Comments Add Comment

पुरातत्व विभाग र महानगरपालिकाको बिबादले सम्पदा पुनर्निर्माणमा समस्या

Basantapur Darbar३२ जेठ, काठमाडौँ। भूकम्प गएको एक वर्ष बितिसक्दा पनि महानगरका अधिकांश सम्पदाको पुनर्निर्माण सुरु हुन सकेको छैन ।

काठमाडौँ महानगरपालिकाका अनुसार पुरातात्विक सम्पदाको पुनर्निर्माणको काम गर्दा पुरातत्व विभागसँगको अनुमतिबिना काम सुरु गर्न नसक्ने भएकाले कामले गति लिन नसकेको हो ।  “सरकारले सम्पदाको पुनःनिर्माणलाई विशेष प्राथमिकतामा राखेपनि पुरातत्व विभागले एक वर्ष बितिसक्दा समेत अनुमति नदिएकाले काम हुन नसकेको हो ।” कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

आगामी आर्थिक वर्षका लागि जारी गरिएको बजेटमा पनि पुनःनिर्माणलाई प्राथमिकतामा राखेको छ, तर पनि काम हुन नसक्नु दुःखको कुरो भएको प्रमुख कार्कीले बताए ।

महानगरले सम्पदा निर्माणका लागि पुरातत्वलाई घच्घचाइरहेको भए पनि विभागबाट प्रतिक्रिया आएको छैन । विभागले पुनःनिर्माणका लागि अनुमति दिएसँगै महानगरपालिकाले सम्पदा निर्माणको कामलाई तीव्रताको साथ अघि बढाउँने उनकाे भनाइ छ ।

कार्कीका अनुसार महानगरभित्रका सम्पदासम्बन्धी कुनै पनि कार्यका लागि पुरातत्व विभागको स्वीकृति चाहिन्छ । हालसम्म सिंहदरबारकै पुनःनिर्माण हुन सकेको छैन । त्यस्तै, हनुमानढोका, धरहरालगायतको पुनर्निर्माण पनि कुरामा मात्र सीमित भइरहेको छ ।

महानगरभित्रका सम्पदा पुनर्निर्माणका लागि पुरातत्व विभागले डिजाइन तयार गर्ने तथा बजेट तयार गर्नुपर्छ । महानगरपालिकाअन्तर्गतका सम्पदा पुनःनिर्माण पनि पुरातत्व विभागले स्वीकृति नदिएकै कारण अगाडि नबढेको बताइएको छ ।

त्यसोत कामपाको पुरानो भवनको पुनःनिर्माणमा समेत विवाद आएको छ । महानगरले सो भवनलाई भत्काएर सोहीअनुरुपको अर्को नयाँ भवन निर्माण गर्ने निर्णय गरेको थियो । महानगरले नयाँ भवन बनाउन डिजाइन समेत तयार गरिसकेको जानकारी दिए ।

तर, पुरातत्व विभागले बागदरबारमा रहेको सो भवन भत्काउन नदिने भएपछि काम रोकिनुका साथै महानगरपालिका सबै विभाग भाडामा बसेर नागरिकलाई सेवा दिन बाध्य भएका छन् ।

पुरातत्व विभागले कामपालाई पठाएको पत्रमा संरचनाको अवस्था हेरी आवश्यकताअनुसार मजबुतीकरण गर्ने भनेको छ । त्यस्तै, संरचनाको बाहिरी, भित्री खुल्ला ठाउँमा थप कुनै संरचना निर्माण नगर्ने, राणाकालीन वास्तुकला, प्रविधि, वास्तुकृति र स्वरुपको मौलिकतालाई कायम राख्ने सो पत्रमा उल्लेख छ ।

पुरातत्व विभागले बागदरबारको अस्तित्व जोगाउन भन्दै भवन यथावत राखी मर्मत सम्भार गर्ने भनेको छ । महानगरपालिकाले भने बागदरबार कार्यालयका लागि पनि उपयुक्त नभएकाले नयाँ डिजाइनमा निर्माण गर्ने भन्दै आएको छ ।

पुरातत्व विभागले राणाकालीन वास्तुकलाको संरक्षण गर्ने भन्दै सो भवन भत्काउने स्वीकृति नदिएको हो । प्रत्येक सम्पदाको पुनःनिर्माण गर्दा माटो निकाल्नेदेखि सबै काममा पुरातत्व विभागको स्वीकृति लिनुपर्ने हुन्छ । पुरातत्वले स्वीकृति दिन ढिलाइ गर्दा काम सुस्त भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment