१ असार, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिले जनताको आशा र विश्वासको सञ्चार गर्दै विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन् । बिस्तारै विकास गर्ने समय र छुट आफूहरुलाई नभएको भन्दै उनले अब छलाङ मारेर समृद्धिमा लाग्नुपर्ने बताए ।
नयाँ शक्ति निकट प्रवासी संगठन अन्तर्राष्ट्रिय नेपाली समाजका प्रतिनिधिहरुसँग बुधबार पार्टी कार्यालय बबरमहलमा अन्तरक्रिया गर्दै उनले भने, ‘हामी विकास विकास भनेर नारा मात्रै दिँदैनौं, विकास र समृद्धिलाई पहिलो र उच्च प्राथमिकतामा राखेर अगाडि बढ्छौं ।
नमूना कामको तयारीमा जुटिरहेको जानकारी गराउँदै उनले केही नमूना कामहरु गरेर जनतामा आशा र विश्वासको सञ्चार गर्ने दाबी गरे । ‘नयाँ शक्ति तन, मन र धनले नै विकास र समृद्धिमा समर्पित हुन्छ,’ उनले भने, ‘नयाँ शक्तिले भन्ने मात्र होइन, गरेर नै देखाउँछ ।’
नयाँ शक्तिले सुरुमा प्रचारात्मक र नमूना कामहरु सुरु गर्ने र सरकारमा गएपछि आफ्ना योजनाहरु लागू गरेर मुलुकलाई समृद्ध बनाउने डा. भट्टराईले बताए ।
उनले प्रवासी नेपालीहरुलाई स्वदेशमा आफ्नो श्रम, सीप र पुँजीको लगानी गर्न अनुरोध पनि गरे । ‘नेपालको विकास गर्न पहिला नेपाली नै लाग्नुपर्छ,’ उनले चीन र भारतको विकासको डायस्पोराको नेतृत्वदायी भूमिका उल्लेख गर्दै भने, ‘नेपाली आएपछि मात्र विदेशीहरु लगानी गर्न आउँछन् ।’
लगानी एकद्वार प्रणालीबाट भित्र्याउनुपर्ने उनले धारणा राखे ।
प्रतिक्रिया 4