+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘कक्टेल’ सीपको कमालः बारटेन्डरमा जम्दै नेपाली युवा

 रासस  रासस 
२०७३ असार २३ गते १०:३८

cocktail
२३ असार, काठमाडौं । वैदेशिक रोजगारी भन्नासाथ सबैले दुःख पाउँछन् भन्ने छैन । सीप र जाँगर भए पैसा मात्र होइन सम्मानित बन्ने अवसरसमेत पाउँछन् ।

कर्मशील यस्तै नेपालीले आफ्नो इमान्दारिता र मिहिनेतले युरोपमा आफ्नो पहिचान र गौरवलाई बढाइरहेका छन् । झापा जिल्लाको भद्रपुर–२ का ३४ वर्षीय राजु आलेमगर तिनै प्रतिनिधि पात्र हुन् जसले युवा अवस्थामै युरोपमा आफ्नो पहिचान बनाए । उनको सफलताको कथाले सायद अरु धेरै नेपाली युवालाई कर्मशील हुन पे्ररित गराउँछ ।

आलेले इटालीको प्रख्यात ‘मेडिटेरानियन सिपिङ कम्पनी’ (एमएससी) मा शानका साथ सेवा गरिरहेका छन् । उनीजस्ता कामदारले मासिक बढीमा दुई हजार ५०० डलरसम्म कमाउँछन् । “यहाँ काम गर्ने धेरै नेपालीको सपना हुन्छ, तर सबैले पाउँदैनन्”, ‘जग्लर बारटेन्डर’ भएर काम गर्ने आले भन्छन्, “मिहिनेत र धैर्यताले यो सफलता मिलेको हो ।”

सन् २००८ देखि यो क्षेत्रमा लागेका उनले व्यावसायिक तालिम लिएका छन् । भारतीय व्यावसायिक बारटेन्डर मन्दीप अग्रवालसँग विशेष प्रशिक्षण लिएका आलेको आलाकाट होटल ट्रेनिङ सेन्टरबाट करियर सुरु भएको थियो । दरबारमार्गको इन्सोमेनिया, लाजिम्पाटको एटिक बार, ठमेलको द फ्याक्ट्री रेस्टुरेन्ट एण्ड बारमा लामो समय काम गरेपछि आलेको युरोपतिरको यात्रा तय भयो ।

एमएससी कम्पनीका १३ वटा ठूला पानीजहाज छन् । झन्डै महिनादिनको जहाज यात्रामा आले व्यावसायिक बारटेन्डरका रुपमा काम गर्छन् । जहाजबाटै स्पेन, फ्रान्स, स्विट्जरल्यान्ड, ट्युनिसिया घुमिसके । उक्त कम्पनीमा आलेसहित करिब ७० जना नेपाली कामदार छन् ।

करिब ४३ हजार यात्रुलाई सेवा दिनु चानचुने विषय हैन । डेढ वर्षदेखि काम गर्दै आएका आलेले नेपाली कामदारले अशिक्षाकै कारण विदेशमा दुःख कस्ट भोग्नुपरेको अनुभव सुनाउँदै आफूले लाखौँ खर्चेर सिकेको सीपले अहिले सफलता मिलेको बताए ।

समा दिदी कुसुम आले र भान्जी सम्झना बिष्टको प्रेरणा उत्तिकै थियो । उनको बुझाइमा भाषामा राम्रो ज्ञान, जुन काममा जाने हो त्यसबारे आवश्यक तालिम लिएर जाँदा कामदारले समस्या भोग्नुपर्दैन ।

के हो ‘बारटेन्डर’ ?

त्यसो त नेपालमा पनि ‘बार’ को प्रचलन बढेको छ, केही बार गुणस्तरीय पनि छन् । तर, अधिकांशले मापदण्ड पूरा गर्दैनन् । बारका नाममा डान्स, डिस्को, रेस्टुरेन्ट बार आदि नाम राखेर अनेक धन्दा चलाइरहेका हुन्छन् ।

cocktail-2अन्तर्राष्ट्रिय मान्यताअनुसार बार त्यो हो जहाँ अन्तर्राष्ट्रिय ब्रान्डका मदिरा मात्रै बिक्री वितरण हुन्छन्, बारका ग्राहक पनि स्तरीय र नियमित हुन्छन् । बार भन्नासाथ रक्सी भट्टी सम्झिने नेपालीको बानी परिसकेको छ । नेपाली बारमा करोडको लगानी गर्ने तर मजदुरलाई उचित तलब सुविधा नदिने प्रवृत्तिले धेरैको गन्तव्य युरोप र एसियाली मुलुकतिर हुने गरेको आलेको भनाइ छ ।

“दुई करोड लगानी गरेर बार खोल्छन् तर कर्मचारीलाई सस्तोमा राख्छन्, कसरी गुणस्तर सेवा दिने यसले बारका नाममा अनेक विकृति मात्रै निम्त्याएकोे छ,” उनले भने। बारटेन्डर भनेको मदिराजन्य पदार्थको कक्टेल बनाउने कला हो । यो कलाले ग्राहक आकर्षित मात्र हुँदैनन् स्वादिस्ट र रङ्गीविरङ्गी मदिरा सेवन गर्न पाउँछन् ।

आले बारटेन्डरका साथै ‘बारिस्ता’ (कफी बनाउने) व्यावसायिक पनि हुन् । बारको मापदण्ड हुन्छ, जहाँ १८ वर्षमुनिका किशोरकिशोरीले प्रवेश पाउँदैनन् तर नेपालमा त्यसको मतलब छैन । बारमा रक्सी र सिगरेट मात्र दिइन्छ । बारलाई रक्सीभट्टीका रुपमा लिने र पैसा खर्चिने प्रवृत्ति छ, कुनै मापदण्ड छैन । सीप भएर पनि नेपालमा बारटेन्डरको भविष्य नदेखेकाले विदेसिनु परेको बताउने आलेको भविष्यमा नेपाल फर्केर यही क्षेत्रमा लगानी गर्ने योजना रहेको छ ।

आलेजस्तै सफलता काठमाडौँका २४ वर्षीय मोहमद हुसेनको पनि छ, उनले हालै चीनमा सम्पन्न अन्तर्राष्ट्रियस्तरको बारटेन्डर प्रतिस्पर्धामा सहभागिता जनाए । होटल व्यवस्थापनसम्बन्धी अध्ययनरत सिन्धुपाल्चोककी मीरा थापाको पनि यही क्षेत्रमा जम्ने चाहना छ ।

बानेश्वरको ‘चौरासी व्यञ्जन रेस्टुरेन्ट’मा कार्यरत थापाले विदेशमा सीप सिकेर नेपालमै भविष्य बनाउने सुनाइन् । काभ्रेकी निकिता लामाले पनि होटल क्षेत्रमै व्यावसायिक जीवन बिताउने योजना सुनाइन् ।

“काठमाडौँ फ्लेयर बारटेन्डिङ एकेडेमी, शङखमुलले बारटेन्डर जनशक्ति उत्पादन गर्दै आएको छ”, आलेले भने, “विदेशमा दुःखसुख सबै छ, १८ तले जहाजमा काम गर्नु निकै जोखिम मोल्नुपर्ने हुन्छ, ७.८ रिक्टरको भूकम्पजस्तो हल्लाउँछ, समुद्रमा छाल आएका बेला ।”

नेपालमा एटिक, द फ्याक्ट्रीलगायत अन्तर्राष्ट्रियस्तरका बार मानिन्छन् । युरोप, अमेरिकालगायत मुलुकमा भने व्यावसायिक बार फस्टाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?