Comments Add Comment

कर्मचारी गाउँ जान नमान्दा नागरिकता बनाउँन १० हजार

२ साउन,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दुर्गम गाविस मानिने महाभारत शृङ्खलाडाँडापारिका बासिन्दा नागरिकता बनाउन  १० हजारसम्म खर्च गरेर धुलिखेल आउन बाध्य भएका छन् ।

nagariktaडाँडापारिका गाविसलाई लक्षित गरी घर्तीछाप गाविसमा इलाका प्रशासन कार्यालय स्थापना गरे पनि कर्मचारी गाउँ जान नमान्दा स्थानीयलाई नागरिकताका लागि धुलिखेल आउन सास्ती खेप्नुपरेको हो ।

घर्तीछाप गाविस–५ का नन्दलाल रानामगरले नागरिकता बनाउन सदरमुकाम धुलिखेलसम्म पुग्दा १० हजारसम्म खर्च लाग्ने गरेको दुखेसो पोखे । उनले गाउँबाट दुई दिनसम्म हिँडेर नागरिकता बनाउनुपर्ने र नागरिकताको लागि दुईजना जानुपर्ने भएकाले पाँच दिनसम्म बस्दा महँगो खर्च गर्न बाध्य भएको बताए ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले गृह मन्त्रालयले कर्मचारी तोके पनि कार्यालयमा हाजिर हुन नआएको जानकारी दिए । घर्तीछाप गाविसमा रहेको जनकल्याण उमाविका शिक्षक गिरिराज महराले सदरमुकामसम्म जाने रकम कै अभावमा डाँडापारिका धेरै स्थानीयवासीले नागरिकता नै नबनाएको जानकारी दिए ।

घर्तीछापका गाविस सचिव रेवतीरमण निरौलाले शाखा अधिकृतलाई काजमा खटाए पनि कर्मचारी इलाका प्रशासन कार्यालयमा नगएको बताए । आर्थिक अवस्था कमजोर र सडकको पूर्वाधार समेत नपुगेका घर्तीछाप, बनखुचौर, फोक्सिङटार, गोकुले, बुढाखानी, साल्मेचाकल, साल्धारा, फलामेटार, डाँडागाउँ र मिल्चे गाविसका स्थानीय सरकारी सेवा सुविधा लिन कै लागि ठूलो आर्थिक नोक्सानी व्यहोरेर धुलिखेल आउने गर्दछन् ।

डाँडापारीका आठ गाविसलाई पायक पर्ने स्थान भन्दै घर्तीछाप गाविसमा तीन वर्ष अगाडि नै इलाका प्रशासन कार्यालय राख्ने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment