Comments Add Comment

सामान्य विवादपछि जितेन्द्रको शव दुबै श्रीमतीले बुझे

छोराको न्वारन गरी काबुल गएका थापा बाकसमा फर्किए

Kabul attack, Nepalese Deadbody in Airport (6)

८ असार, भैरहवा । अफगानिस्तानको काबुल आक्रमणमा ज्यान गुमाएका रुपन्देही बुटवल देवीनगरका जितेन्द्र थापाको शव आफन्तले बुझेका छन् । दुर्इ श्रीमतीवीचकाे विवाद पनि प्रहरीले मिलाएकाे छ ।

दुर्घटनामा मारिएका १२ नेपालीको शव सरकारले नेपाल एयरलाइन्समार्फत बुधबार दिउँसो काठमाडौं ल्याएको थियो । लगतै नेपाली सेनाको हेलिकप्टरले थापाको शव भैरहवा पुर्‍याएको हो ।

शव आएको केहीबेरमै थापाकी कान्छी श्रीमती सञ्चिता लामा ४ महिने छोरा बोकेर बुद्ध एयरमार्फत भैरहवा आएकी थिइन् । उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि पुगेकी थिइन् ।

विवाह दर्ता भएको प्रमाण नपुगेको भन्दै रुपन्देही प्रशासनको पहलमा थापाको शव रुपन्देही ल्याइएको हो ।

थापाकी जेठी र कान्छी श्रीमती विमानस्थलमा भेटिए । शव कसले बुझ्ने भन्नेमा दुई परिवारबीच समान्य विवाद समेत भएको छ । सञ्चिताले जेठीसँग जितेन्द्रको सम्बन्ध विच्छेद भइसकेको कारण श्रीमानको शव बुझ्ने र अन्त्येष्टि गर्ने अधिकार आफुले पाउनुपर्ने दाबी गरिन् ।

विवाद मिलाउन कान्छी र जेठी दुबै श्रीमती, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, प्रहरी प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ्ग र सामाजिक अगुवा शिव सुवेदीबीच छलफल भयो ।

छलफलपछि दुवै श्रीमतीले सहमतिमा भैरहवा विमानस्थलमै श्रीमान थापाको शव बुझेर बुटवल घर लगेका छन् ।

थापा जेठी श्रीमतीसँग छुटि्टएर कान्छीसँग बस्दै आएको खुलेको छ । जेठी श्रीमतीसहित २ छोराले थापाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मानाचामलको मुद्दा दायर गरी फैसला अनुसार छुटि्टएर बसेका थिए ।

जेठी छुटि्टएपछि थापा भने पछिल्लो समय कान्छी श्रीमतीसँग काठमाण्डौं बस्दै आएका थिए । गत फागुनमा नेपाल आएका उनी कान्छी पट्टीको छोराको न्वारन गरी काबुल गएका थिए । तर, अब उनी कहिल्यै नफर्कने गरी बाकसमा फर्किएका छन् ।

जेठी श्रीमतीका परिवारले इसाइ धर्म मान्ने हुदाँ इसाइ धर्मअनुसार दाहसंस्कार गर्ने र कान्छीले थापा र आफु हिन्दु भएको भन्दै हिन्दु संस्कार अनुसार दाहसंस्कार गर्नुपर्ने दाबी गरेका छन् ।

दाहसंस्कार सामाजिक रितिरीबाज र घर सल्लाह गरेर गर्ने गरी शब बुझाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए । थापाको बिहीवार बुटवलमा दुबै श्रीमती र घरको सल्लाह र सहमतिमा दाहसंस्कार गरिने सामाजिक अगुवा शिव सुवेदीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment