Comments Add Comment

प्रधानमन्त्रीसँग प्रचण्ड असन्तुष्ट, राष्ट्रिय सरकार गठनको पहल गर्ने निर्णय

Prachanda_2

१८ असार, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीप्रति असन्तुष्ट देखिएका छन् । साथै उनी नेतृत्वको दल माओवादीले राष्ट्रिय सहमतिको सरकार गठनको पहल गर्ने निर्णय गरेको छ ।

शनिबार दिउँसो बसेको माओवादीको केन्दीय कार्यालय बैठकमा नेताहरुले सरकारबारे चासो राखेका थिए ।

जवाफमा प्रचण्डले सरकारको नेतृत्व गरिहेको दल एमाले र प्रधानमन्त्री ओलीप्रति असन्तुुष्टि जनाए । उनले दुई दलबीच गत वैशाखमा भएको नौबुँदे सहमति इमान्दारितापूर्वक कार्यान्वयन नभएको र भद्र सहमतिबारे पनि चासो नदिएको गुनासो पोखे ।

प्रचण्डले आवश्यक पर्‍यो भने ओली सरकारको विकल्प खोज्ने संकेत दिए । एक नेताले भने, ‘अध्यक्षले हाम्रो प्राथमिकता शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने र मुलुकुलाई निकास दिने हो । जे छ, त्यो ठीक छ भन्ने मात्र सोच्नु हुन्न ।’

गत वैशाख चौथो साता भएको सरकार परिर्वतनको प्रयास असफल पार्ने क्रममा एमाले र माओवादीबीच नौबुँदे सहमति भएको थियो । त्यस क्रममा बजेट पासभएपछि प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको नेताहरुको दाबी छ । तर, प्रधानमन्त्री स्वयंमले भने भद्र सहमति भएको दाबीलाई अस्वीकार गर्ने गरेका छन् ।

माओवादी केन्द्रको बैठकमा नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीको चारबुँदे एजेण्डा प्रस्तुत गर्दै राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने बताए ।

आफूहरु सरकार परिर्वतनमा केन्द्रीत नभएको भन्दै उनले माओवादीको प्राथमिकता एजेण्डा भएको बताए । उनका अनुसार शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्नु, मधेसका आन्दोलनकारीसँग वार्ता गरेर समस्या समाधान गर्दै २०७४ माघ ७ भित्र तीनवटै चुनाव गर्दै संविधान कार्यान्वयन, पुनर्निर्माणलाई तिव्रता दिनु, राष्ट्रिय स्वाधिनताको रक्षा माओवादीको पहिलो एजेण्डा छ ।

राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै माओवादीले त्यसको मूर्त रुपमा राष्ट्रिय सहमतिको सरकार भएको निष्कर्ष निकालेको छ । यसका लागि नौबुँदे कार्यान्वयन लगायतका विषयमा एमालेसँग गम्भिर छलफल गर्ने उसको निर्णय छ ।

साथै राष्ट्रिय सहमति जुटाउन कांग्रेस लगायतसँग छलफल गर्ने माओवादीको निर्णय छ । एमाले, कांग्रेससहितका दलहरुसँग छलफल गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

यद्यपि माओवादीले राष्ट्रिय सहमतिको सरकार ओलीकै नेतृत्वमा बन्न सक्ने पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment