद यस पार्टीले एमाले बाहेक अरु पार्टीलाई धक्का दिन सक्छ ।’ आफूले कुनै पार्टीप्रति आग्रह पूर्वाग्रह नराख्ने भन्दै उनले सबैलाई शुभकामना दिएर आफ्नो मन्तव्य टुंग्याएका थिए ।
त्यसअघि प्रधानमन्त्री ओलीले नयाँ संविधानले कुनै पनि भूगोलका जनतालाई विभेद नगरेको बताए । सबैलाई समान अबसर दिएको भन्दै उनले, ‘यदि कहीँ कतै केही छ भने छलफल गर्न हामी तयार छौं । सरकार अग्राहहीन छ ।’ आफूले आइतबार नै असन्तुष्ट पक्षहरुलाई वार्तामा आउन आहृवान गरेको उनले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले अब संघीयता, प्रादेशिक संरचनालाई पूर्णता दिएर संविधान कार्यान्वयन गर्दै मुलुकलाई विकासको बाटोमा अघि बढाउनु पर्ने बताए ।
अब नेपाल गरिब भइरहन नसक्ने भन्दै उनले यसका लागि संकल्प गर्नु पर्ने बताए । आफ्नो नेतृत्वको सरकारले विकासको अभियान सुरु गरिसकेको भन्दै उनले भने, ‘नेपालले विकास गर्न नहुने कुनै कारण छैन । हामी विकास गर्न सक्षम छौं ।’
प्रतिक्रिया 4