Comments Add Comment

संघ संस्थाले भूकम्प पीडितका १९ हजार घर बनाउने, २२ अर्ब खर्च

Gorkha Laprak, earthquake Victims (19)५ असार, काठमाडाैं । भूकम्पमा ध्वस्त संरचना पुनर्निर्माणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले साढे २२ अर्ब रुपैयाँ खर्च गर्ने भएका छन् ।

संघसंस्थाले भूकम्पपीडितका १९ हजार ४ सय ५२ निजी अवास तथा विद्यालय र स्वास्थ्यचौकी भवन निर्माण गर्ने प्रस्ताव राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वीकृत गरेको छ ।

प्राधिकरणले १७ संघसंस्थाले पेस गरेको पुनर्निर्माण प्रस्ताव स्वीकृत गरेको हो । प्रस्ताव स्वीकृत भएका संस्थाले २२ अर्ब ३६ करोड पाँच लाख ९७ हजार दुई ४४ रुपैयाँ खर्च गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणमा २७ भन्दा बढी संघसंस्थाले प्रस्ताव पेस गरेका थिए ।

प्राधिकरणका अनुसार पुनर्निर्माणमा सबैभन्दा ठूलो रकम सेभ द चिल्ड्रेनले खर्च गर्दै छ । उसले नौ अर्ब ८७ करोड ६९ लाख ७४ हजार रुपैयाँ खर्चेर विद्यालय तथा स्वास्थ्यचौकीका एक हजार ६ सय भवन निर्माण गर्ने प्राधिकरणले जनाएको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

रेडक्रस सोसाइटीले सात अर्ब ३७ करोड ९४ लाख  दुई हजार ९० रुपैयाँ खर्च गर्दै छ । उसले विद्यालय भवन तथा स्वास्थ्यचौकीका ६ हजार भवन निर्माण गर्ने भएको छ ।

क्यारिटेस नेपालले एक अर्ब ५६ करोड १८ लाख तीन हजार दुई सय तीन रुपैयाँ खर्चेर काभ्रे, सिन्धुपाल्चोक र दोलखामा चार हजार चार सय ४० नमुना घर निर्माण गर्नेछ ।

गैरआवासीय नेपालीहरूको संस्था एनआरएनएले २८ करोड ८९ लाख ३६ हजार चार सय ८२ रुपैयाँको लागतमा गोरखाको लाप्राकमा पाँच सय ७३ नमुना घर निर्माण गर्ने प्राधिकरणले जनाएको छ । धुरमुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकमा तीन करोड २५ लाख रुपैयाँमा ६५ वटा नमुना घर निर्माण गने भएको छ ।

वर्ड रिन्यु संस्थाले नुवाकोटमा २४ करोड आठ लाख ९३ हजार ६  सय ९३ रुपैयाँमा तीन सय ३२ घर, ह्याबिटेट फर ह्युम्यानिटीले ३१ करोडमा नुवाकोटमा तीन सय ५० घर निर्माण गर्नेछ । प्राधिकरणका अनुसार लुथेरन वर्ड फेडेरेसनले रसुवामा ८८ करोड ९३ लाख ५६ हजार लागतमा दुई हजार एक सय २४ आवास, सुमारिटन पर्सले २५ करोडमा रसुवामा पाँच सय घर बनाउनेछ । हेन्भेट्स नेपालले ४६ करोड ५९ लाख पाँच हजारमा सिन्धुपाल्चोकमा एक हजार घर निर्माण गर्नेछ ।

लुमती सपोर्ट गु्रप फर सेल्टरले ३० करोड ६९ लाख आठ हजार १० रुपैयाँमा काठमाडौं चन्द्रागिरीमा आठ सय ५० घर निर्माण गर्ने भएको छ । त्यस्तै, टियर फन्डले नुवाकोटमा २३ करोड ३० लाख ८४ हजार रुपैयाँ लागतमा ६ सय घर निर्माण गर्ने प्राधिकरणले जनाएको छ ।

लुथरन वर्ड रिलिफले नौ करोड ९५ लाख ८६ हजार रुपैयाँ लागतमा गोरखामा तीन सय आवास बनाउँदै छ भने आइएनएफ नेपालले २४ करोड १५ लाख ४० हजार रुपैयाँमा गोरखाको छोप्राकमा एक सय आठ घर निर्माण गर्ने स्वीकृति पाएका छन् ।

इडेखले ललितपुरमा १० करोड ५५ लाख ४८ हजार नौ सयको लागतमा दुई सय ५० घर निर्माण गर्ने प्राधिकरणले जनाएको छ । ओरेक नेपालले तीन करोड रुपैयाँ र मेडारले पाँच करोडमा नमुना बस्ती निर्माणको स्वीकृति पाएका छन् ।

यसअघि प्राधिकरणले प्यानल इन्टरनेसनल नेपाललाई पुनर्निर्माणमा दुई अर्ब ७९ करोड ९९ लाख ९९ हजार नौ सय ९९ रुपैयाँ खर्च गर्न स्वीकृति दिइसकेको छ । उसले दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीमा खानेपानी तथा सरसरफाइका लागि काम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment