Comments Add Comment

डुंगा व्यवसाय : महिला सक्रियता बढ्यो

Fewa-Lake

९ असार, पोखरा । लेखनाथ नगरपालिकास्थित बेगनास तालमा डुंगा चलाउने र माछा मार्ने व्यवसायमा महिला सक्रियता बढेको छ । यस व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि महिला आकर्षित बनेका हुन् ।

बेगनास ताल आसपासका क्षेत्रमा बस्दै आएका २० जनाभन्दा बढी महिला डुङ्गा चलाउने पेसामा सक्रिय बनेका डुंगा चालक सीता हिमालीले बताइन् । ‘आम्दानी मनग्य छ, डुङ्गा चलाएरै जीविका धान्न सहज भएको छ’ उनले भनिन्- ‘पछिल्ला वर्षमा पुरुष कामको खोजीमा विदेशिएका कारण महिलाको सक्रियता बढ्न थालेको छ ।’

बेगनास तालमा हाल लगभग ३०० डुंगा सञ्चालनमा आएको जानकारी गराउँदै हिमालीले तालमा स्वदेशी तथा विदेशी पर्यटक डुंगा चलाउने, घुम्ने उद्देश्यले आउने गरेका बताइन्  । पाँच वर्षयता आफूले डुंगा चलाउने व्यवसाय अंगालेको बताउँदै उनले भनिन्- ‘घन्टाको रु ४५० लिने गरेका छौँ, कोही आफैँ डुंगा चलाउने गरी आउँछन्, उनीहरू चलाउन दक्ष देखिए भाडामा पनि दिने गरेका छौँ ।’

लेखनाथ नगरपालिका वडा नं-९ र १० का अधिकांश बासिन्दा डुंगाबाटै आवतजावत गर्ने गर्छन् । डुंगा चलाउने व्यवसायका साथै यहाँका महिला माछा मार्ने व्यवसायमा समेत सक्रिय रहँदै आएका पिप्ले महिला समूहकी अध्यक्ष माया जलाहारी बताउँछिन् ।

‘माछा मार्ने व्यवसायबाट यथेष्ट आम्दानी गर्न सकिन्छ’ उनले भनिन्- ‘यही व्यवसायबाट घरपरिवारको खर्च, छोराछारीको पढाइ लेखाइ चलेको छ ।’ बेगनास ताल किनारामा बस्ने जलाहारी समुदायका ४२ घरपरिवार माछा मार्ने र डु+गा चलाउने व्यवसायमा आवद्ध छन् । जलाहारी समुदायका २५ जना महिला माछा मार्ने व्यवसायमा सक्रिय छन् ।

कास्की जिल्लाको दोस्रो ठूलो बेगनास ताल समुद्री सतहबाट ६५० मिटरको उचाइमा छ । विसं २०४४ मा बाँध बनाउनुअघि २२४ हेक्टर क्षेत्रफल रहेको यो ताल बाँध बनाएपछि ३७३ हेक्टरमा फैलिएको छ ।

तालको औषत गहिराई ६.५ मिटर भए पनि अधिकतम गहिराई ११ मिटर रहेको बेगनास रुपा ताल संरक्षण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दिनानाथ ढकालले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment