+
+

जग्गा प्लटिङ गर्न कुन बैंकको कति लगानी ? (सूचीसहित)

प्लटिङमा कुल लगानी ४० अर्ब, एक वर्षमै १३ अर्ब बढ्यो

पुष्प दुलाल पुष्प दुलाल
२०७३ असार २० गते १०:४०

Land-plotting
२० असार, काठमाडौं । लगानी योग्य पुँजीको पर्याप्तता (अधिक तरलता)को चापमा रहेका बैंकहरुले लगानीका लागि नयाँ क्षेत्र नपाएपछि घरजग्गामा लगानी बढाउन थालेका छन्। खडेरी किन्न र जग्गा प्लटिङ गर्न वाणिज्य बैंकहरुले  ०७२ चैत मसान्तसम्ममा ४० अर्ब १७ करोड ६५ लाख रूपैयाँ लगानी गरेका छन् ।

उक्त शीर्षकमा बैंकहरुले एक वर्षको अवधिमा १३ अर्ब रुपैयाँले लगानी बढाएका छन् ।  ०७१ चैत मसान्तमा बैंकहरुले यही शीर्षकमा बैंकहरुले २६ अर्ब ८० करोड २५ लाख रुपैयाँ लगानी गरेका थिए ।

‘भूकम्पपछि अपार्टमेन्टमा आकर्षण घट्यो, मान्छेहरु घरजग्गामा आकषिर्त भए । मुलुक संघीयतामा जाने भएपछि मोफसलका शहरहरुमा घरजग्गामा लगानी बढेको छ ।’

लगानी बढाएपनि बैंकहरुले हाउजिङ तथा रियस्टेटमा गरेको लगानी कूल लगानीको १३ प्रतिशतमात्रै छ । एउटै क्षेत्रमा २५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाइने राष्ट्र बैंकको व्यवस्था छ ।

एक वर्षमा १३ अर्ब रुपैयाँले कर्जा बढ्नु सामान्य भएको नेपाल बैंकस संघका अध्यक्षसमेत रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी उपेन्द्र पौडेलले बताए ।

०७१ चैत मसान्तमा बैंकहरुको कूल लगानी १० खर्ब ९१ अर्ब रुपैयाँ थियो भने चालु आर्थिक वर्षको चैत मसान्तमा कुल लगानी बढेर १२ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । असार दोस्रो सातासम्ममा बैंकहरुको कुल लगानी १३ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

‘एक वर्षको अवधिमा बैंकहरुको कूल लगानी १ खर्ब ७४ अर्ब रुपैयाँले लगानी बढेको छ,’ पौडेलले अनलाइनखबरसँग भने- ‘यसलाई आधार मानेर हेर्ने हो भने घडेरी तथा जग्गा शीर्षकमा बढेको १३ अर्ब रुपैयाँ सामान्य वृद्धि हो ।’

तर, पछिल्लो समयमा घरजग्गाको कारोबार बढ्न थालेको र बैंकमा ऋण माग्न आउनेहरुको संख्या पनि बढेको उनले जानकारी दिए ।

‘एकातिर भूकम्पपछि अपार्टमेन्टमा आकर्षण घट्यो त्यसपछि त मान्छेहरु घरजग्गामा आकषिर्त भएका छन्,’ पौडेलले भने- ‘मुलुक संघीयतामा जाने भएपछि मोफसलका विभिन्न शहरहरुमा घरजग्गामा लगानी बढेको छ । बैंकमा ऋण माग्न आउनेहरूको संख्या बढ्दो छ ।’

जग्गाको र घर निर्माणको मुल्य पनि बढिरहेकाले १ करोडसम्मको ऋणलाई रियलस्टेटमा नगन्ने राष्ट्र बैंकको सहुलियत बढाउनुपर्ने उनको भनाई थियो ।

घडेरी तथा जग्गामा बैंकहरुको लगानी (रु. हजारमा)

बैंक ०७१ चैत ०७२ चैत
नविल २२८९८२९ २०९९२९२
सानिमा ९७९२३५ २१००२४४
सिटिजन १९७०००० १९८६५९२
ग्लोबल आइएमइ १४३५६४० १६६२२६०
बीओके ४२५२८१ ३५४४९७
एनसीसी  ५६०२८३  २६९५१३
लुम्बीनी  ७३५७०२ १५७२४६०
एसबीआइ  १६०७७६१ २०२०७२६
लक्ष्मी ५९२२० ३२६६१
स्टान्डर्ड चार्टर्ड १०६३८८५ ११०९६७१
जनता  ६०१६३२ ६०८८९१
इन्भेष्टमेन्ट २१२६६६१ २०६५८१२
सिद्धार्थ १७९४१७० २७८७४०१
प्रभु ८६५४४२ २१८७८४४
एनआइसी एसिया १५२१८०१ १२१११०९
एभरेष्ट ३३५०४ ३५४६३
सनराइज ५२१३८७ ६९१५३६
एनएमबी ५९०१७७ १९७२६१२
कुमारी १११४०६२ १०४२४७७
एनबी ३६०८३० २१३७२००
हिमालय १७०९४०६ १९३०४००
प्राइम २१८९०७१ २८६१३४८
सिभिल ९२१६९१ ८२२३३६
मेगा २७५०४१ १३३४५९७
सेन्चुरी  ४२८९७९ ६४८२२२
माछापुच्छ्रे ९८९४८५ १२०१७९०
कृषि विकास  –   –
नेेपाल ९०५८८७ १५९६४७८
राष्ट्रिय वाणिज्य ५२६१०३ २०५४१२६
जम्मा २६८०२५०३ ४०१७६५६४

यी हुन २ अर्ब बढी लगानी गर्ने बैंक

नविल बैंक, सानिमा बैंक, एसबिआइ बैंक, इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, एनबी बैंक र पूर्ण सरहकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले घडेरी तथा जग्गामा प्रतिबैंक २ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ ।

यी हुन् अर्ब बढी लगानी गर्ने बैंक

एघार वटा बैंकले यस शीर्षकमा १ अर्बभन्दा बढी र २ अर्ब रुपैयाँभन्दा कम लगान्ी गरेको वित्तीय विवरणमा उल्लेख छ । जसमा सिटिजन्स बैंक, लुम्बीनी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एनआइसी एसिया, एनएमबी बैंक, कुमारी बैंक, हिमालयन बैंक, मेगा बैंक, माछापुच्छ्रे बैंक र नेपाल बैंक छन् ।

यी हुन् थोरै लगानी भएका बैंक

लक्ष्मी बैंक, एनसीसी बैंक, बैंक अफ काठमाण्डू, जनता बैंक, एभरेष्ट बैंक, सनराइज बैंक र सेञ्चुरी बैंकले यस शीर्षकमा १ अर्ब रुपैयाँभन्दा कम लगानी गरेका छन् । कृषि विकास बैंकले आफ्नो वित्तीय विवरणमा यो शीर्षक नै उल्लेख गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?