Comments Add Comment

अमेरिकामा नेपाली सामाजिक संघ संस्थाहरुमा पारदर्शिताको कमी

अमेरिकामा दैनिकजसो नेपालीहरु आउने क्रम तिव्र बनिरहेको छ । अवस्य पनि राम्रो अवसरको लोभमा अमेरिका आउन खोज्नु सबैको चाहना बनेको छ जुन स्वाभाविक पनि हो ।

नेपालमा दैनिकरुपमा बढ्दै गएको वेरोजगारिको समस्या, राजनितिक अस्थिरताका कारण पनि अवसरको भुमि मानिने अमेरिकामा नेपालीहरुको आकर्षक बढ्दै जानु कुनै नौलो कुरा देखिदैन । नेपालीहरुको बढ्दो संख्यासँगै अमेरिकामा विभिन्न लक्ष्य र उद्देश्य राखेर आपसी हित र जन्मभुमिलाई सहयोग गर्ने अभिप्रायले विभिन्न नामका सामाजिक संघ संस्थाहरु खुलिरहेका छन् ।

prakash shrestha
लेखक

अवस्य पनि यस्ता सामाजिक संघ संस्था खुल्नाले नेपाली समुदायमा एक किसिमको आत्मविश्वास र अपेक्षा बढ्नु स्वाभाविक पनि हुन्छ । कतिपय यस्ता संस्थाहरुले नेपाली समुदाय वीचमा लोकप्रिय कामहरु पनि संचालन गरेका हुन्छन् ।

विशेष गरि विभिन्न सांस्कृतिक कार्यक्रमहरु, विभिन्न हेल्थ क्याम्प वा शिविरहरु आयोजना गर्ने, ब्लड डोनेशन कार्यक्रम आयोजना गर्ने, खेलकुद, साहित्यिक कार्यक्रम लगायतका रचनात्मक गतिविधी संचालन गर्ने, विभिन्न चाडबाड, पर्वहरु, उत्सवहरुमा विभिन्न कार्यक्रम संचालन गर्ने, विशेष कार्यमा सहयोग जुटाउन फण्ड रेज प्रोग्राम संचालन गर्ने, समुदायमा जनचेतना एवं कानुन सम्बन्धी महत्वपुर्ण जानकारी गराउन विभिन्न गोष्टी एवं सोमिनारहरुको आयोजना गर्ने, समसामयिक विषय वस्तुहरुलाई समेटेर विभिन्न ओरिन्टेसन कार्यक्रम गर्ने, नेपाली वस्तुहरुको प्रदर्शनी लगायत नेपाली कला, संस्कृतीको जगेर्ना गर्ने हिसावले विभिन्न कार्यक्रम संचालन गर्ने गरेको पनि पाईन्छ ।

यस्तै थुप्रै कार्यक्रमहरु अमेरिकी लाईफको व्यस्तताको वावाजुद पनि आयोजना गर्नु भनेको पक्कै पनि सराहनिय एवं प्रसंशनिय कामको रुपमा हेर्नु पर्छ ।

यसरी विभिन्न कार्यक्रमहरु संचालन गरिने भएतापनि कतिपय सामाजिक संस्थाहरु नेपाली समुदायहरुबाट विभिन्न बाहानाबाजी गरेर आर्थिक संकलन गर्ने र काम चलाउ देखावटी कार्यक्रम संचालन गर्ने र विल, भर्पाई मिलाएर केही व्यक्तीहरुले मिलीजुली रकम बाँडीचुडी खाने गर्ने आरोप पनि विभिन्न समयमा सतहमै छताछुल्ल हुने गरि आएको पनि देखिन्छ ।

हुन पनि कतिपय सामाजिक संघ संस्थाहरुमा यस्ता गतिविधीले प्रश्रय पाएको हुनकी भनि आशंका राख्ने ठाउँहरु पनि प्रशस्त रहेको देखिन्छ किनकी यस्ता संस्थाहरुले कहिल्यै पनि सामाजिक लेखा परिक्षण गरेको देखिदैन अर्थात् पार्दर्शीरुपमा आर्थिक हिसावकिताव सर्वसाधारणलाई जानकारी गराएको पाईदैन ।

कति सम्म भने कुनै विशेष कार्यक्रम गर्नको लागी नेपाल वा अन्य स्टेटबाट विभिन्न विशेष व्यक्तीहरुलाई आमन्त्रित गरेर आफ्नो घर वा रेष्टुरेन्टहरुमा खान बस्नको लागी व्यवस्था गर्ने र बाहिर प्रचारमा फलानो मेरो साथी यति बर्ष पछि भेट भयो आफ्नो घरमा वा रेष्टुरेन्टमा स्वागत गर्न पाउँदा खुशी लाग्यो भनेर सामाजिक संजालहरुमासँगै साथमा फोटो खिंचाएर राख्ने तर पछि त्यसरी एक दुई छाक साथीको हिसावले खान बस्न दिएको भनेकोमा पनि वास्तविकतामा पनि अझै थपथाप गरेर विल, भर्पाई बनाएर संस्थाको कार्यक्रम खर्चमा देखाउने गरेको समेत कतिपय सामाजिक संस्थामा कार्यकारी समितीमा रहेर काम गरेका व्यक्तीहरुबाटै बाहिर चर्चा परिचर्चा गरेको पाईन्छ । यसले गर्दा पनि स्वच्छ हिसावले नेपाली समुदायहरुबाट उठाईएको सहयोग रकमको सदुपयोग भएको देखिदैन् ।

अझै अहिले कतिपय राज्यहरुमा अमेरिकन राजनितीक निकायमा संलग्न हुन अर्थात् अमेरिकन राजनितीक फाँटका विभिन्न निकायमा चुनावमा लड्नको लागी समेत नेपाली समुदायमा थुप्रै आर्थिक सहयोग संकलन गर्ने तर चुनावमा जित वा हार भएपछि समेत के, कति रकम कहाँबाट संकलन भयो र के, कति रकम कसरी सदुपयोग गरियो त्यसको समेत जानकारी सार्वजनिक नगर्ने र चुनाव पश्चात नेपाली समुदायमा कुनै किसिमको सहयोग र सद्धभाव नदेखाउने समेत गुनासो बढ्दै गएको छ ।

जसरी नेपाली नेताहरुले चुनावमा विभिन्न व्यक्तीहरुबाट चुनाव लड्न आर्थिक सहयोग जुटाउँछन् त्यही पाराले अमेरिकन सिनेटर, कंग्रेसम्यान, हाउस अफ रेप्रिजेन्टेटिभ, नगर प्रमुख लगायत विभिन्न पदमा चुनावी मैदानमा उत्रिनको लागी समेत प्रायः नेपालीहरुको बाक्लो बस्ती रहेका स्टेटहरुमा विभिन्न तरिकाबाट आर्थिक सहयोग जुटाउने गरिएको पाईन्छ ।

वास्तवमा अमेरिकन राजनितीक फोरममा सहभागी हुँदा विशेष रुपमा थुप्रै रकमको जरुरत हुने गर्दछ तथापी यसैको बहानामा राजनितीलाई व्यापार त बनाईरहेका छैनन् नेपाली अमेरिकनहरुले अमेरिकाको मुलधारको राजनिती गरिरहेका छौ जुन नेपालीजनको पहिचान र हितकै खातिर हो भन्ने भावुकता आमरुपमा नेपाली समुदायमा अभिव्यक्त गरेर भन्ने पनि जनगुनासो सुन्ने गरिन्छ ।

यसलाई पनि आगामी दिनहरुमा तमाम नेपालीमुलका उमेदवारहरुले विभिन्न निकायमा उमेदवारी दिएर चुनाव समाप्त भएसँगै आर्थिक गतिविधीलाई पारदर्शि ढंगले सार्वजनिक गर्नु आवस्यक छ अन्यथा आगामी दिनहरुमा नेपाली समुदायबाट आर्थिक सहयोग संकलन गर्न कठिन हुनेछ ।

कतिपय सामाजिक संघ, संस्था विभिन्न बाहना बनाएर देखावटि कार्यक्रम बनाएर पैसा खाएर नेपालबाट मान्छेहरु ल्याउने धन्दामा पनि क्रियाशिल छन् भन्ने गरिन्छ

यस्तै गरि विगतलाई यसो फर्केर हेर्ने हो भने पनि नेपालमा भुकम्प गएको समयमा सबै सामाजिक संघ, संस्थाहरु र कतिपय व्यक्तीहरुबाट आर्थिक एवं भौतिक सामाग्री संकलन गरेर नेपाल पठाए तर वास्तविक रुपमा के, कति सहयोग संकलन भयो र के, कसरी, कुन, कुन, ठाउँमा नेपालमा वितरण गरियो त्यसको बारे स्पस्टरुपमा सार्वजनिक रुपमा जानकारी दिने काम कमै मात्रामा केही संघ, संस्थाहरुबाट मात्र गरिएको पाईयो । कतिपयले त नेपालकै नेताहरुको पारामा भौतिक सामग्री र आर्थिक रकम दुरुपयोग गरेको पनि आशंका गरिएको छ ।

अमेरिकामा यतिका धेरै संघ, संस्थाहरु छन् तापनि कमै संघ, संस्थाहरु मात्र नेपाली समुदायको वास्तविक हितका लागी काम गरेका छन् र आर्थिक पारदर्शिता कायम गरेका छन् । कतिपय सामाजिक संघ, संस्था विभिन्न बाहना बनाएर देखावटी कार्यक्रम बनाएर पैसा खाएर नेपालबाट मान्छेहरु ल्याउने धन्दामा पनि क्रियाशिल छन् भन्ने गरिन्छ । कतिपय व्यक्तीहरुको भनाईलाई आधार बनाउँदा त्यसमा आंशिक सत्यता पनि देखिने गरेको पाईन्छ ।

अझै कलाकारहरुको ओहिरो बढ्दै जानु र नाम चलेका कलाकारको साथमा लागेर काम चलाउ कलाकार बनेर पनि धेरै व्यक्तीहरु सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रममा आउनु साथै विभिन्न व्यापारिक प्रदर्शनीहरुको नाममा त्यसै गरि नाम चलेका व्यवसायीहरुको साथ लागेर अन्य कहिल्यै नामनै नसुनेका नयाँ व्यक्तीहरु अनुभवी व्यवसायी बनेर आएर यतै बस्नुले समेत यस कुरालाई थप प्रमाणित गर्न खोज्दछ ।

यस्ता गतिविधी जे जसरी हुन्छन् त्यसमा औला ठड्याउने काम कहिकतैबाट होला त्यो भन्दा पनि समुदायको हितको नाममा आर्थिक भ्रष्टाचार गर्ने काम कतैबाट पनि नहोस् भन्ने कुरालाई जोड दिन खोजिएको छ ।

हामीलाई थाहाँ छ नेपालीहरु जे जसरी पनि अमेरिका आउन चाहन्छन् र त्यसमा विदेशमा खोलिएका सामाजिक संघ, संस्थाहरुले पनि केही हदसम्म सहयोग गरेका छन् तर रात दिन मिहिनेत गरेर खाने आम नेपालीहरुको आँखामा छारो हालेर सामाजिक संघ, संस्थाहरुले काम नगरुन, आर्थिक पारदर्शीता कायम गरेर साँच्चिकै नेपाली समुदायमा हित हुने गरि काम गरुन भन्ने सबैको चाहना वा सुभेच्छा हो ।

अमेरिका मात्र हैन स्वदेश तथा विदेश जहाँतही संचालनमा आएका सामाजिक संघ, संस्थाहरुमा आर्थिक पारदर्शिता हुनै पर्छ अन्यथा यस्ता संघ, संस्थाहरु प्रति जनविस्वास घटेर जान्छ ।

  बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment