२७ असार, भैरहवा । जनताका सेवक हामी, जनता हाम्रा मित्र, सुरक्षित समाजको कोरौँ सुन्दर चित्र भन्ने मुल नाराका साथ नेपाल प्रहरीले देशभर ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको छ ।
नेपाल प्रहरीले समाजमा ‘प्रहरी मेरो साथी’ हो भन्ने भावना र सम्बन्धको विकास गरी नेपाल प्रहरीको समग्र छविमा अभिबृद्धि गर्ने लक्ष्य र विभिन्न उद्देश्यका साथ सोमबार देशभर एकैसाथ ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको हो ।
सरकारले आर्थिक वर्ष २०७२/०७३ को निती तथा कार्यक्रममा समावेश गरिएको ‘प्रहरी मेरो साथी’ अभियान देशभरका साथै रुपन्देही जिल्लामा पनि एक कार्यक्रमको आयोजना गरी प्रहरीले यो अभियान सुरु गरेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीद्धारा भैरहवामा अयोजित ‘प्रहरी मेरो साथी’ अभियानको शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले नेपाल प्रहरीले सुरु गरेको ‘प्रहरी मेरो साथी’ अभियान सराहनीय रहेको भन्दै प्रहरीले अभियानसँगै जनता पनि मेरो साथी भन्ने सोचका साथ अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।
त्यस्तै कार्यक्रममा सहभागीहरुले प्रहरी सेवामा राजनीतिक झण्डा ओढाउन काम बन्द भए अपराध न्युनीकरणमा धेरै सहयोग पुग्ने, ‘प्रहरी मेरो साथी’ अभियानलाई गाउँगाउँमा पुर्याउनु पर्ने, सानो दर्जाका प्रहरीले गर्ने व्यवहारमा सुधार हुनुपर्ने लगायतका सुझाव दिएका थिए ।
सिद्धार्थ यातायात व्यवसायी समितीका अध्यक्ष सुर्यकुमार सारु मगरले यस अघि प्रहरीको मुस्कान सहितको प्रहरी सेवाको उपलब्धीका विषयमा नागरिकलाई सुसुचित गराउनु पर्ने बताउँदै ‘प्रहरी मेरो साथी’ सबैलाई बुझाउनु पर्ने आवश्यक रहेको बताए ।
यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले विगत भन्दा अहिले प्रहरीमा धेरै सुधार आएको तर सानो दर्जाका प्रहरीले गर्ने व्यवहारमा सुधार हुनुपर्ने बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले दक्षिण एसियाको अन्य मुलुकहरुमा भन्दा नेपाल प्रहरी धेरै सक्षम रहेको बताउँदै दक्ष जनशक्ति अभावमा पनि प्रहरीले अपराध न्युनिकरणमा धेरै उल्लेखनीय कामहरु गरिरहेको बताए । उनले प्रहरीले पनि नागरिकहरु मन जित्नु पर्ने बताउँदै प्रहरीको ‘प्रहरी मेरो साथी’ अभियान व्यवाहारमै लागूहुने बताए ।
लुम्बिनी अञ्चलका एसएसपी शेरबहादुर बस्नेतले ‘प्रहरी मेरो साथी’ अभियान कार्यान्यवनमा ल्याउनका लागि जनताको सहयोग आवश्यक रहेको बताउँदै यो अभियानमा सबैलाई सहयोग गर्न आग्रह गरे ।
प्रहरीको व्यवहारको विषयमा उनले भने, ‘यदि कुनै प्रहरीले अनावश्यक दुःख दिएमा सुचना दिनुस, हामीले कारवाही गरेर त्यसलाई सुधार गर्छौँ ।’
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी बुद्धिराज गुरुङ्गले ‘प्रहरी मेरो साथी’ अभियानको लक्ष्य, उद्देश्य लगायका विषयमा प्रकाश पारेका थिए ।
प्रतिक्रिया 4