३० असार, काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले बार्षिक ८ करोड लिटर दुधको कारोबार गर्दै आएको छ । सरकारी स्वामित्मा सञ्चालित डिडिसी दैनिक करीव दुई लाख ५० हजार लिटर दुध किसानबाट संकलन गर्दै आएको छ ।
डिडिसीका महाप्रवन्धक गंगा तिम्लिसिनाका अनुसार डिडिसीले अहिले ४४ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । डिडिसीले ४८औं वार्षिकोत्सवको अवसर पारेर दुई प्रकारको नयाँ उत्पादन समेत सार्वजनिक गरेको छ ।
डिडिसीले चिया पकाउने छुट्टै प्रकारको टि–मिल्क र गाई भैंसीलाई खुवाउने दाना उत्पादन सार्वजनिक गरेको हो । किसानहरुलाई गुणस्तरीय दाना उपलब्ध गराई दुधको उत्पादन वृद्वि गर्न र चिया पसलहरुको माग र उक्त समुदायलाई लक्षित गर्दै डिडिसीले ‘टि मिल्क’ बजारमा ल्याएको हो ।
डिडिसीले यही साउन १ गतेदेखि बजारमा नयाँ उत्पादनहरु बिक्रीका लागि राख्ने भएको छ । टि–मिल्कको मुल्य प्रतिलिटर ६० रुपैयाँ र दानाको मूल्य प्रतिकेजी ३१ र ३३ रुपैयाँ निर्धारण गरिएको छ ।
डिडिसीले चालू आर्थिक वर्षमा ६ करोड रुपैयाँभन्दा बढि मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थानमा भएको व्यवस्थापकिय सुधार र चुवाहटलाई न्यूनिकरण गरेर नै संस्थान विगत वर्षदेखि मुनाफामा गएको हो ।
नियमित रुपमा घाटामा गएको डिडिसीले चुहावटलाई नै नियन्त्रण गर्दा यो मुनाफा आर्जन गर्न सफल भएको हो । डिडिसीले आर्थिक वर्ष २०७१÷०७२ मा पाँच करोड रुपैयाँ नाफा कमाएको थियो । यो वर्ष उक्त नाफाको रकम वृद्वि हुने डिडिसीले दाबी गरेको छ ।
महाप्रवन्धक तिमल्सिनाले पछिल्लो समयमा दुध आयातलाई प्रतिस्थापन गर्न सफल भएको बताए । संस्थानको सुधारका लागि विभिन्न कार्ययोजनाहरु ल्याएको भन्दै उनले ग्रामीण क्षेत्रका दुध उत्पादक कृषकहरुलाई दुधको उचित मुल्यका साथै निश्चित बजारको व्यवस्था गर्ने उद्देश्यले नयाँ कार्यक्रमहरु ल्याएको जानकारी दिए ।
महाप्रवन्धक तिमल्सिनाले मिल्क होलि डेको समस्या समधानका लागि विराटनगरस्थित पाउडर प्लाण्टको क्षमता विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए । त्यस्तै, संस्थानले सरकारको सहयोगमा बुटवलमा युएचटी प्लाण्टको स्थापना तथा नेपालगञ्ज र अत्तरियामा प्रशोधन कारखानाको क्षमता विस्तार गर्ने, पशु आहार उत्पादन कारखाना व्यवसायीक उत्पादन तथा विक्री वितरण गरिने भएको योजना सार्वजनिक गरेको छ ।
त्यसैगरी, पोखरामा दुग्ध पदार्थ उत्पादन कारखाना, खुमलटारमा दहि उत्पादन कारखाना स्थापना गर्ने, चिस्यान केन्द्रहरु तथा प्रशोधन कारखानाहरुमा अटोमाइटेजसन गरिने, भुस तथा दाउरा ब्वाइलर सञ्चालमा ल्याएर डिजेल खपत घटाउने लगायतका योजना बनाएको छ ।