Comments Add Comment

घूस मागेको भन्दै वन अधिकृत कुटिए

अधिकार बाहिरको काम गर्न नमान्दा कुटिएः अधिकृत

Ghus३२ जेठ, डोटी । डोटीको बर्छैन गाविसस्थित लानाकेदारेश्वर इलाका वन कार्यालय विपिनगरमा कार्यरत सहायक वन अधिकृत गुञ्जन गहतराज घूस मागेको आरोपमा कुटिएका छन् ।  स्थानीय जटिवुटी ठेकेदारसँग घुस मागेको भन्दै उनी कुटिएका हुन् ।

जडिवुटी ठेकेदार टेकवहादुर बोहरालाई जिल्ला वन कार्यालय डोटीले छुटपुर्जी दिएको भएपनि इलाका वन कार्यालय विपिनगरका प्रमुख गहतराजले ५० हजार नदिएसम्म जाँचपास पुर्जी नदिने बताएपछि बिबाद भएको ठेकेदार बोहोराको दाबी छ ।

पूर्जी दिन अस्विकार गरेपछि ठेकेदारका छोरा हर्क बोहोराले सहायक अधिकृत गहतराजमाथि कुटपिट गरेका थिए । प्रहरी नियन्त्रणमा रहेका हर्कले भने ‘जटिवुटी बोकेको गाडी रोकेको कारण बुझ्न खोज्दा उहाँले मलाई गाली गर्दै हातपात गर्न खोज्नु भयो अनि मैले पनि सहन नसकेर कुटे ।’ उनी भन्छन् ‘राज्यलाई कर पनि तिर्नुपर्ने वनका कर्मचारीलाई घुस पनि दिनुपर्ने यो कस्तो नियम हो ?’

बोहराको कुटाइबाट घाइते भएका गहतराजको आँखा र दातमा चोट लागेको र काठमाडौंमा उपचार भइरहेको छ ।

अनलाइनखवरसँग कुरा गर्दै गहतराजले भने ‘मलाई जाँचपास पुर्जी दिनु पर्‍यो भन्दै आएका थिए तर मैले मेरो अधिकार क्षेत्रभित्र नपर्ने वताएपछि कुटपिट गरेका हुन ।’ निरौली गाबिसबाट निकासी भएको जडीबुटीको जाँचपास पुर्जी दिने अधिकार इलाका वन कार्यालय जोरायललाई भएको वताउँदै गहतराजले आफूलाई जवरजस्ती अधिकार क्षेत्रभन्दा वाहिरको काम गर्न भनेको तर आफूले नमानेपछि कुटपिट गरेको वताए ।

उनले भने ‘राती आठ वजे आएर जाँचपास पुर्जी दिनु पर्‍यो भन्छन, मेरो अधिकार क्षेत्र भन्दा वाहिरको कुरा मैले कसरी दिने ?’ आफूले घूस नमागेको वताउँदै गहतराजले भने ‘आफ्नो गल्ती लुकाउनलाई आरोप त जे लगाइदिए पनि हुन्छ नि !’ आफुले प्रहरीमा उजुरी दिएको वताउँदै गहतराजले सत्यतथ्य छानबिन गरी दोषीमाथी कारवाहीको माग गरे ।

वुधवार रातीको समयमा विपिनगर स्थित एक होटेल परिसरमा कुटपिट भएको र उक्त समयमा आरोपी बोहरा र सहायक वन अधिकृत गहतराज मदिराको मातमा रहेको स्थानीयबासीहरुको भनाइ छ ।

गएको बुधवार कुटपिट भएको भएपनि तीन दिनपछि मात्रै इमेल मार्फत उजुरी दिएका गहतराज अहिलेसम्म पनि प्रहरीको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरी नायव उपरीक्षक उद्धवदेव भट्टले भने ‘इमेलबाट आएकोलाई पनि हामीले दर्ता गर्न मिल्ने भएका कारण उजुरी दर्ता भएको छ तर उहाँ अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन ।’

आफ्नो कर्मचारीमाथी कुटपिट भएको तर के कति कारणले भयो भन्ने विषय छानविनको क्रममा रहेको जिल्ला वन कार्यालय डोटीका जिल्ला वन अधिकृत बदि्रकुमार कार्कीले जानकारी दिए ।

आफू कुटिएको वारे गहतराजले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको तथा आफुलाई पनि बोधार्थ आएकोले घटनास्थलमा पुगी जानकारी लिइसकेको कार्कीको भनाइ छ ।

कर्मचारी माथी कुटपिट हुनु गलत भएको बताउदै कार्कीले भने ‘घूस मागेको साँचो ठहरिए सहायक वन अधिकृत गहतराजलाई कानुन वमोजिम कारवाही गरिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment