Comments Add Comment

प्रबुद्ध समूह बैठकः पुराना सन्धी सम्झौता पुनरावलोकन गर्न भारत तयार

EPG-Meeting,-Nepal-India

२० असार, काठमाडौं । नेपाल-भारत सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यले गठित प्रबुद्ध समूह (इपीजी)को बैठक सोमबार काठमाडौमा सुरु भएको छ ।

बैठकको उदघाटन गर्दै परराष्ट्रमन्त्री कमल थापाले वर्षौं पुराना सम्झौताले अहिलेका माग र आवश्यकतालाई सम्बोधन नगर्ने भन्दै सन् १९५० को शान्ति तथा मैत्री सन्धी पुनरावलोकनका लागि तयार हुन भारतलाई आग्रह गरे ।

उदघाटनका क्रममा मन्त्री थापाले इपीजीको बैठक दुबै मुलुकका लागि सम्बन्ध सुधार गर्ने उपयुक्त अवसर भएको बताए । उनले दुई मुलुकको सम्बन्ध सन्धी र सम्झौताबाट अगाडि बढ्ने भन्दै विगतका सन्धी र सम्झौतामा पुनरावलोकन आवश्यक रहेको बताए ।

प्रबुद्ध समूहमा नेपालका तर्फबाट डा. भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई सदस्य हुनुहुन्छ । यस्तै भारतका तर्फबाट भगतसिंह कोसियारी, जयन्त प्रसाद, प्रा. महेन्द्र पी लामा र प्रा. बीसी उप्रेती छन् ।

उदघाटन सत्रमा भारतीय प्रबुद्ध समूहको नेतृत्व गरेका भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीले भारतले कहिल्यै पनि नेपालको अहित नचाहेको भन्दै विगतका सन्धी सम्झौता पुनरावलोकनका लागि भारत तयार रहेको बताए । उनले भारतीय र नेपालीको रगत समूह एउटै भएको भन्दै भारत नेपाललाई विच्क्याउने र अपहेलित गर्ने पक्षमा नरहेको प्रष्ट्याए ।

नेपाली प्रबुद्ध समूहको नेतृत्व गरेका पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले विगतमा भएका कतिपय सन्धी सम्झौताका कारण उत्पन्न तिक्तता मेटाउन बैठकमा सक्दो प्रयास गरिने बताए ।

दुबै देशका प्रबुद्ध समूहले बैठकका एजेण्डा सार्वजनिक गरेका छैनन् । बैठक मंगलबारसम्म चल्ने छ । बैठकमा सन् १८१६ को सुगौली सन्धी तथा सन् १९५० को शान्ति तथा मैत्री सन्धी खारेजीको प्रस्ताव गर्न सीमाविदहरुले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment