८ असार, काठमाडौं । अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएका १२ नेपालीको शव बुधबार अपराहृन काठमाडौं विमानस्थलमा ल्याइपुर्याउँदा सिंगै देश भावहि्वल बन्यो ।
वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका १२ नेपाली तालिबानको आक्रमणमा मारिएको तीनदिनपछि उनीहरुको शब बाकसमा हालेर स्वदेश ल्याइएको हो ।
क्यानेडियन दूताबासमा सुरक्षागार्डका रुपमा कार्यरत उनीहरु ड्युटीमा जाने क्रममा आतंकवादी आक्रमणमा परेका थिए । घटनामा मारिएकाहरुको शव नेपाल सरकारले चार्टर विमान पठाएर नेपाल ल्याएको हो ।
मृतकको शव कफनमा राखिएको थियो भने बाहिर पासपोर्टको फोटोकपी टाँसिएको थियो । कमाउनका लागि विमान चढेर अफगान गएका आफन्तजन बाकसमा कैद बनेर फर्किँदा परिवार र आफन्तले आफूलाई थाम्न सकेनन् ।
कोही बाकसमा टाँसिएको तस्वीर सुमसुम्याइरहेका देखिन्थे भने कोही त्यही बाकसलाई आगालो हालेर डाँको छोडिरहेका थिए ।
विमानस्थलमा आफन्तको रुवाबासी चलेको थियो । काबुलमा ज्यान गुमाएकाहरको पत्नी, छोराछोरी तथा आफन्त भावविहृवल थिए । चार महिने छोरा काखमा बोकेकी सञ्चिता लामा पनि पति जितेन्द्रसिंह कार्कीको शव बुझ्न विमानस्थल पुगेकी थिइन् ।
यो शोकको घडीमा विमानस्थलमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्रीसमेत उपस्थित थिए । मृतकहरुप्रति श्रद्धान्जली दिन प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत लगायत विमानस्थल पुगेका थिए ।
यो शोकको घडीले रमेश बीजीको यो गीतको सम्झना गराइरहेको प्रतीत हुन्थ्यो-
‘कालो बादल नीलो आकाशमा,
गयौं आमा चढेर जहाजमा, फर्क्यौं बाकसमा
भिडियो हेर्नुस्
प्रतिक्रिया 4